भोजपुर, १३ जेठ । पश्चिमी क्षेत्रबाट भोजपुरलाई छोटो दुरीमा खोटाङ सदरमुकाम दिक्तेल जिल्लासँग जोडने कोट–पाँचधारे सडक खण्ड स्तरोन्नती थालिएपछि स्थानीय उत्साहित भएका छन् । वर्षातको समयमा बढी मात्रामा समस्या हुने टेम्केमैयुङ गाउँपालिका ६ कोट क्षेत्रको करिव सात किलोमिटर सडक स्तरोन्नती थालिएपछि स्थानीय खुसी भएका हुन् ।
सडकको मोड मिलाउने, ग्याविन जाली भर्ने, नाली कटाउने, अप्ठ्यारो ठाउँमा ढलान गर्ने, ग्राबेल गर्ने लगायतको काम भईरहेको छ । सडक स्तरोन्नती थालिएपछि कृषि उपजको बजारीकरणसँगै आवतजावतमा सहजता हुने स्थानीयबासी हरिकुमार राईले बताउनभयो । “विगतमा धेरै समस्या हुने यो सडकको स्तरोउन्नती थालिएको छ”उहाँले भन्नुभयो,“यो भोजपुर र खोटाङ जिल्लालाई छोटो दुरीमा जोड्ने सडक पनि हो । सडकको स्तरोन्नतीले आवत जावतमा सहजता हुनेछ । हामी धेरै खुसी छौँ ।”
सडक स्तरोन्नती नहुँदा विगतका वर्षहरुमा वर्षातको समयमा धेरै समस्या हुने गरेको स्थानीयबासी तथा वडा सदस्य नविन श्रेष्ठले बताउनभयो । सडकको स्तरोन्नती गरिएपछि सहजता हुने उहाँको भनाइ छ । “महत्वपूर्ण सडक भएपनि मर्मत नहँुदा विगतका वर्षहरुमा धेरै समस्या थियो”उहाँले भन्नुभयो, “अहिले स्तरोउन्नतीको काम भईरहेको छ । यसले स्थानीयमा उत्साह थपेको छ ।”
वडाको पहलमा केन्द्र सरकारबाट विनियोजन भएको रु.८० लाख बजेटबाट पिखुवा खोला पुलदेखी वडा ६ कार्यालयसम्मको सडक स्तरोन्नती थालिएको वडाध्यक्ष सूर्यप्रसाद नेपालले बताउनुभयो । पश्चिमी क्षेत्रको महत्वपूर्ण सडक रहेकोले प्राथमिकता साथ कामलाई अघि बढाएको उहाँको भनाइ छ । “हाम्रो वडा भएर छिमेकी दिक्तेल जिल्लालाई जोड्ने महत्वपूर्ण सडक हो”वडाध्यक्ष नेपालले भन्नुभयो, “वडाको पहलमा अहिले स्तरोन्नती गरिरहेका छौँ । यसले आवतजावतमा सहजता थप्ने छ । गुणस्तरिय रुपमा समय सम्पन्न गराउन वडाको तर्फबाट नियमित अनुगमन गरिरहेका छौँ ।”
निर्माणको कामलाई तीव्र गतिमा अघि बढाएको निर्माण कम्पनी आर एम डी प्रा.लि.ले जनाएको छ । हालसम्म करिव ५० प्रतिशत काम सम्पन्न भएको कम्पनीका प्रमुख मिलन राईले जानकारी दिनुभयो । सडक स्तरोउन्नतीको काम तोकिएको समयमा सम्पन्न गर्ने निर्माण कम्पनीको दावी छ । फागुन महिनामा सम्झौता भएर सडक स्तरोन्नतीका काम थालिएको हो ।
फोटो पनि छ ।