हतुवागढीको पर्यटनको आधार र सम्भावना सार्वजनिक


भोजपुर, १३ असोज । भोजपुरको हतुवागढी गाउँपालिकाले पर्यटनको आधार र सम्भावना सार्वजनिक गरेको छ । गाउँपालिकाले यहाँ रहेका मुख्य पर्यटकीय क्षेत्र र यी क्षेत्रको विकासबाट पर्यटक भित्रने आधार सार्वजनिक गरेको हो । छ ओटा आधार र सम्भावना तयार गरेर यहाँको पर्यटन विकासको खाका सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको आधार र पर्यटनको सम्भावनामा गाउँपालिकाको हालको पर्यटकीय अवस्था, पर्यटकीय क्षेत्र, विकासमा भएका कामसँगै भविष्यमा गर्न सकिने कामलाई समेटिएको छ ।
स्थानीयस्तरमा रहेका प्राकृतिक सम्पदा, साँस्कृतिक धरोहर, ऐतिहासिक सम्पदाहरु र धार्मिक स्थलहरुको संरक्षण संबद्र्धन एंव प्रर्वद्धन गरेर हतुवागढी गाउपालिकामा आन्तरिक तथा बाह्य पर्यटकको पर्यटकीय गन्तव्य बनाउन सकिने प्रशस्त आधार तथा सम्भावनाहरु रहेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए । “हतुवागढी आफैँमा एक ऐतिहासिक गाउँपालिका हो” अध्यक्ष राईले भने,“यहाँ धेरै ऐतिहासिक, साँस्कृतिक र प्राकृतिक सम्पदाहरु छन् । यी क्षेत्रको विकास गरेर पर्यटन भित्रने आधार र सम्भवनाको खोजी गरिरहेका छौँ । यी आधारमा रहेर विकास गर्न सकेमा गाउँपालिकामा पर्यटनबाट राम्रो आम्दानी लिने अवस्था छ ।”

गाउँपालिकाले पहिलो आधारको रुपमा यहाँको हतुवागढीको विकासलाई लिएको छ । किरात राजाहरुले राज्य गरेको गढीको अहिले पनि दरबारको भग्नावशेष रहेको छ । गढीको नामबाट गाउँपालिकाको नाम राखिएकाले यसको संरक्षण तथा विकास गरेर इतिहासको खोजी गरी गढी र दरबारलाई अध्ययनयोग्य विषयको रुपमा विकास गर्न सकिने अध्यक्ष राईको भनाइ छ । नेपाली सेनाले नेपाल राज्यको एकीकरण अभियानको संस्मरणका लागि ऐतिहासिक गढीहरुको संरक्षण र प्रर्वद्धनको लागि एक गढीबाट अर्को गढी जोड़ने गढीहरुको एकीकरण पदमार्ग योजना अगाडि बढाएको अवस्थामा हतुवागढीलाई पनि यसले पर्यटनको विकासमा टेवा पुग्ने उनले बताए ।
यहाँको ऐतिहासिक तथा पुरातात्विक गढ़ी र दरबार क्षेत्र लगायतको पुनः निर्माण, संरक्षण, सम्र्बद्धन तथा प्रर्वद्धनको लागि विस्तृत परियोजना प्रतिवेदन (डीपिआर) तयार भईसकेको जनाइएको छ । सो अनुसार निर्माण गरिएपछि आन्तरिक तथा बाह्य पर्यटकहरुको सङ्ख्या बढ्ने गाउँपालिकाको भनाइ छ ।

हतुवागढीबाट धरान, ईटहरी, विराटनगर जस्ता तराईका ठुला र महत्वपूर्ण शहरहरु करिव ६०/६५ किलोमिटरको दुरीमा मात्र रहेकोले पर्यटकको आवगमन बढ्ने दोश्रो आधार तथा सम्भावना रहेको जनाइएको छ । हतुवागढीको एकै ठाउँबाट विश्वको सर्वोच्च शिखर सगरमाथा, मकालु तथा कञ्चनजंघा लगायत हिमाल र तराईको फाँटको अवलोकन गर्न सकिने भएकाले पर्यटनको राम्रो सम्भावना रहेको छ । तराईका मानिसहरु गर्मी याममा गर्मी छल्दै, चिसो हावापानीमा रमाउदै मनमोहक दृष्यहरुको दृष्यावलोकन गर्न नयाँ पर्यटकीय स्थलको भ्रमण गर्न चाहने भएकाले यहाँ पर्यटनको राम्रो सम्भवना रहेको अध्यक्ष राईले बताए ।

“हाम्रो गाउँपालिका तराईका ठूला शहरबाट नजिकै रहेको छ” उनले भने,“त्यसैले यहाँ पर्यटनको धेरै राम्रो सम्भवना छ ।’’ गाउँपालिकाको दक्षिण पूर्वी भागमा अरुण र दूधकोशी नदीमा बोटिङ भईरहेकाले यसलाई अझ व्यापक बनाएर पर्यटक भित्राउन सकिने तेस्रो आधार तथा सम्भावना रहेको गाउँपालिकाको भनाइ छ । सप्तकोशीमा चतराघाटदेखी हतुवागढीको हलेदेसम्म आएको पानीबोटलाई अरुण नदीतर्फ तुम्लिङटार र दूधकोशी हुँदै दोलालघाटसम्म पु¥याउँदै जलयात्रालाई सहज बनाएर गाउँपालिकामा आन्तरिक तथा बाह्य पर्यटक भित्राउन सकिने जनाएको छ ।

गाउँपालिकाको केन्द्रमा रहेको ऐतिहासिक हतुवागढी दरबार, भविष्यवक्ता पोखरी, अन्य ऐतिहासिक स्थल तथा धार्मिक स्थलहरु महादेवथान गुफा, चमेरे गुफा लगायत स्थानहरुको विकास गरेर पर्यटकलाई भित्राउन सकिने चौथो आधार रहेको गाउँपालिको भनाइ छ ।

यहाँको हतुवागढी–१, दिमालुङ्ग स्मारक पार्क र दिमालुङ्ग पार्क, शिवालय थान हतुवागढी २ मा पर्ने सय वृक्ष, संखाम चुली, जोर आहाल, भ्यु टावर, छोकमैन अवतारी, थुलुङ्ग संस्कृतिको सौरीनेम, तोसिखोम, अजम्बरी पानी, माक्साहुत (भालु बस्ने गुफा) हतुवागढी–३ को सुनाहाङको शिर राखेको स्थल, फलामढुङ्गा, लुङ्गथुङ्ग ढुङ्गा, शिला सुत्केरी शिलाको थप विकास तथा विस्तार गरेर यहाँको पर्यटकीय क्षेत्रको विकास गर्न सकिने अध्यक्ष राईको भनाइ छ ।

हतुवागढी– ४ को ऐतिहासिक होम्ताङ्ग साकेला थान, बाहुतभुत बस्ने सुरुङ्ग, हतुवागढी–५ को सिमसरादेबी थान, हतुवागढी–६ मा पर्ने लुखिम ढुङ्गा, ईन्द्रेणी करना, हतुवागढी– ७ मा अवस्थित ब्राहम टाकुरे डाँडा, बिद्यापोखरी, पिचाखा मागलुङ्ग, हतुवागढी–८ को गन्धेपानी, माईबेनी र हतुवागढी– ९ को किरात करना, समुदायको साकेला तथा अन्य देवस्थल लगायतका ऐतिहासिक, धार्मिक स्थलहरु रहेकाले यी क्षेत्रको अवलोकन तथा अध्ययन अनुसन्धानको लागि पर्यटक आउने गाउँपालिकाले जनाएको छ । गाउँपालिकालाई अन्य स्थानसँग जोडने दुधकोशी नदीको चुहारमा निर्माणधिन पक्की पुल, अरुण नदीमा निर्माणधिन पक्की पुल र अरुण नदीकै मचुवाटार र अखुवाटारमा पक्की पुल बनेपछि यहाँ पर्यटक भित्रने पाँचौ आधार बन्ने गाउँपालिको भनाइ छ ।

यी ठाउँमा पुल बनेपछि भोजपुर सदरमुकाम लगायत भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका,आमचोक गाउँपालिका, रामप्रसादराई गाउँपालिका, पौवादुङ्गमा गाउपालिकाको केहि भूभागका स्थानीयहरुलाई तराई तथा शहर बजारसँग जोड्ने जिल्लाकै छोटो दूरीको मार्ग बन्ने छ । गाउँपालिकाले आफ्नो गौरवको आयोजनाको रुपमा अगाडि बढाईरहेको निर्माणधिन घोडेटार बजार–गढी–संखामचुली जोर आहाल–दिमालुङ्ग पार्क जोड्ने पैदल मार्गको केहि खण्ड निर्माण सम्पन्न भएको छ । यसले आन्तरिक पर्यटनमा सहयोग पुगेको गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले बताए ।

यसलाई थप विकास गरेर टेम्केमैयुङ गाउँपालिकाको चखेवा हुँदै साल्पा पोखरीसम्म मुन्दुम पदमार्ग जोडेर ‘बृहत मुन्दुम पदमार्ग’को रुपमा विकास गरेर पर्यटक भित्राउने सकिने छैटाँै आधार रहेको उनको भनाइ छ । विशेष गरेर किरात समुदाय आस्थाको केन्द्र खुवालुङ्गलाई शुभारम्भ प्रस्थान विन्दुको रुपमा बिकास गरी समुद्र सतहबाट एकसय ५३ मीटर उचाईमा रहेको भोजपुर जिल्लाको सबैभन्दा होचो भू–भागदेखि सबैभन्दा अग्लो भुभाग साल्पासिलिछोसम्मको पदमार्गको प्रस्थान बिन्दु बनाएर पर्यटकको आवगमन बढाउन सकिने गाउँपालिकाले जनाएको छ ।

पदमार्गमार्फत भोजपुर, धनकुटा तथा उदयपुरको संगम स्थल तथा धार्मिक स्थल माईबेनी (त्रिवेणी), हतुवागढी दरबार हतुवागढी पैदलमार्गबाट पाक्माखाम भञ्ज्याङ हुँदै चखेवामा जोड्न सकिने हुनाले प्रशस्त पर्यटकिय गतिविधि गर्न सकिने आधार रहेकोले यसको विकासमा जोड दिइएको गाउँपालिकाको भनाइ छ । हतुवागढी गाउँपालिकाको पर्यटन गुरुयोजना अनुसारका कार्य सम्पन्न भएपश्चात गाउँपालिकाले पर्यटनमा फड्को मार्ने गाउँपालिकाले जनाएको छ । हतुवागढीलाई पर्यटकीय क्षेत्रको केन्द्रको रुपमा विकास गर्ने लक्ष्य रहेकाले भविष्यमा पर्यटकीय गतिविधिबाट नागरिकहरुको आर्थिक गतिविधिमा सहयोग पुग्ने गाउँपालिकाको भनाइ छ । गाउँपालिकाले निर्माण गरेको गुरु योजना अनुुसार पर्यटकीय क्षेत्रको विकासका लागि विभिन्न निकायसँग सहकार्य र समन्वय भईरहेको गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार