गोगनेको विष्णु पाञ्चायन मन्दिरको विकासमा जुट्दै न्यौपाने समाज


भोजपुर, १० माघ । भोजपुरको टेम्केमैयुङ ८ गोगनेको धाइपाको विष्णु पाञ्चायन मन्दिरको विकासमा गोगनेको न्यौपाने समाज जुटेको छ ।जन्मभूमिको सम्मान स्वरुप यहाँको विष्णु पाञ्चायन मन्दिर स्थापना गरेर पोखरीमा निर्माण थालेका हुन् । यहाँ जन्म लिएर काम तथा बसाइँसराई गरी बाहिर गएका न्यौपानेहरुले एकजुट भएर यो स्थानको विकासमा जुटेका छन् । समाजको पहलमा यहाँ रहेको विष्णु पाञ्चायन मन्दिर परिसरमा ‘अमृत सरोवर’ पोखरीको निर्माण थालिएको छ । धाइपालाई नेपालको उत्कृष्ट गन्तव्यको रुपमा स्थापित गराउदै धार्मिक पर्यटनको विकास गर्ने लक्ष्य साथ काम भईरहेको समाजले जनाएको छ ।

यहाँ निर्माण हुने अमृत सरोवर पोखरीको गोगनेका न्यौपानेको समाज काठमाण्डौँका अध्यक्ष भानुभक्त न्यौपानेले शुभराम्भ गर्नु भएको हो । जन्मभूमिको सम्मान स्वरुप विष्णुपाञ्चायन मन्दिरको स्थापना पश्चात पोखरीको पनि निर्माण थालिएको उहाँले बताउनुभयो । “जन्मभूमिको सम्मान स्वरुप हामी यो ठाउँको विकासमा जुटेका छौँ”अध्यक्ष न्यौपानेले भन्नुभयो,“यहि भूमिमा जन्मिर हामी विभिन्न ठाउँमा पुगेका छौँ । उन्नती प्रगती गरेका छौँ । हामीलाई यो स्थानमा यहि माटोले पु¥यायो । अहिले हामी जन्मभूमिको विकासमा जुटेका छौँ । यो स्थानलाई नेपालको एक उत्कृष्ट धार्मिक गन्तव्य बनाउने हामीले लक्ष्य लिएका छौँ ।”

गोगनेका न्यौपानेको अगुवाईमा यो स्थानमा २०७५ साल माघमा विष्णु पाञ्चायन मन्दिरको स्थापना गरिएको थियो । यहाँ निर्माण गरिने पोखरीमा नेपाल तथा भारतका विभिन्न पवित्र धार्मिक स्थलबाट जल ल्याइने जनाइएको छ । यो क्षेत्रको बृहत विकास गर्दै धार्मिक पयर्टनको लागि बाहिर गईरहेको पैसालाई नेपालमा नै खर्च गर्ने वातावरण निर्माण गर्ने लक्ष्यले विष्णु पाञ्चायन मन्दिरको विकास भईरहेको न्यौपानेका आदिपुरुष सदानन्दका वंशज पुजा प्रतिष्ठानका संरक्षक दयाकृष्ण न्यौपानेले बताउनुभयो ।
यहाँ निर्माण हुने अमृत सरोवर पोखरीमा देश विदेशका विभिन्न पवित्र धार्मिक क्षेत्रको जल ल्याईने भएकोले भारत लगायत अन्य ठाउँका धार्मिक स्थलमा नुहाउँदा प्राप्त हुने फल यहि प्राप्त हुने उहाँको भनाइ छ । यो धार्मिक स्थललाई नेपालको एक महत्वपूर्ण क्षेत्रको रुपमा विकास गर्ने उद्धेश्यका साथ काम भईरहेको उहाँले बताउनुभयो ।
“धार्मिक स्थलको दर्शनको लागि अन्य देशमा जादा नेपालको धेरै पैसा बाहिरिने गरेको छ” उहाँले भन्नुभयो,“हामीले यो धार्मिक क्षेत्रलाई नेपालकै एक उत्कृष्ट स्थल बनाउने लक्ष्य लिएका छौँ । यहाँ निर्माण हुने पोखरीमा देश, विदेशका पवित्र धार्मिक स्थलबाट जल ल्याउने छौँ । यसले यहाँको धार्मिक पर्यटनको विकासमासमेत टेवा पुग्ने छ ।” विष्णुपाञ्चायन मन्दिर परिसरमा न्यौपानेका आदि पुरुष सदानन्दको शालिक, विष्णुपादुका, अष्टचिरन्जीवी, नवग्रहलगायत देवी देवताको मूर्ती स्थापना गरिएको छ । मन्दिर परिसरको घेराबारासँगै हेलिप्याडसमेत निर्माण भएको छ ।

यो क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने उद्धेश्यका साथ काम भइरहेको प्रतिष्ठानका अध्यक्ष धु्रवराज रेग्मीले बताउनुभयो । यो क्षेत्रको विकास लागि विभिन्न दाताहरुबाट रु. ५० लाख बराबर सहयोग प्राप्त भएको उहाँको भनाइ छ । यो स्थानलाई स्थापित पर्यटकीय गन्तव्य बनाउने लक्ष्यका साथ प्रतिष्ठानले भावी योजना अघि बढाएको अध्यक्ष रेग्मीको भनाइ छ ।

“विष्णु पाञ्चायन मन्दिरको बृहत्तर विकासको लागि काम गरिरहेका छौँ” अध्यक्ष रेग्मीले भन्नुभयो,“यसको विकासको लागि सहयोग प्राप्त भईरहेको अवस्था छ । यहाँ विभिन्न देवी देवताको मूर्ति स्थापनासँगै आवश्यक संरचना निर्माणको काम भईरहेको छ ।” धार्मिक सांस्कृतिक पहिचानको संरक्षण र प्रवर्द्धन गर्दै लोपोन्मुख भाषा, संस्कृति, रितीरिवाज, चालचलन, भेषभुषा, संस्कार संस्कृति र भाषाभाषीको शिक्षा दिन पाठशाला स्थापना गरिने अध्यक्ष रेग्मीले बताउनुभयो ।“यो स्थानमा हामीले पाठशाला सञ्चालनको तयारी गरिरहेका छौँ”उहाँले भन्नुभयो,“पाठशालामार्फत लोपोन्मुख संस्कार,संस्कृतको बारेमा बालबालिकालाई शिक्षा दिने लक्ष्य छ ।” पोखरी शिलान्यासको अवसरमा धाइपामा रहेको जाल्पा प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई पुरस्कार वितरणसमेत गरिएको छ । विद्यार्थीहरुको सिकाई उपलब्धी बढाउन यहाँका २९ जना बालबालिकालाई पुरस्कृत गरिएको प्रतिष्ठानले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार