भोजपुरका नाङगा तथा खाली जमिनमा बृक्षरोपण


भोजपुर, १५ असार । भोजपुरमा खाली जमिन तथा नाङगा पाखामा बृक्षरोपण अभियान थालिएको छ । वातावरणमा पर्ने असर न्यूनिकरण तथा वन क्षेत्रको विकास तथा विस्तारको लागि यस्ता ठाउँमा बृक्षरोपण थालिएको हो । यो अभियान अन्तर्गत डिभिजन वन कार्यालय भोजपुरको आयोजनामा षडानन्द नगरपालिकाको भिम गणेश सामुदायिक वनको गैरी चोउरमा बृक्षरोपण गरिएको छ । यहाँको खाली क्षेत्रमा पाँच हजार विरुवा रोप्ने लक्ष्य रहेको डिभिजन वन कार्यालय भोजपुरका प्रमुख विरेन्द्र शाहले जानकारी दिए । राष्ट्रिय बृक्षरोपण दिवसको अवसरमा विरुवा रोपिएको हो ।

‘‘खाली तथा नाङगा पाखालाई हरियाली बनाउने उद्धेश्यले बृक्षरोपणको कार्यक्रम गरिरहेका छौँ’ प्रमुख शाहले भने,‘‘स्थानीय तह तथा अन्य निकायसँगको सहकार्यमा यसमा जोड दिएका हौँ । यो कार्यक्रम निरन्तर जारी रहन्छ ।’’

विगतका दिनमा सदरमुकाम केन्द्रित कार्यक्रम हुने गरेको भएपनि वन कार्यालयले यस पटक भने षडानन्द नगरपालिका ७ मा रहेको सामुदायिक वनमा वृक्षरोपण गरेको हो । यहाँ चिउरी, रुद्राक्ष, विभिन्न अर्नामेन्ट प्लान्ट, कल्की, जामून गरी पाँच हजार विरुवा रोप्ने लक्ष्य रहेको कार्यालयले जनाएको छ ।

वातावरणको संरक्षणको लागि वन कार्यालयले थालेको काम स्वागतयोग्य रहेको षडानन्द नगरपालिकाले जनाएको छ । गैरी चोउर ऐतिहासिक महत्व बोकेको ठाउँ रहेकोले यसको पहिचान जोगाउन भूमिका खेल्ने नगरपालिकाको भनाइ छ । त्यसको संरक्षणको लागि वनसँगको सहकार्यमा काम गर्ने लक्ष्य रहेको नगरपालिका प्रमुख सुरेन्द्रकुमार उदासले बताए ।‘‘बृक्षरोपण अभियानलाई जोड दिन आवश्यक छ’’ प्रमुख उदासले भने,‘‘मानव जिवनको लागि वनको अति नै आवश्यक छ । बृक्षरोपण पश्चात गैरी चोउर क्षेत्रलाई ऐतिहासिक क्षेत्रको रुपमा विकास गर्ने योजना छ । यो अभियानमा हाम्रो पनि साथ रहन्छ ।’’

गैरी चोउर ऐतिहासिक क्षेत्र रहेकोले यसको फरक ढंगले योजनाबद्ध विकासमा ध्यान दिनु पर्ने वडा कार्यालयले जनाएको छ । यो नेपाल एकिकरणको समयमा फौजले तालिम अर्थात तारो हान्ने चोउर भएकोले ऐतिहासिक महत्वलाई बचाउदै वृक्षरोपन गर्नु पर्ने वडाध्यक्ष दिपेश विष्टले बताए । ऐतिहासिक क्षेत्र रहेकोले पूर्ण रुपमा वृक्षरोपण गरेर यहाँको महत्व मेट्न नहुने वडाध्यक्ष विष्टको भनाइ छ ।

रोपिएका विरुवाको संरक्षणमा वन उपभोक्ता समितिले मुख्य भूमिका खेल्नु पर्ने नगर उप–प्रमुख प्रमिला राईले बताईन । नगरले पनि विरुवा संरक्षणमा ध्यान दिने उनको भनाइ छ । वर्षेनी विरुवा रोपनका कार्यक्रम भएपनि उपलब्धि भने सन्तोषजनक नरहेको उप–प्रमुख राईले बताईन । वन कार्यालयले यहाँका कृषकलाई पाँच सयलाई दाँते ओखरको विरुवासमेत वितरण गरेको छ । ओखर खेतीले किसानलाई आर्थिक रुपमासमेत टेवा पुग्ने कार्यालयको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार