भोजपुर, ११ फागुन । कार्यसम्पादन मुल्याङनमा पौवादुङमा गाउँपालिका भोजपुरको प्रथम स्थानीय तह बनेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा बित्त आयोगले गरेको कार्यसम्पादन मुल्यांकनमा ४६ दशमलव ८६ अङ्कका साथ जिल्लाको प्रथम र कोशी प्रदेशका १३७ स्थानीय तहहरु मध्ये तेस्रो बनेको हो । यो कार्यसम्पादन मूल्यांकन अघिल्लो आर्थिक वर्षको बजेट कार्यान्वयन, सोही वर्ष गर्नुपर्ने अन्य काम लगायतलाई आधार मानेर गरिएको हो । आयोगले गरेको मुल्याङकनको आधारमा पौवादुङमा गाउँपालिका जिल्लामा पहिलो र प्रदेशमा तेस्रो स्थानमा परेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन भट्टाराईले जानकारी दिनुभयो ।
कार्यसम्पादनको आधारमा गाउँपालिका जिल्लामा पहिलो र कोशी प्रदेशमा उत्कृष्ट बनेको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । “कार्यसम्पादन मुल्याङमा हाम्रो गाउँपालिका जिल्लामा प्रथम र प्रदेशमा तेस्रो स्थानमा परेको छ” अध्यक्ष राईले भन्नुभयो,“ पहाडी जिल्ला भएर पनि हामीले उत्कृष्टता हासिल गरेका छौँ । यसले थप हौसला मिलेको छ । भावी दिनका कामलाई अझ प्रभावकारी रुपमा अघि बढाउछौँ ।” जिल्लामा ३७ दशमलव ८१ अंक ल्याएर षडानन्द नगरपालिका दोश्रो र ३७ दशमलव ७८ अंक ल्याएर हतुवागढी गाउँपालिका तेस्रो बनेको छ ।
कार्यसम्पादन मूल्यांकनको आधार हेरेर आयोगले आगामी वर्षका लागि समानीकरण अनुदान सिफारिस गर्ने जनाइएको छ । राम्रो अंक पानउने स्थानीय तहले समानीकरण अनुदान धेरै पाउने एउटा आधार रहेको आयोगको भनाइ छ ।
सबैभन्दा बढी सूचक सात र सूचक आठमा १५÷१५ अंक भार छ । सूचक सातमा आर्थिक वर्ष २०७९÷८० को विनियोजित रकम अनुसार खर्चको अवस्था हेरिएको आयोगले जनाएको छ । सूचक आठमा लेखा परीक्षणले औंल्याएको बेरूजुको अवस्था हेरिएको छ।
आयोगका अनुसार विनियोजित बजेटको आधारमा औसत खर्च र विनियोजित पुँजीगत खर्चको आधारमा औसत खर्च निकालिन्छ। औसतभन्दा कम प्रतिशत खर्च गरेको छ भने त्यस्ता पालिकालाई नम्बर दिइँदैन । औसतभन्दा धेरै खर्च भएको भए खर्चकै आधारमा नम्बर दिइने आयोगको भनाइ छ ।