भोजपुर,१ माघ । भोजपुरको हतुवागढी गाउँपालिकाले निःशुल्क लोक सेवा तथा शिक्षा सेवा तयारी कक्षा सञ्चालन गरेको छ । गाउँपालिकाले यहाँका युवा,युवतीलाई निजामति सेवा लाग्न सहजता थप्ने उद्धेश्यले निःशुल्क लोकसेवा तथा शिक्षा सेवा तयारी कक्षा सञ्चालन गरेको हो । युवाहरुमा सिकाई उपलब्धि बढाउदै, मेहनती, प्रतिस्पर्धी र इमान्दार नागरिकका रुपमा स्थापित गराउने लक्ष्यले लोक सेवा तयारी कक्षा सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो । युवा, युवतीहरुमा पढाईपछि विदेश जाने प्रबृति बढेकाले त्यसलाई न्यूनिकरण गर्दै सरकारी सेवामा लाग्न हौसलासँगै सहजता थप्ने लक्ष्यले लोक सेवा पूर्व तयारी कक्षा सञ्चालन गरिएको अध्यक्ष राईको भनाइ छ ।
“गाउँपालिकाले यहाँका युवा, युवतीलाई लक्षित गरेर निःशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन गरेको छ”अध्यक्ष राईले भन्नुभयो,“कक्षा लिनका लागि बाह्य ठाउँमा जादा धेरै खर्च हुने भएकोले गाउँपालिकाले लोक सेवा तयारी कक्षा सञ्चालन गरेको हो । यसले युवा,युवतीहरुमा सरकारी सेवामा प्रवेश गर्न सहजता पुग्छ भन्ने हामीले अपेक्षा लिएका छौँ ।” गाउँपालिकाले रु.पाँच लाख रकम विनियोजन गरेर सञ्चालन गरेको तयारी कक्षामा ४६ जनाको सहभागिता रहेको छ । स्थानीयलाई सरकारीमा सेवा प्रवेश गर्न सहजता थप्ने लक्ष्यले गाउँपालिकाले पहिलो पटक लोकसेवा तथा शिक्षा सेवा तयारी कक्षा सञ्चालन गरेको हो ।
गाउँघरमै लोकसेवा तयारी कक्षा सञ्चालन भएपछि यहाँका युवा, युवतीहरु खुसी भएका छन् । गाउँपालिकाले लोक सेवा तयारी कक्षा सञ्चालन गरेकोले तयारी कक्षाको लागि काठमाण्डौँ, विराटनगर लगायत ठाउँमा जानु पर्ने बाध्यताको अन्त्य भएको लोक सेवा तयारी कक्षाकी सहभागी रामकुमारी राईले बताउनुभयो । “गाउँपालिकाले सञ्चालन गरेको कक्षाले हामीलाई सहज भएको छ”उहाँले भन्नुभयो,“गाउँपालिकामा नै कक्षा लिन पाउँदा खुसी लागेको छ ।यहि लोकसेवा तयारी कक्षा सञ्चालन गरिएकोले हामीले धेरै खर्च गरेर काठमाण्डौ, विराटनगर लगायत ठाँउमा जानु पर्ने बाध्यता हटेको छ ।”
लोक सेवा आयोगमा यहाँका क्षेत्रका युवाहरुको पहुँच र सहभागिता बढाउन गाउँपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिनुभयो । यो तयारी कक्षा एक महिनासम्म सञ्चालन गरिने प्रशासकीय अधिकृत निरौलाले बताउनुभयो ।
“सरकारी सेवामा प्रवेश गर्न सहजता थप्न तयारी कक्षा सञ्चालन गरेका हौँ”प्रशासकीय अधिकृत निरौलाले भन्नुभयो, “कक्षा सञ्चालनले उहाँहरुलाई निजामति तथा शिक्षा सेवाका क्षेत्रमा प्रवेश गर्न सहज हुन्छ भन्ने हाम्रो उद्धेश्य हो।”
गाउँपालिकाको बजेटमा सञ्चालन भईरहेको कक्षाको सीएससीआई एजुकेसन फाउन्डेसन दमकले सहजिकरण गरिरहेको छ । यसअघि विभिन्न गाउँपालिकाले कक्षा सञ्चालन गरिरहेको फाउन्डेसनका प्रमुख राजु गौतमले बताउनुभयो । यो एक महिनाको अवधिमा लोकसेवा तथा शिक्षा सेवाका ६० ओटा कक्षा सञ्चालन हुने गौतमको भनाइ छ ।