ठुलोदुम्माका कृषकलाई कृषि सामग्री हस्तान्तरण


भोजपुर, ३० जेठ ।
पौवादुङमा गाउँपालिका ६ ठुलोदुम्माका स्थानीय कृषकलाई कृषि सामग्री हस्तान्तरण गरिएको छ । कृषकहरुलाई प्रविधिमैत्री कृषिमा जोड्न सामग्री वितरण गरिएको हो ।
यहाँका कृषकहरुलाई चार ओटा मिनिटिलर, इलेक्ट्रिक स्प्रे ३१ ओटा, मल्चिङ प्लाष्टिक ४७ थान, प्लाष्टिक पोखरी १४ ओटा, १५ ओटा प्लाष्टिक टनेल लगायतका कृषि सामग्री वितरण गरिएको वडाध्यक्ष दक्ष कुमार राईले जानकारी दिए ।
‘कृषकलाई आवश्यक कृषि सामग्री वितरण गरेका छौँ’ वडाध्यक्ष राईले भने,‘ गाउँपालिकाको नीति अनुसार कृषिको विकास गर्दै यहाँका कृषकलाई आर्थिक रुपमा सक्षम बनाउने हाम्रो लक्ष्य छ । वितरण गरिएका सामग्रीले कृषकलाई कृषि कर्म गर्न थप हौसला मिल्छ भन्ने अपेक्षा वडाले लिएको छ ।’

कृषकहरुलाई सामग्री वितरण गर्दै गाउँपालिका अध्यक्ष किरण राईले कृषि क्षेत्रको योजनाबद्ध विकासमा गाउँपालिकाले भूमिका खेलिरहेको बताए । कृषकलाई व्यावसायिक कृषिमा लाग्न विभिन्न खाले प्रोत्साहनमूलक कार्यक्रमहरु सञ्चालन गरिएको उनको भनाइ छ । भौगोलिक रुपमा विभाजन गरेर गाउँपालिकाले कृषिको विकासमा लगानी गरिरहेको अध्यक्ष राईले बताए ।
‘गाउँपालिकाले व्यावसायिक कृषिमा जोड दिएको छ’अध्यक्ष राईले भने,‘कृषकहरुले गर्दै आएको काममा थप सहयोग पुगोस भनेर कृषि सामग्री वितरणसँगै आवश्यक प्राविधिक सहयोग गर्दै आएका छौँ । गाउँपालिकालाई कृषिमा आत्मानिर्भर बनाउने उद्धेश्यका साथ काम गरिरहेका छौँ ।’

स्वास्थ्य, शिक्षा,कृषि, पयर्टन, सडक, खानेपानीसँगै भौतिक पूर्वाधारको योजनाबद्ध विकास गर्दै नमूना गाउँपालिका बनाउने संकल्पका साथ काम गरिरहेको अध्यक्ष राईको भनाइ छ । गाउँपालिकाबासीलाई स्थानीय सरकार भएको अनुभूति गराउने उद्धेश्यका साथ विकासका गतिवधि सञ्चालन गरिरहेको अध्यक्ष राईले जानकारी दिए ।
‘गाउँपालिकाको सबै क्षेत्रको विकासमा उतिकै महत्व दिएका छौँ’ अध्यक्ष राईले भने,‘योजनाको प्राथमिकिरण गरेर लगानीको आधार तयार गरिएको छ । नमूना गाउँपालिका बनाउने हाम्रो संकल्प छ ।’

सामग्री वितरणले कृषिकलाई कृषिमा लाग्न थप टेवा पुग्ने गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताइन् ।आफ्नो नेतृत्वमा महिला विकास वोर्ड गठन गरेर महिलालाई कृषि तथा उद्यममा लाग्न प्रोत्साहन गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उनको  भनाइ छ ।
महिलालाई कृषि उद्यममा जोड्ने लक्ष्यले ६ ओटै वडामा एक लाख बराबरको थप कार्यक्रमसमेत सञ्चालन भईरहेको उपाक्ष्यक्ष राईले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार