पौवादुङमाको १५ औँ गाउँसभाको पहिलो बैठक सम्पन्न


भोजपुर, ९ असार । पौवादुङमा गाउँपालिकाको १५ औँ गाउँसभाको पहिलो बैठक सम्पन्न भएको छ । सभा मार्फत आर्थिक २०८१/८२ नीति तथा कार्यक्रम पेश गरिएको छ । गाउँसभा समक्ष गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले चालु र पुँजीगत गरी कुल ३६ करोड ९२ लाख ४१ हजार बराबरको बजेट पेश गर्नुभयो । गाउँसभामार्फत आर्थिक विकासका कार्यक्रम अन्तर्गत कृषि र पशुपालन कार्यक्रमलाई प्राथामिकतामा राख्दै बजेट विनियोजन गरिएको छ । गाउँपालिकाले कृषकहरुसंगको लागत साझेदारीमा फलफूल बगैंचा विकास तथा एक घर एक करेसा बारी कार्यक्रम सञ्चालन गरी आर्थिक उपार्जनसंग जोड्ने नीति लिएको छ ।

पशुपालन व्यवसायमा कृषकलाई जोडनेका लागि वडा नं १, २, ३ एक कृषक एक उन्नत गाई वितरण कार्यक्रम सञ्चालन गर्ने भएको छ । यो कार्यक्रम अन्तर्गत यहाँका कृषकलाई करिव दुई सय उन्नत जातका गाई वितरण गर्ने जनाइएको छ । जसका लागि विभिन्न शिर्षकमा रु. ६० लाख बजेट विनियोजन गरिएको छ । त्यस्तै वडा नं ४ मा खुर्सानी ब्रान्डिङ र वडा नं ५ र ६ बाख्रापालनको लागि कार्यक्रम सञ्चालन हुने जनाइएको छ । फुसको छानो हटाउनको लागि प्रत्येक वडामा रु. २० लाखका दरले रु. एक करोड २० लाख बजेट विनियोजन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन भट्टराईले जानकारी दिनुभयो । त्यस्तै तिवारीभञ्याङ मानेडाँडा अधेँरीघाट सडक कालोपत्रको, प्रशासनिक भवन निर्माणको लागिसमेत बजेट विनियोजन गरिएको उहाँको भनाइ छ ।

सडक कालोपत्रको लागि एक करोड सात लाख र प्रशासनिक भवन निर्माणको लागि रु. एक करोड बजेट विनियोजन गरिएको छ । नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष किरण राईले यहाँको जनताको आवश्यकता र गाउँपालिकाको प्राथमिकतालाई ध्यानमा राख्दै बजेट, नीति तथा कार्यक्रम तयार गरिएको बताउनुभयो । केन्द्र सरकारबाट आउने बजेट बर्षेनी घट्दै जाने समस्याको कारण जनताको इच्छा आकाङ्क्षा समेट्न स्थानीय सरकारलाई समस्या हुने गरेको बताउनुभयो । उपलब्ध भएको बजेटको अधिकतम सदुपयोग गर्ने उद्धेश्यका साथ आगामी आर्थिक वर्षको लागि बजेट नीति तथा कार्यक्रम बनाइएको अध्यक्ष राईको भनाइ छ ।

‘गाउँसभाबाट सीमित बजेटको बीचमा पनि जनअपेक्षित कामका लागि बजेट विनियोजन गरेका छौँ’अध्यक्ष राईले भन्नुभयो,‘वडा जाने बजेटलाई सवै वडामा समानुपातिक तवरले वितरण गरेका छौँ । खास गरेर केहि गाउँपालिकाका गौरवका आयोजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेका छौँ ।’ गाउँपालिकाले जेष्ठ नागरिक घरदैलो कार्यक्रम, युनाइटेड वल्ड स्कुल नेपालसँगको साझेदारीमा बालमैत्री पूर्वाधारसहितको विद्यालय निर्माण गरी सञ्चालन गर्ने कार्यक्रम अघि सारेको छ । अति विपन्न परिवारलाई परिचय पत्र वितरण गरेर आवश्यक सहयोग कार्यक्रम नीति अघि सारेको छ । यस अघि सञ्चालनमा रहेको रातो भाले कार्यक्रम, नवजात शिशु भविष्य सुरक्षा कार्यक्रम लगायतका कार्यक्रमलाई निरन्तरता दिएको छ । आगामी बैठक असार २८ गते बस्ने गरि पहिलो बैठक सम्पन्न भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार