भोजपुर १० असार। भोजपुरको हतुवागढी गाउँपालिका गाउँ सभाको १५ औं अधिबेशन सम्पन्न भएको छ । अधिबेशन मार्फत आर्थिक २०८१/८२ नीति तथा कार्यक्रम पेश गरिएको छ । अधिबेशनर्फत गाउँपालिका उपाध्यक्ष सुनिता राईले गाउँपालिका तर्फ चालु र पुँजीगत गरी कुल ४३ करोड ९७ लाख ६९ हजार बरावरको बजेट प्रस्तुत गर्नुभयो । बजेटमा कृषि, पर्यटन र पूर्वाधार विकासमा जोड दिएको छ । घोडेटा जोरआहाल दिमालुङ पर्यटकिय पैदल मार्ग निर्माणका लागि रु ५० लाख बजेट विनियोजन गरिएको छ । त्यस्तै गाउँपालिकाको प्रशासनिक भवन निर्माणको लागि रु १ करोड ५० लाख, वडा नं.१ को वडा कार्यालय निर्माणका लागि रु ४० लाख, र नमूना विद्यालय विकास कार्यक्रम सञ्चालनका लागि रु ४० लाख बजेट विनियोजन गरिएको छ ।
नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष प्रेमकुार राईले यहाँको जनताको आवश्यकता र गाउँपालिकाको प्राथमिकतालाई ध्यानमा राख्दै बजेट, नीति तथा कार्यक्रम तयार गरिएको बताउनुभयो । केन्द्र सरकारबाट आउने बजेट बर्षेनी घट्दै जाने समस्याको कारण जनताको इच्छा आकाङ्क्षा समेट्न स्थानीय सरकारलाई समस्या हुने गरेको बताउनुभयो । उपलब्ध भएको बजेटको अधिकतम सदुपयोग गर्ने उद्धेश्यका साथ आगामी आर्थिक वर्षको लागि बजेट नीति तथा कार्यक्रम बनाइएको अध्यक्ष राईको भनाइ छ ।
भौतिक पूर्वाधार तथा सामाजिक विकासको क्षेत्रलाई प्राथमिकतामा राखेर बजेटको बाडफाँड गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले बताउनुभयो । सवै वडालाई गाउँपालिका केन्द्रसँग सहज रुपमा जोड्न यहाँको सडकहरुको विकासलाई प्राथमिकतामा राखेको छ । वजेट तथा कार्यक्रममा लक्षित समूहतर्फ आदिवासि जनजाति, अपाङ्गता, जेष्ठ नागरिक, दलित, महिला तथा बालबालिका लाई पनि समेटिएको जनाईको छ।