सेनाको आयोजनामा भोजपुरमा अभ्यास मनसुन –४ सम्पन्न


भोजपुर, २५ जेठ । नयाँ श्रीनाथ गण भोजपुरको अगुवाईमा अभ्यास मनसुन–४ कार्यक्रम सञ्चालन गरिएको छ । मनसुनको सुरुवातसँगै मनसुनजन्य विपद तथा जोखिमको प्रतिकार्यस्वरुप पूर्वतयारी र विपदको समयमा गर्नुपर्ने समन्वयात्मक कार्यमा सहजता थप्ने लक्ष्यले अभ्यास कार्यक्रम सञ्चालन गरिएको हो ।
नेपाली सेनाको आयोजनामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, भोजपुुर नगरपालिका रेडक्रस सोसाईटीलगायतको सहयकार्यमा भोजपुरको टुडी खेलमा एकिकृत अभ्यास गरिएको हो ।
वर्षायाममा हुने सम्भावित विपद्को क्षतिलाई न्यूनीकरण, रोकथाम, उद्धार तथा राहत कार्यमा सहजता थप्न विपद व्यवस्थापनसम्बन्धी एकिकृत पूर्वाभ्यास गरिएको नयाँ श्रीनाथ गणका सेनानी भोजबहादुर कार्कीले बताउनुभयो । सवै सुरक्षा निकायको सहकार्यमा गरिएको यस्ता कार्यले विपद्का समयमा हुने उद्धार कार्यमा थप सहजता हुने उहाँको भनाइ छ ।
अभ्यासका क्रममा आगलागी, पहिरो, रेस्क्यू, सडक दुर्घटना लगायतको विषयमा अभ्यास गरिएको छ । जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी नर बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रम भोजपुर नगरपालिका मेयर कैशाख कुमार आले विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि, विभिन्न संघसंस्था, स्थानीय लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार