भोजपुर, १२ साउन ।
भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुर्खौली पेसा बाँसको नाङ्लो बुनेर राम्रो आम्दानी लिँदै आएका छन् । होम्ताङबासीको भरपर्दो आम्दानीको श्रोत नै नाङ्लो बनेको हो ।
हतुुवागढी ६ होम्ताङको साविक १ को लङ्खाका करिव ७५ घर, साविक २ का विथारा एक सय ६५ घर, साविक ३ लुम्बुवा एक सय ३५ घर र हालको हतुवागढी ५ साविक ४ सोया गाउँका करिव ४० घरपरिवारले व्यावसायिक रुपमा नाङ्लो बुन्दै आएको हतुवागढी ६ का स्थानीय नाङ्लो व्यवसायी राजेन्द्र राईले बताउनुभयो ।
विषेश गरेर नाङ्लो भदौ, असोज र कात्तिक महिनामा सवै भन्दा बढी उत्पादन हुने गरेको छ । दशैँ, तिहार, छठलगायत चाड वर्षको अवसरमा नाङ्लोको बढी माग हुने उहाँको भनाइ छ । यहाँ उत्पादन भएको नाङ्लो आफुसहित अन्य दुई जना मिलेर संकलन पश्चात बाहिरका बजारमा पठाउदै आएको व्यवसायी राईले बताउनुभयो ।
सरदरमा यी क्षेत्रबाट एक महिनामा १८ देखी २० हजार गोटासम्म नाङ्लो बाहिरका बजारमा पठाउने गरेको उहाँको भनाइ छ । गाउँघरमा निर्माण गरिएको नाङ्लो औषतमा एक सयदेखी एक सय १० रुपैँयामा खरिद बिक्री हुने गरेको उहाँले बताउनुभयो ।
“हाम्रो ठाउँका अधिकांश स्थानीयले पुर्खौली नाङ्लो बुन्ने पेसा गर्दै आएका छौँ” व्यवसायी राईले भन्नुभयो,“ यहाँको मुख्य आम्दानीको श्रोतका रुपमा नाङ्लो रहेको छ । हामी तीन जना मिलेर यहाँ उत्पादन भएको नाङ्लो संकलन गरेर बाहिरका बजारमा पठाउछौँ । सरदरमा हामीले एक महिनामा १९ देखी २१ हजार गोटासम्म नाङलो बाह्य बजारमा बठाउने गरेका छौँ ।”
मासिक रुपमा यहाँबाट सरदरमा रु. २१ लाख बराबरको नाङ्लो निर्यात हुने उहाँको भनाइ छ । यो ठाउँमा नाङ्लोको विक्रीबाट वार्षिक रुपमा रु. दुईदेखी दुई करोड ५० लाखको हारहारीमा रकम भित्रिने उहाँले बताउनुभयो । यो क्षेत्रका एक परिवारले मासिक रुपमा न्यूनतम एक सय ५० देखी अधिकतम तीन सय गोटासम्म नाङ्लो उत्पादन गर्दै आएको उहाँले बताउनुभयो ।
“हामीले बाहिर निर्यात गरेको नाङ्लोको सङ्ख्यालाई आधार मान्दा वार्षिक रु. दुई करोड ५० लाखको हारहारीमा रकम भित्रिने गरेको छ” उहाँले भन्नुभयो,“चाडवाडको समयमा सवै भन्दा बढी नाङ्लोको माग हुन्छ । हामीले संकलन गरेको नाङ्लो धरान विराटनगर इटहरी लगायतका शहरमा जान्छ । चाडबाडको समयमा नाङ्लोको माग बढी हुन्छ ।”तराईका व्यापारीले भारतसँगै पश्चिम नेपालका विभिन्न ठाउँमा पठाउने गरेको उहाँको भनाइ छ ।
होम्ताङका स्थानीयको राम्रो आम्दानीको श्रोतको रुपमा नाङ्लो बुन्ने व्यवसाय रहेकोले यसको थप विकासमा स्थानीय सरकारले पनि प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको स्थानीय नाङ्लो व्यवसायी प्रकाश राईले बताउनुभयो । यसको थप विकास तथा विस्तार गरेर यसमा थप व्यवसायिकता ल्याउन आवश्यक रहेको उहाँको भनाइ छ ।
“हाम्रो ठाउँका स्थानीयबासीको राम्रो आम्दानीको श्रोत रुपमा नाङ्लो रहेको छ” उहाँले भन्नुभयो,“यसबाट गाउँघरमा मनग्य पैसा पनि भित्रिदै आएको छ । यसलाई थप व्यवसायिकता दिनको लागि स्थानीय सरकारले ध्यान दिन आवश्यक छ ।”
यो ठाउँका महिला, पुरुष दुवै पक्षले नाङ्लो बुन्ने गरेका छन् । नाङ्लो बुनेर घर खर्च चलाउने गरेको स्थानीयबासी पुजा राईले बताउनुभयो । आफ्ना घरका सवै तीन जना परिवार नै नाङ्लो बुन्ने गरेको उहाँको भनाइ छ । एक महिनामा एक सय ५० वटा नाङ्लो बुन्ने गरेको उहाँले बताउनुभयो । नाड्लो बिक्रीबाट वार्षिक दुईदेखी तीन लाखसम्म आम्दानी लिने गरेको उहाँको भनाइ छ । बुनेको नाङ्लो घरबाट नै प्रतिगोटा रु. एक सय १० बेच्ने गरेको उहाँले बताउनुभयो।
“हामी सवै घरका परिवारका सदस्य मिलेर नाङ्लो बुन्छौँ”उहाँले भन्नुभयो,“मुख्य आम्दानीको श्रोत नै यहि हो । खेतबारी थोरै छ । नाङ्लो घरबाट नै विक्री हुन्छ । यसको विक्रीबाट वार्षिक रु. दुईदेखी तीनलाखसम्म आम्दानी हुन्छ । हाम्रो क्षेत्रका प्रायः सवैले व्यवसायिक रुपमा नाङ्लो बुन्दै आएका छौँ ।”
नाङ्लो बुन्ने व्यवसाय होम्ताङबासीको निकै राम्रो आम्दानीको श्रोत रुपमा रहेकोले यसको व्यावसायिकरण र बजारीकरणको लागि ध्यान दिने गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो । पुखौँली तथा रैथाने पेसा रहेकोले यसको विकास, विस्तार तथा संरक्षणमा जोड दिइने उहाँको भनाइ छ ।
“यो हाम्रो गाउँपालिकामा गरिने परम्परागत पुर्खौली पेसा हो” अध्यक्ष राईले भन्नुभयो,“ यो व्यवसाय यहाँका नागरिकको मुख्य आम्दानी श्रोतको रुपमा रहेको छ । यसको थप व्यवसायिकरणसँगै बजारीकरण गर्न आवश्यक छ । यो पेसाको संरक्षण तथा विकासमा गाउँपालिकाले जोड दिँदै आएको छ ।”