आर्यआर्जन बढाउन बोखिमका कृषकलाई फलफूलका बिरुवा वितरण


भोजपुर, २ फागुन । कृषकको आयआर्जनमा बृद्धि गराउँदै फलफूलमा आत्मानिर्भर बनाउने उद्धेश्यले भोजपुरका किसानलाई उन्नत जातका फलफूलका विरुवा वितरण गरिएको छ । भोजपुर नगरपालिका ५ बोखिमबासीलाई व्यवसायिकसँगै आर्थिक रुपमा सक्षम बनाउन वडाले विरुवा वितरण गरेको हो । किसानको मागको आधारमा वडा कार्यालयको ७५ प्रतिशत अनुदानमा विभिन्न जातका चार हजार पाँच सय फलफूलका विरुवा वितरण गरिएको भोजपुर नगरपालिका ५ बोखिमका वडाध्यक्ष फबिन्द्र प्रधानले जानकारी दिनुभयो । परनिर्भरतालाई हटाउदै आत्मनिर्भरता बढाउने उद्धेश्यले किसानलाई विरुवा वितरण गरिएको उहाँको भनाइ छ । किसान आफैँले व्यावसायिक बनेर फलफूल खेतीमा लाग्न सके आयातलाई निरुत्साहित गरेर निर्यात गर्न सक्ने अवस्था रहेको उहाँको भनाइ छ ।

“हामीले कृषकलाई व्यावसायिक फलफूल खेतीमा लाग्न हौसला थप्नको लागि विरुवा वितरण गरेका छौँ”वडाध्यक्ष प्रधानले भन्नुभयो,“वर्षेनी विरुवा वितरण गर्दै आएका छौँ । खास गरेर कृषकलाई आत्मनिर्भर बनाएर बाहिरबाट आउने फलफूलाई प्रतिस्थापन गर्ने हाम्रो लक्ष्य हो ।” राष्ट्रिय फलफूल विकास केन्द्रले सिफारिस गरेको स्वीजरल्यण्ड जातको स्याउ दुई हजार, उन्नत जातको कालो अंगुर एक हजार पाँच सय र जापानिज नासपातीको एक हजार विरुवा वितरण गरिएको वडाध्यक्ष प्रधानले बताउनुभयो । किसानलाई केन्द्रबाट सुचिकृत गरिएका भक्तपुर, किर्तिपुर र वैतडी जिल्लामा रहेका फार्मबाट सरकारले निर्धारण गरेको मूल्यमा विरुवा ल्याएर वितरण गरिएको उहाँको भनाइ छ ।

वडाले यस आर्थिक वर्षमा विनियोजन गरेको बजेटबाट ७५ प्रतिशत र किसानको २५ प्रतिशत लागत साझेदारीमा रु.दुई लाख ९१ हजार छ सय ६६ बराबरको विरुवा वितरण गरिएको वडा सचिव अभिनास राईले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार