भोजपुर, ३१ असार । भोजपुरको हतुवागढी गाउँपालिकाको आर्थिक बर्ष २०७९/ ०८० को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । आईतबार गाउँपालिका केन्द्र घोडेटारमा कार्यक्रम सम्पन्न भएको हो । हालसम्म गाउँपालिकामा भएका गतिवधिको विषयमा स्थानीय नागरिकलाई जानकारी गराउने उद्धेश्यले कार्यक्रम गरिएको हो । सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले गाउँपालिकाले यो अवधिसम्म गरेका काम, सञ्चालित योजना, नीतिगत निर्णय तथा हालसम्मको प्रगतिको विषयमा प्रतिवेदन पेश गरे ।
गाउँपालिकाले यो अवधिसम्म चालु तर्फ ७८ दशमलव ११ प्रतिशत र पुँजीगत तर्फ ६२ दशमलव ८३ प्रतिशत बजेट खर्च गरेको प्रशासकीय अधिकृत निरौलाले जानकारी दिए । स्थानीय नागरिकले उठाएका सवालको जबाफ दिँदै गाउँपालिका अध्यक्ष प्रेम कुमार राईले स्थानीय नागरिकबाट आएका सल्लाह सुझावले गाउँपालिकाको आगामी दिनका योजनालाई थप प्रभावकारी बनाउन टेवा पुग्ने बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष सुनिता किरातीले सार्वजनिक सुनुवाईले गाउँपालिकाको सेवा प्रबाहको बारेमा जनतालई सुसुचित हुन सहयोग पुग्ने बताइन् । स्थानीय नागरिकको सल्लाह सुझाब तथा प्रतिकृयाले समृद्ध गाउँपालिका निर्माणमा सहयोग पुग्ने उनको भनाइ छ ।