भोजपुर, २२ असोज । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भोजपुरको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । भवनको एक कार्यक्रमका बीच कोशी प्रदेशका खानेपानी, सिंचाई तथा उर्जा मन्त्रालयका सचिव अरुणकुमार झाले उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै सचिव झाले कार्यालय भवन निर्माणले कामकाजको सम्पादनमा सजहता हुने बताए । आफ्नो कार्यकालमा मन्त्रालयबाट हुने कामलाई भावी दिनमा अझ प्रभावकारी बनाएर लैजानेसमेत उनको भनाइ छ।“यो भवन निर्माणले पक्कै पनि कार्यसम्पादनमा सहजता थपिएको छ ”सचिव झाले भने,“हाम्रो मन्त्रालयबाट हुने कामलाई भावी दिनमा अझ प्रभावकारी बनाउने मेरो उद्धेश्य छ । यसमा हामी सबैले भूमिका खेल्न आवश्यक छ ।”
बजेट अभावले कतिपय योजनामा पर्याप्त बजेट विनियोजन हुन नसकेको उनको भनाइ छ । कोशी प्रदेशका धेरै कार्यालयहरुमा कर्मचारी अभावले कार्यसम्पादनमा समस्या रहेको बताए । त्यस्तै कोशी प्रदेशमा सरकारले स्थायीत्व नपाउँदा पनि कामलाई गतिदिन केहि समस्या रहेको उनको भनाइ छ । “यो प्रदेशका विभिन्न जिल्लामा रहेका योजनाहरुको अनुगमनका क्रममा हामी भोजपुर आईपुगेका छौँ” उनले भने“सवै कार्यालयको अवस्था हेर्दा कर्मचारी अभाव मुख्य चुनौतीको रुपमा रहेको छ ।यसको समाधानमा हामीले पहल गरिरहेका छौँ । तर तत्कालिन रुपमा यो समस्या हल हुने देखिन्न । आन्तरिक जनशक्तिलाई व्यावस्थापन गरेर काम गर्नुपर्ने अवस्था छ ।”
शहरी विकास तथा भवन कार्यालय धनकुटाको भ्याटसहित रु. तीन करोड ८९ लाख २९ हजार ९३५ रुपैँयामा दुई तले कार्यालय भवन निर्माण सम्पन्न भएको कार्यालय प्रमुख देवनाथ शिंहले जानकारी दिए । विगतमा भाडामा बसेर काम गर्दै आएको अवस्थामा नयाँ भवन बनेपछि सहज भएको प्रमुख शिंहलेब बताए । प्रमुख शिंहले कार्यालयको अवस्थासँगै सञ्चालित योजना तथा कार्यक्रमको अवस्थाको बारेमासमेत जानकारी गराए । लिफ्ट खानेपानी योजना खानेपानीको लागि नयाँ प्रविधि रहेकाले यसको स्थायीत्वको लागि ध्यान दिनुपर्ने उनको भनाइ छ ।
“नयाँ भवन निर्माणले कामकाज सञ्चालनमा सहज बनेको छ”प्रमुख शिंहले भने,“कार्यालयले दुई ओटा जिल्लामा काम गर्नु पर्ने भएकाले कर्मचारी अभावको कारण केहि समस्या छ । कतिपय योजनामा न्यून बजेट विनियोजन हुँदा काम गर्न असहज बनेको छ । यसमा मन्त्रालयले ध्यान दिए सहज हुने थियो । खास गरेर लिफ्ट खानेपानी आयोजनालाई दिगोरुपमा सञ्चालनमा ध्यान दिनु पर्ने आवश्यकता छ ।” मन्त्रालयका खानेपानी, सिंचाई, उर्जा महाशाखा प्रमुख मेघराज ज्ञावलीले सञ्चालन भएका योजनालाई प्रभावकारी रुपमा सञ्चालनमा भूमिका खेल्नु पर्ने बताए । योजनाहरुलाई प्राथमिकता निर्धारण गरेर सञ्चालन गरेमा काम गर्न थप सहज हुने धाराणा राखे ।“योजनाहरुलाई प्राथमिकता निर्धारण गर्न आवश्यक छ” उनले भने,“प्राथमिकता निर्धारण गरेर सञ्चालन गर्दा थप सहज हुन्छ । धेरै साना योजना भएको अवस्थामा त्यसलाई मर्ज गरेर पनि सञ्चालन गर्नु पर्ने हुन सक्छ ।”
प्रशासन महाशाखा प्रमुख सञ्जय कुमार पोखरेलले खानेपानी तथा सिंचाइका क्षेत्रमा काम गर्नको लागि दक्ष जनशक्तिको अभाव हुँदै गएको बताए । कर्मचारी अभावको कारण सोचे अनुसारको प्रगति गर्नसमेत समस्या रहेको उनको भनाइ छ । मन्त्रालय मातहत रिक्त रहेका दर्वन्दी परिपूर्तीको लागि लोक सेवासँग माग गरिएको भएपनि त्यसमा ढिलाई भइरहेको उनले जानकारी दिए ।
“हामीले विभिन्न जिल्लाका योजनाहरुको अनुगमनसँगै त्यहाँको कार्यालयको अवस्थाको बारेमा बुझेका छौँ”उनले भने,“अहिलेको मुख्य चुनौती नै कर्मचारी अभाव रहेको छ । यसको समस्याको समाधानमा हामीले खेल्ने भूमिका खेलिरहेका छौँ । नयाँ जनशक्ति नआएसम्म हामीले यहि जनशक्तिलाई व्यावस्थापन गरेर काम गर्नु पर्ने बाध्यत्मक अवस्था छ ।” सचिवसहित मन्त्रालयबाट आएको समुहले यहाँका विभिन्न योजनाको स्थलगत अनुगमनसमेत गरेको छ ।