षडानन्दको नगरसभा स्थगित, मेयर भन्छन्, हलो अड्काएर गोरु चुट्ने प्रबृति देखाइयो !


भोजपुर, ११ असार ।
भोजपुरको षडानन्द नगरपालिकाको नगर सभा स्थगित भएको छ । शुक्रबारका लागि तयार गरिएको नगरसभा सत्तागठबन्धन दलका कार्यपालिका सदस्यहरुले बहिष्कार गरेपछि स्थगित भएको हो । उप–प्रमुख प्रमिला राईसहित १३ जना कार्यपालिका सदस्यले नगर प्रमुखलाई पत्र लेखेर सभा बहिष्कार गरेका हुन् ।
नगर प्रमुख सुरेन्द्र कुमार उदासले भने नियोजित रुपमा गठबन्धनका कार्यपालिका सदस्यहरुले सभा बहिष्कार गरेको बताएका छन् । आफुलाई काममा बाधा पु¥याउने गलत मनसायले कार्यपालिका बैठक लगाएत पटक पटक वोलाएको बैठकमासमेत अनुपस्थित हुने गरेको उदासको भनाइ छ । उप– प्रमुखको संयोजकत्वमा रहेको स्थानीय राजस्व परामर्श समितिले आन्तरिक आयको अनुमान गरेर बजेट प्रक्षेपण नगरेको कारण बजेट ल्याउन नसकेको उदासले जानकारी दिए ।
प्रमुख उदासले भने,‘असार १० मा बजेट ल्याउने संवैधानिक व्यवस्था भएपनि उहाँहरुले बहिष्कार गरेको कारण हामीले बजेट तथा नीति कार्यक्रम ल्याउन सकेनौँ । खासमा राजस्व परामर्श समितिले आन्तरिक आय अनुमान नगरिकन बजेटले पूर्णता पाउदैन । त्यसो भएपछि वडा परिषद् गर्न, विषयगत समितिलाई अधिकार प्रदान गर्न समस्या हुन्छ । उप प्रमुखले राजस्व परामर्श समितिको हालसम्म बैठक बोलाउनु भएको छैन ।’
आन्तरिक आएको अनुमान नगरी मेयरको संयोजकत्वमा गठन हुने श्रोत अनुमान तथा बजेट सिमा निर्धारण समितिले बजेटको बाँडफाँड गर्न नसकेको प्रमुख उदासको भनाइ छ । समिति गठनमा कुनैपनि पूर्वाग्रह नराखी काम गर्दा पनि काममा बाधा पु¥याएको उदासले जानकारी दिए ।
‘यहाँ हलो अड्काएर गोरु चुट्ने प्रबृति देखिएको छ । यो नगरको हितमा छैन् । मैले कुनै पनि काममा हस्तक्षप गरेका अवस्था हैन् । उहाँहरुलाई धेरै पटक मैले छलफलमा बोलाउदा आउनु हुन्न । श्रोतको अनुमान गर्नु पर्ने त्यो काम पनि उप प्रमुखले गरेको अवस्था छैन । उहाँले त्यो काममा ढिला गर्दा नगरका धेरै काममा प्रत्यक्ष बाधा पुगेको छ । यो विषयमा यहाँका जनताले बुझ्न आवश्यक छ । म जनताको काम गर्न आएको मान्छे हुँ । तर मलाई चौतर्फि घेराबन्दीमा पारेर असफल बनाउने प्रयास भएको छ। मैले आफ्नो अधिकारलाईसमेत प्रयोग गर्ने अवस्था छैन’प्रमुख उदासले भने ।

उनीहरुले प्रयाप्त छलफल तथा परामर्श नगरि नगरसभा बोलाएको, विषयगत समितिको टुङ्गो नलगाएको,टोल तथा वडाको योजना तर्जुमा नगरिएको, बजेटको सिलिङ नबनाई नगरसभा बोलाएको लगाएत कुरामा असन्तुष्टी जनाएर सभा बहिष्कार गरेको उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार