मुढेघारमा नै मौरीपालन गर्न बाध्य भोजपुरको टेम्केमैयुङका किसान


भोजपुर, २१ जेठ । प्रसस्त मात्रामा वन क्षेत्र भएकोले भोजपुरको माथिल्लो भेगलाई मौरीपालनको लागि निकै उपयुक्त मानिन्छ । यहाँका वन क्षेत्र आसपासमा रहेका बस्तीका स्थानीयले परम्परागत रुपमा मौरीपालन गरिरहेका छन् । आधुनिक मौरीपालनको बारेमा राम्रो जानकारी नहुँदा किसानहरु परम्परागत रुपमा नै मौरीपालन गर्न बाध्य भएका हुन् ।
भोजपुरको टेम्केमैयुङ ५ मझौलेका स्थानीयबासी दिपक विष्टले विगत २४ वर्षबाट परम्परागत रुपमा मौरीपालन गर्दै आउनु भएको छ । परम्परागत (मुढेघार) मा उहाँका २० घारमौरी रहेका छन् । आधुनिक प्रविधिको विषयमा जानकारी नहुँदा बाउ बाजेबाट सिकेको सीपलाई अवलम्वन गरेर मौरीपालन गर्नु पर्ने बाध्यता रहेको उहाँको भनाइ छ । आवश्यक तालिमको अभावमा परम्परागत रुपमा नै मौरीपालन गरिरहेको उहाँले बताउनुभयो ।
“विगत २४ वर्षबाट परम्परागत रुपमा मौरीपालन गरिरहेको छु”उहाँले भन्नुभयो,“आफ्नै ठाउँमा केहि गर्ने लक्ष्यले व्यवसायमा लागेको हुँ । लामो समयबाट यो व्यवसायमा जोडिएको भएपनि राज्यको तर्फबाट सहयोग पाएको छैन ।आनुधिक प्रविधिबाट गर्न सके अझ राम्रो हुन्थ्यो होला । तर राज्यको कुनै पनि निकायबाट यस्तो सीप लिने मौका मिलेको छैन ।”


सिजन अनुसार एक वर्षमा दुईदेखी तीन पटकसम्म मह निकाल्न सकिने उहाँको भनाइ छ । सिजनमा एक पटकमा ८० देखी ९० केजीसम्म मह निकाल्न सकिने व्यवसायी विष्टले बताउनुभयो । मह स्थानीय बजारमा प्रतिकेजी रु एक हजार पाँच रुपैँयामा विक्री गर्दै आएको उहाँको भनाइ छ । उत्पादित महको बजारीकरण नहुँदा सोचे अनुसारको आम्दानी लिन समस्या रहेको विष्टले बताउनुभयो । “लेकाली भेगको जडीबुटीको मह भएकाले औषधी जन्य गुण बढी हुन्छ”उहाँले भन्नुभयो,“उत्पादित महलाई स्थानीय बजारमा बिक्री वितरण गरिरहेको छु । बजारीकरण राम्रो हुने हो भने यसबाट राम्रो आम्दानी लिन सकिन्छ ।”


राज्यको तर्फबाट आवश्यक सहयोग, तामिलसँगै प्राविधिक ज्ञान पाएमा थप सहज हुने उहाँको भनाइ छ ।आधुनिक घारमा मौरीपालन गर्ने सोच भएपनि राज्यको निकायबाट कुनै पनि सहयोग पाउन नसकेको उहाँको दुखेसो छ । राज्यबाट आउने अनुदान तथा अन्य सहयोग बास्तविक किसानसम्म पुग्न नसकेको उहाँको भनाइ छ ।
“लामो समयबाट व्यवसायिक मौरीपालनमा लागेको छु”उहाँले भन्नुभयो,“मैले यति मेहनत गरिरहँदा पनि राज्यको तर्फबाट कुनै सहयोग पाएको छैन । खासमा राज्यको सहयोग बास्तविक किसानसम्म पुग्न सकेको छैन ।”
टेम्केमैयुङ ४ लुङ्गिनका अर्का कृषक रामकुमार राईले पनि परम्परागत रुपमा नै मौरीपालन गर्दै आउनु भएको छ । कृषक राईले २८ ओटा पराम्परागत (मुढेघार)मा व्यवसायिक रुपमा मौरीपालन गरिरहेको बताउनुभयो । एक सिजनमा सबै घारको मह झिक्दा एक सय केजीसम्म मह संकलन हुने कृषक राईको भनाइ छ । महको बजारीकरणमा भने समस्या रहेको उहाँको भनाइ छ । उत्पादित महलाई बान्डिङ गरेर बाह्य बजारमा पठाउन सकेको खण्डमा अझ राम्रो आम्दानी लिन सकिने उहाँले बताउनुभयो ।
“मैले २५ वर्ष अघिबाट परम्परागत रुपमा नै मौरीपालन गर्दै आएको छु”उहाँले भन्नुभयो,“सवै घारलाई काड्दा एक पटकमा एक सय केजीसम्म उत्पादन हुन्छ । उत्पादन भएको महको बजारीकरणमा समस्या छ । यसलाई बान्डिङ गरेर बेच्ने हो भने अझ राम्रो आम्दानी लिन सकिन्थ्यो ।”


पराम्परागत घारमा मौरीपालन गर्दा भाग्ने जोखिम बढी हुने उहाँको भनाइ छ । आधुनिक मौरीपालनको विषयमा ज्ञान नहुँदा बाध्य भएर पराम्परागत रुपमा नै पालन गरिरहेको उहाँले बताउनुभयो ।“मुढेघारमा मौरीपालन गर्दा जोखिम बढी हुन्छ”उहाँले भन्नुभयो,“घारमा लगाएको मौरी भाग्ने सम्भावना बढी हुन्छ ।भागी हाल्यो भने परिश्रम त्यसै खेर जान्छ । आधुनिक रुपमा मौरीपालन गर्ने रहर भएपनि त्यसको विषयमा जानकारी छैन । राज्यले हामी जस्ता किसानलाई प्रोत्साहनको कार्यक्रम सञ्चालन गरिदिए व्यवसायमा थप टेवा पुग्ने थियो।” मौरीपालनको लागि घमाइलो र नजिक वन जंगल भएको ठाउँ उपयोगी हुने किसान राईको भनाइ छ । आफुले पालेको मौरीले वन जंगलबाट मह संलकन गर्ने भएकाले चरणमा लगेर संकलन गरेको मह भन्दा बढी लाभदायक हुने उहाँको भनाइ छ ।
“हाम्रो ठाउँको मौरीको चरण क्षेत्र नै जंगल हो”उहाँले भन्नुभयो,“यसले जंगलबाट विभिन्न बोट विरुवासँगै जडिबुटीबाट मह संकलन गर्ने भएकाले चरण लगेर संकलन गरेको मह भन्दा धेरै लाभदायक हुन्छ । कुना काप्चाको ठाउँ भएकोले हामीले यसको विषयमा सवैलाई बुझाउन सकेका छैनौँ । राज्यले यस्ता अर्गानिक उत्पादनको बजारीकरणमा ध्यान दिए सहज हुने थियो ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार