भोजपुर, ४ माघ ।
भौगोलिक रुपमा विकट मानिने भोजपुरको उत्तरी क्षेत्रमा अवस्थित साल्पासिलिछो गाउँपालिकाका स्थानीयलाई नागरिकता प्राप्त गर्न निकै कठिन छ । यहाँका नागरिकलाई नागरिकता लिन धेरै समय र खर्च लाग्ने गरेको छ । भौगोलिक विकटताका कारण कतिपय स्थानीय लामो समयसम्म नागरिकतासमेत नबनाई बस्ने गरेका छन् ।
उत्तरी क्षेत्रमा अवस्थित षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकालाई लक्षित गरेर इलाका प्रशासन कार्यालय दिङ्लाबाट सेवा प्रवाह भइरहेको छ । तर त्यहाँबाट सेवा लिन यो गाउँपालिकाका नागरिकलाई दुईदेखी तीन दिनसम्म समय लाग्ने स्थानीयले बताउने गरेका छन् । हिउँदको समयमा जसो तसो मोटर चढेर सेवा लिन आउने अवस्था रहेपनि वर्षात शुरु भएपछि उनीहरुलाई निकै समस्या हुने गरेको छ ।
नागरिकले पाएको सास्तीलाई ध्यानमा राखेर यहाँका स्थानीयलाई घुम्ति शिविर सञ्चालन गरेर नागरिकता प्रदान गरिएको छ । साल्पासिलिछो गाउँपालिका र इलाका प्रशासन कार्यालय दिङ्लाको समन्वयमा यहाँ शिविर सञ्चालन गरेर नागरिकता वितरण गरिएको हो ।
शिविरबाट घर पायकामा नागरिकता लिन पाउँदा सहजता भएको वडा नं ५ च्याक्सिलाका स्थानीयबासी मिङ्मा शेर्पाले बताउनुभयो । भौगोलिक विकटता कारण नागरिकता बनाउन समस्या भएको अवस्थामा गाउँमा सेवा पाउँदा खुसी लागेको उहाँको भनाइ छ ।
“नागरिकता लिनको लागि सदरमुकाम तथा इलाका प्रशासनसम्म पुग्न हामीलाई धेरै समय लाग्छ”उहाँले भन्नुभयो,“त्यहासम्म पुगेर खादा, बस्दा र फर्कदा रु. आठदेखी दश हजारसम्म खर्च हुन्छ। गरिव तथा विपन्न परिवारलाई खर्च जुटाउन पनि समस्या छ । घरपायकमा सेवा पाउँदा हाम्रो समय र पैसाकोसमेत बचत भएको छ ।”आफुले ४१ वर्षको उमेरमा शिविर आएको अवसरमा नागरिकता बनाएको शेर्पाले बताउनुभयो ।
माघको दोश्रो हप्तासम्म सञ्चालन हुने गरी शुरुवात गरिएको शिविरबाट विहिबार यहाँका दुर्गम मानिने वडा नं ५ र ६ का दुई सय ५८ जनालाई नागरिकता वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधबकुमार अधिकारीले जानकारी दिनुभयो । यहाँका नागरिकता प्राप्त गर्न बाँकी रहेका तथा प्रतिलिपि लिनुपर्ने मानिसहरुको तथ्याङ्क संकलन गरेर वितरणको कार्य शुभारम्भ गरिएको उहाँको भनाइ छ । गाउँपालिकाका ६ ओटै वडाका नागरिकलाई शिविरमार्फत नागरिकता वितरण गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।
“भौगोलिक विकटताका कारण यहाँका नागरिकलाई सेवा लिन निकै समस्या छ”प्रशासकीय अधिकृत अधिकारीले भन्नुभयो,“नागरिकता बनाउनको लागि धेरै समय र खर्च लाग्ने अवस्था छ । नागरिकलाई सहज सेवा प्रवाह गर्ने लक्ष्यले इलाका प्रशासन कार्यालयसँगको सहकार्यमा घुम्ति शिविरबाट सेवा प्रवाह गरिरहेका छौँ ।”
गाउँपालिकाका ग्रामीण क्षेत्रका नागरिकलाई सहज र सरल किसिमले सेवा दिने उद्देश्यले घुम्ती शिविरको आयोजना गरेर सेवा प्रवाह गरिएको गाउँपालिका अध्यक्ष दौलथ कुलुङले बताउनुभयो । गाउँपालिकाको पहलमा सञ्चालन गरिएको शिविरले नागरिकलाई सहजता थपिएको अध्यक्ष कुलुङको भनाइ छ । घर पायकमा सेवा प्रवाह गरिएकोले नागरिकको समय र पैसाको बचत भएको उहाँले बताउनुभयो ।
“नागरिकलाई सहज सेवा प्रवाह गर्न हामी गम्भिरढंगले लागि परेका छौँ”अध्यक्ष कुलुङले भन्नुभयो,“ भौगोलिक विकटताका कारण धेरै चुनौतीहरु पनि छन्। नागरिकको सास्तीलाई ध्यानमा राखेर सेवा प्रवाहलाई सहज र सरल बनाउने कोशिस गरिरहेका छौँ ।”
इलाका प्रशासन कार्यालय दिङ्लाका प्रमुख विनोद अधिकारीसहितको समुहले शिविरमार्फत स्थानीयलाई नागरिकता वितरण गरेको छ । शिविरमार्फत सेवा प्रवाह गर्नको लागि गाउँपालिकासँगको सहकार्यमा इलाका प्रशासन कार्यालयले पुस २५ बाट विवरण संकलन गरेको थियो । त्यहि विवरणको आधारमा नयाँ नागरिकतासँगै प्रतिलिपि वितरण गरिएको हो । राष्ट्रिय जनगणना २०७८ अनुसार यो गाउँपालिकाको कुल जनसंख्या १२२८४ रहेको छ । यहाँ दुई हजार नौ सय ९८ घरघुरीको बसोबास छ ।