मुन्दुम पदमार्गको थप विकासमा जोड दिँदै टेम्केमैयुङ


भोजपुर, १२ असार (रासस) । नेपाल सरकारको घुम्नै पर्ने सय गन्तव्य भित्र पर्न सफल भोजपुरको मुन्दुम पदमार्गमा  रु. एक करोड ९० लाख बढी लागतमा विभिन्न संरचनाहरु निर्माण हुने भएको छ । टेम्केमैयुङ गाउँपालिका, स्वीस सरकार, प्रदेश र संघ सरकारको रु. एक करोड ९० लाख ५० हजार लगानीमा पदमार्गको थप विकास गर्न लागिएको हो ।
स्वीस सरकारसँगै तीन वटै तहका सरकारले यो क्षेत्रको विकासमा जोड दिएका छन् । यो बजेटबाट पदमार्ग थप विस्तार तथा पुनः निर्माण, स्थानीय बस्तुकला, सूचना बोर्ड, खानेपानी, सौचालयलगायत संरचना निर्माण गरिने टेम्केमैयुङ गाउँपालिकाले जनाएको छ ।
यो पदमार्गको थप विकास तथा विस्तारको लागि टेम्केमैयुङ गाउँपालिकाको रु.४५ लाख, प्रदेश सरकारको रु. ५२ लाख १५ हजार, संघ सरकारको रु.१० लाख ५० हजार र स्वीस सरकारको रु.४२ लाख ५० हजार बजेट लगानी हुने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विकेन पौडेलले जानकारी दिनुभयो । बजेटबाट पदमार्ग घुम्न आउने पर्यटकहरुलाई लक्षित गरेर थप विभिन्न संरचना निर्माण हुने उहाँले बताउनुभयो ।
“मुन्दुम पदमार्ग देशकै स्थापित पर्यटकीय क्षेत्रको रुपमा विकास भईरहेको छ”प्रशासकीय अधिकृत पौडेलले भन्नुभयो,“पछिल्लो समय यो पदमार्ग पर्यटकको रोजाइको गन्तव्य बन्दै गएको छ । यो बजेटबाट यसको थप विस्तार र विकास हुनेछ । प्राप्त बजेटले आगामी आर्थिक वर्षबाट काम शुरु हुन्छ ।”
टेम्केमैयुङ गाउँपालिका प्राकृतिक रुपमा सुन्दर रहेकोले पर्यटन र कृषिको योजनाबद्ध विकासको लागि काम भईरहेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताउनुभयो । आगामी आर्थिक वर्षका लागि प्राप्त भएको बजेटबाट थप काम गरिने उहाँको भनाइ छ । मुन्दुम पदमार्गमा घुम्न आउने पर्यटकलाई लक्षित गरेर गाउँपालिका र प्रदेश सरकारको लगानीमा चखेवामा पर्यटन सूचना केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको उपाध्यक्ष राईले जानकारी दिनुभयो ।
“हाम्रो गाउँपालिका कृषि र पर्यटनको राम्रो सम्भावना बोकेको स्थानीय तह हो”उपाध्यक्ष राईले भन्नुभयो,“कृषि र पर्यटनलाई लक्षित गरेर योजनाबद्ध विकासमा जुटेका छौँ । मुन्दुम पदमार्ग पर्यटकको प्राथमिकतामा पर्ने गन्तव्यको रुपमा स्थापित हुँदै गएको अवस्था छ । हामीले यो क्षेत्रको विकासमा जोड दिएका छौँ ।”
मुन्दुम पदमार्गको बृहत्तर विकास गरेर गाउँपालिकाको दिगो आम्दानीको श्रोतको रुपमा स्थापित गर्ने योजनाको साथ काम गरिरहेको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो । गाउँपालिकामा धेरै पर्यटकीय क्षेत्र रहेकोले यी क्षेत्रको योजनाबद्ध रुपमा काम भईरहेको उहाँको भनाइ छ । यो पदमार्गबाट अग्ला हिमश्रृङखला, पहाडका अग्ला डाँडाहरु, तराइका समथर फाँटको मनोरमदृश्य अवलोकन गर्दै पदयात्रा गर्न सकिने भएकाले छोटो समयमा नै पर्यटकको रोजाइमा पर्न सफल भएको उहाँले बताउनुभयो ।
“मुन्दुम पदमार्ग नेपाल सकारको घुम्नै पर्ने सय गन्तब्य भित्र पर्न सफल पर्यटकीय क्षेत्र हो”अध्यक्ष बस्नेतले भन्नुभयो,“यो पदमार्गको थप विकासको लागि हामीले योजनाबद्ध रुपमा काम गरिरहेका छौँ ।यसलाई गाउँपालिकाको दिगो आम्दानीको श्रोत रुपमा स्थापित गराउने लक्ष्यका साथ काम भईरहेको छ ।”
उकालो ओरालो हुँदै फैलिएको मुन्दुम पदमार्गको यात्राबाट चारपाटे, म्यारापिक, नुप्से, सगरमाथा, ल्होत्से, ल्होत्सेसार, पिक ३८, चाम्लाङ, मकालु, कञ्चनजंघा, कुम्भकर्ण लगायतका दुई दर्जनभन्दा बढी सुन्दर हिमशृङ्खला अवलोकन गर्न सकिन्छ ।
त्यस्तै पदमार्गको आसपासमा निर्माण भएका किराँत राईहरुको संस्कार, संस्कृति झल्काउने विभिन्न संरचना, ठूला–ठूला घाँसे मैदान, स्थानीय गोठवालाहरुले पालेका चौरी, भेडीचोकलगायतले यात्रा गर्ने पर्यटकलाई आनन्दित बनाउने गर्दछ ।
पदमार्गको फोटो पनि छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार