भोजपुर, ३० चैत । सातौँ अन्तर्राष्ट्रियआमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता वैशाख ९ गतेबाट १५ गतेसम्म सञ्चालन हुने भएको छ । भोजपुर रंगशालामा सञ्चालन हुने प्रतियोगितामा ‘ए’ डिभिजनका दुई क्लबसहित आठ वटा टिमको सहभागिता रहने आयोजक भोजपुर जिल्ला फुटबल संघले जनाएको छ । गोल्डकपमा ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र विभागीय टोली त्रिभुवन आर्मी क्लबले सहभागिता जनाउने जिल्ला फुटबल संघका अध्यक्ष प्रविण सुवालले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो ।
प्रतियोगितामा जर्जियन फुटबल क्लब भारत, त्रिभुवन आर्मी क्लब काठमाण्डौ, चर्च व्बाइज युनाइटेड काठमाण्डौ, राजारानी फुटबल क्लब धनकुटा, डाँगीहाट यूथ क्लब मोरङ, सलहेश युवा क्लब सिरहा, खोटाङ भगवती स्पोर्ट्स क्लब र आयोजक भोजपुर जिल्ला फुटवल संघ आठ टिमको सहभागिता रहने छ । प्रतियोगिता सञ्चालनको लागि अनुमानित लागत ४९ लाख २५ हजार पाँच सय रुपैँया रहेको भोजपुर जिल्ला फुटबल संघका महासचिव तुफान किराँतले जानकारी दिनुभयो । जसमा भोजपुर नगरपालिकाले विनियोजन गरेको ३० लाख र बाँकी रकम प्रायोजकहरुबाट संकलन गरिने महासचिव किरातको भनाइ छ ।
प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधीसहित क्रमशः नगद पाँच लाख र तीन लाख पाउने आयोजकको भनाइ छ । व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकलाईसमेत पुरस्कारको व्यवस्था गरिएकोे आयोजकले जनाएको छ । भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा सञ्चालन हुन लागेको प्रतियोगिताको सह प्रायोजक राष्ट्रिय बाणिज्य बैक र प्रायोजकहरुमा साल्ट ट्रेडिङ कार्पोरेसन, शिबम फुटवेयर्स प्रालि, संग्रीला चप्पल, यु डि विल्डर्स भोजपुर र तेज कन्ट्रक्सन काभ्रे रहेको छ ।