भोजपुर सिक्रेटारका सुख्खाग्रस्थ क्षेत्रमा धमाधम सिंचाई पोखरी बन्दै


भोजपुर, ४ असार । भोजपुर सिक्रेटारका सुख्खाग्रस्थ क्षेत्रलाई लक्षित गरेर सिंचाई पोखरी निर्माण थालिएको छ । यो क्षेत्रमा प्रशस्त खेतीयोग्य उर्वरभूमि भएपनि सिंचाईका अभावमा त्यस्ता जमिन बाँझिन थालेपछि वडाले एक टोल एक सिंचाई पोखरी निर्माण अभियान थालेको हो । वडा कार्यालयको बाह्र लाख र गाउँपालिकाको तीन लाख गरी कुल १५ लाख लागतमा ढुङ्गेटोलमा नौ लाख लिटर क्षमताको ठूलो पोखरी निर्माण सम्पन्न भएको छ । त्यस्तै वडा कार्यालयको बजेटमा बेलटार टोलमा पाँच लाख लिटर र मैदाने टोलमा तीन लाख लिटर क्षमताको पानीसहितको सिंचाई पोखरी निर्माण सम्पन्न भएको अरुण गाउँपालिका ७ वडाध्यक्ष कुमार थापाले जानकारी दिनुभयो ।

अन्य टोलमा चार वटा पोखरी निर्माणधीन रहेको वडाध्यक्ष थापाको भनाइ छ । सवै पोखरीमा जम्मा गर्ने पानीको श्रोत सुनिश्चित भएपछि मात्र निर्माण थालिएको उहाँको भनाइ छ । “सिक्रेटार क्षेत्रमा एक टोल एक सिंचाई पोखरी निर्माणको अभियान थालेका छौँ” वडाध्यक्ष थापाले भन्नुभयो,“सिंचाई अभावमा उर्वरभूमि बाँझिन थालेपछि हामीले यो कार्यक्रम सञ्चालन गरेका हौँ । हालसम्म निकै ठूलो क्षमताका तीन वटा पोखरी निर्माण सम्पन्न भएका छन् । चार वटा बनिरहेको अवस्था छ । यो अभियानलाई निरन्तरता दिने हाम्रो लक्ष्य छ ।”

थालिएका सवै पोखरीको निर्माण सम्पन्न भएपश्चात यहाँका सुख्खाग्रस्थ क्षेत्रका करिव एक हजार आठ सय रोपनीमा नगदे तथा तरकारी बालीको लागि सिंचाई पुग्ने उहाँको भनाइ छ । माथिल्लो भेगमा खनिएका यी पोखरीहरुले खानेपानीको मुहान रिचार्ज गर्नसमेत टेवा पुुग्ने उहाँले बताउनुभयो ।

“हाल निर्माण भईरहेका सवै पोखरी सम्पन्न भएपछि यहाँको करिव एक हजार आठ सय रोपनी जमिनमा तरकारी तथा नगदेबाली खेतीको लागि सिंचाई पुग्छ भन्ने अपेक्षा छ”उहाँले भन्नुभयो,“यसले यहाँका पानीको मुहान सरक्षणमा पनि टेवा पुग्छ ।” पोखरी निर्माणले सिंचाईमा सहजतासँगै आकस्मिक रुपमा हुने आगालागीको समयमा प्रयोग गर्न सकिने उहाँको भनाइ छ । यहाँका सवै टोलमा रु. एक करोड बराबर लगानी गरेर पोखरी निर्माण गर्ने उद्धेश्य रहेको वडाध्यक्ष थापाले बताउनुभयो ।

खास गरेर यहाँका सिक्रेटार,पिपलटार, जगरे खिसु गौरालगायत क्षेत्र धेरै सुख्खाग्रस्थ क्षेत्रमा पर्दछन् । बेँसीको ठाउँ भएकाले सिंचाईको राम्रो व्यवस्था भएमा यहाँ जिरा, मेथी, बदाम, आँप, लिची, कटहर, केरा, ड्रागन फ्रुट, रुद्राक्ष तथा तरकारीको व्यवसायिक खेती गर्न सकिने स्थानीय कृषक केदारप्रसाद अधिकारीले बताउनुभयो । वडाले सञ्चालन गरिरहेको एक टोल एक सिंचाई पोखरी निर्माण अभियानले किसानमा उत्साह थपिएको उहाँको भनाइ छ ।

“बेँसीको क्षेत्र भएकाले हाम्रो ठाउँमा सवै खालका नगदेबाली उत्पादन हुन्छ”उहाँले भन्नुभयो,“तर सिंचाईको अभावमा धेरै जमिन प्रयोग विहिन रहेका छन् । वडाले नगदेबाली खेतीमा जोड दिन सिंचाई पोखरी निर्माण थालेपछि हामीमा उत्साह थपिएको छ । सिंचाई पोखरी निर्माणले यहाँका बाँझो जमिनहरु प्रयोगमा आउन थालेका छन् ।”

पोखरी निर्माणले स्थानीयलाई तरकारीबाली खेती गर्नको लागि सहजता भएको अर्का स्थानीयबासी हेमचन्द्र अधिकारीले बताउनुभयो । पोखरीको पानी प्रयोग गरेर आफुले तरकारी तथा नगदेबालीको खेती गरिरहेको उहाँको भनाइ छ । सिंचाई अभावमा बसाइँसराई बढिरहेको अवस्थामा अव भने केहि हदसम्म रोकिने उहाँले बताउनुभयो । “सिंचाई अभावमा गाउँघर छोड्ने दर बढेको छ” उहाँले भन्नुभयो,“ जसका कारण यहाँका जमिन जंगलमा परिणत भएका छन् । मैले पनि गाउँ छोडेको थिएँ । गाउँमा सुविधा बढ्न थालेपछि फर्किएर आएको हुँ ।”

जलवायु परिवर्तनका कारण देखिएका समस्याहरुको न्यूनिकरण गर्दै जलाधारहरुको संरक्षण गर्ने लक्ष्यका साथ टोलस्तरमा सिंचाई पोखरी निर्माण कार्यक्रम सञ्चालन गरिएको वडा सचिव अशोक अधिकारीले बताउनुभयो । यो कार्यक्रमले भविष्यका लागि ठुलो लाभपुग्ने उहाँको भनाइ छ । सिंचाई पोखरी निर्माण पश्चात सुख्खाग्रस्थ क्षेत्रका स्थानीयमा उत्साह बढेको उहाँले बताउनुभयो ।

रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार