अझै पनि समाजमा यथावत छ ‘बालश्रम’


गणेश विष्ट भोजपुर, ८ जेठ । समाजमा हुने विभिन्न खालका क्रियाकलापले भोजपुरमा बालश्रम तुलानात्मक रुपमा बढेको देखिएको छ । विषेश गरेर बाबुआमाको सम्वन्ध विच्छेद, परिवारिक मनमुटाब, वैदेशिक रोजगारीमा घरको ठुलो मान्छे जाने गरेका कारण बालश्रम बढेको हो । यसरी अभिभावकहरुले गर्ने गरेका क्रियाकलापले कलिलो बालमनस्पटलमा नकरात्मक धारणाकोसमेत विकास हुने गरेको छ । बालबालिकाको वृद्धि र विकासमा नकारात्मक असर पार्ने काम गराउनु नै बालश्रम हो । अर्को अर्थमा भन्दा बालबालिकालाई शिक्षा, खेलकुद, मनोरञ्जनका सट्टामा उनीहरूको शारीरिक, मानसिक, सामाजिक तथा नैतिक विकासको गतिविधिमा बाधा वा अवरोध हुने गरी सामाजिक वा आर्थिक लाभका लागि श्रममा लगाउनु बालश्रम हो ।

तर विभिन्न प्रावधान भएपनि विभिन्न कारण समाजमा बालश्रम भने भइरहेको छ । बाबुआमाको साहरा तथा माया ममता कम हुँदा उनीहरु बाध्यताले श्रम गरिरहेका छन् । केहि स्थानमा भेटिएका यस्ता वालश्रमिकहरुले श्रम गर्नु आफ्नो बाध्यता रहेको बताए । साल्पासिलिछो गाउँपालिकाका एक १४ वर्षीय बालक सडक निर्माण भइरहेको ठाउँमा काम गरिरहेको अवस्थामा भेटिए । उनले श्रम गर्नुको कारण बाबुआमाको सम्बन्ध विच्छेद रहेको बताए ।
उनले भने, ‘म अहिले विद्यालय जान छोडेर सडकमा ढुङ्गा बोक्ने गिटी कुट्ने काम गरिरहेको छु । बुवाममि एक ठाउँमा हुनुहुन्न् । उहाँहरुको सम्बन्ध विच्छेद भएपछि बुवाले अर्की आमा ल्याउनु भयो । अरु दुई जना भाइबैनी छन् । उनीहरुलाई मैले हेर्नु पर्छ । उनीहरुको लागि काम गर्न आएको ।’
त्यस्तै गरेर बुवाआमा बैदेशिक रोजगारीमा विदेश जाने क्रमले पनि बालवालिकाहरु श्रम गरिरहेका छन् । टेम्केमैयुङ गाउँपालिका ५ का १७ वर्षीय बालक घरमा बारी जोत्ने र अर्मपर्म गरिरहेका छन् । उनीको काधमा घरपरिवार धान्ने जिम्मेवारी छ । बुवा विदेशमा भएको कारण बाध्यभएर काम गर्नु परेको बताए । उनी अहिले विद्यालय छाडेर श्रम गरिहेका छन् ।
उनले भने, ‘पढ्न मन छ तर घरको अवस्था कमजोर छ । वुवाविदेश जानु भएको त्यहा गएपछि सम्पर्कमा हुनुहुन्न । मलेशियामा विवाह गरेर बस्नु भएको छ भन्ने खबर छ । ममि पनि धेरै बर्षअघिबाट विरामी हुनुहुन्छ । परिवारको जीवनयापनको लागि काम गर्नु पर्छ ।’’
भोजपुरको टेम्मैयुङ गाउँपालिकामा रहेको अन्नपूर्ण बागधन रणदिपा राई माध्यमिक विद्यालयका प्रध्यानाध्यमक डम्बर राईका अनुसार कक्षा १ मा भर्ना भएका विद्यार्थी मध्ये ६० प्रतिशत विद्यार्थी मात्र कक्षा दशमा पुग्ने गरेका छन् । विद्यालयमा विद्यार्थीहरुको उपस्थिति न्यून हुने र प्राय गरेर परिक्षाको समयमा केहि विद्यार्थी उपस्थित हुने गरेका छन् । प्रधानध्यापक राईले भने, ‘ कक्षा १ मा भर्ना भएका विद्यार्थीहरु मध्ये करिव ६० प्रतिशत विद्यार्थी मात्र कक्षा १० सम्म पुग्ने गरेका छन् । यहाँका धेरै वालबालिकाहरु वालश्रम गरिरहेका नै हुन्छन् ।’
विद्यालयमा भर्ना भएका कक्षा १० अध्यन गर्दै आएका भलाराज सार्की, कक्षा ७ मा पढ्ने शिशिर परियार, कक्षा ६ मा पढ्ने शनिस राई लगाएत विद्यार्थीहरु अहिले पनि विद्यालय छोडेर बालश्रम गरिरहेको विद्यालयले जनाएको छ । त्यस्तै वालविवाहका कारण सोही विद्यालयमा कक्षा १० मा पढ्ने छात्रा प्रमिला थापाले पनि विद्यालय छाडेको प्रअ राईले बताउनुभयो । यसरी बालबालिकाहरु कुनै न कुनै तवरले बालश्रममा जोडिने गरेको विद्यालयको भनाइ छ ।
खास गरेर विद्यालय छाडेर श्रम गर्नेमा दलित तथा विपन्न परिवारका बालवालिका बढी रहेको विद्यालयले जनाएको छ । विद्यालय छाडेका १३ वर्षीय शिशिर परियारले परिवारमा आर्थिक समस्या भएको कारण विद्यालय छाडेर काम गर्न थालेको बताए । परिवारले भने,‘परिवारको आर्थिक अवस्था कमजोर छ । छाक टार्न नै समस्या हुन्छ । मैले बाहिर सकेको काम गरेर केहि भएपनि परिवारको आर्थिक भार धानेको छु । म जस्ता अरु सार्थीहरु पनि छन् । हामी आवश्यकता अनुसार सडक, लकडी तथा गाउँमा खेतला जान्छौँ । यसरी काम गर्दा दैनिक रु.२५० देखी चार सय सम्म पैसा दिन्छन् । त्यही काम पनि नियमित हुन्न ।’’
विद्यालय छाडेर किन काममा लागेको भन्ने प्रश्नमा परियारले भने,‘सर पढ्न मन नभएर हैन। गाउँघरमा हामीले गर्ने नै यस्तै हो । काम नगरी हुन्न । केहि वर्ष अघिसम्म त मिलाएर काम गरेर स्कुल जादै थिए । अहिले त फुर्सद हुन छाड्यो । अनि विद्यालय छाडेर काममा जान थालेको छु ।’
निरन्तर पास हुन नसक्नु, विद्यालय तथा सहपाठी साथीहरुबाट हुने व्यवहारको कारण पनि विद्यालय पढाई छोडेर बालश्रममा लागेका उदाहरण पनि समाजमा देखिन्छन् । पठनपाठनको शैली तथा सिकाईमा अवल बन्न नसक्दा पनि वालवालिकाले विद्यालय छाड्ने गरेका छन् । अध्ययनसँगै विद्यालयमा हुने विभिन्न प्रतियोगिता तथा अतिरिक्त क्रियाकलापहरुमा आफु सक्षम रहेको देखाउन नसक्दा पनि विद्यार्थीहरुले पढाई छाड्ने गरेको देखिएको छ ।
भोजपुरको अरुण गाउँपालिकाका गत वर्षबाट विद्यालय छाडेका १४ वर्षका एक विद्यार्थीले शिक्षक तथा आफ्ना सहपाठी साथीहरुले आफु कम्जोर भएको कारण जिस्काउने, अपमान गर्ने लगाएत व्यवहार गरेकोले विद्यालय छाडेका बताए । उनले भने,‘ मैले कक्षा ९ बाट विद्यालय जान छाडे । त्यही कक्षामा दुई वर्ष पढीसके पास हुन सकिन । धेरै पटक फेल भएपछि साथीहरुले जिस्काउन थाले । त्यही भएर स्कुल जान मन लागेन त्यतिकै पढाई नै छोडियो’ ।
विद्यालय उमेर समूहमा हुने माया प्रेमले पनि विद्याथीहरुले सानो उमेरमा विद्यालय छाडेर अन्य काममा लागेको देखिएको छ । खास गरेर विद्यालयमा एक अर्कालाई मन पराउने उनीहरुको त्यो सम्वन्ध शिक्षक, विद्यार्थी तथा अभिवावकसम्म पुगेपछि विद्यालय छाडेर वालविवाहसमेत गर्ने गरेका छन् । जुन कार्य अहिले समाजमा समस्याको रुपमा विकास भईरहेको छ ।
सिकाइ निरन्तरतामा पहुँच नहुने, विद्यालय संचालनपछि विद्यालय छाड्ने र बालश्रमको उच्च जोखिममा पर्ने हुुँदा सोको पहिचान र न्यूनतम आवश्यक सेवाको तत्काल व्यवस्था गर्न अवश्यक रहेको समाजका जानकारहरुले बताउने गरेका छन् ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिका ९ शिंहदेवी माध्यमिक विद्यालयका शिक्षक राजधन राईले विद्यार्थीहरु पटक पटक अनुउर्तिण हुँदा पनि विद्यालय छाड्ने गरेको बताए । उनले भने,‘ विद्यालय छाड्ने मुख्य कारण एउटै कक्षामा पटक पटक फेल हुनु पनि हो । समाजिक सञ्चालन तथा बढ्दो प्रविधिको कारण विद्यालयको सिकाई उपलब्धि खस्किएको छ । उनीहरुको बढी ध्यान मोवाइल फेसबुक तथा अन्य सामाजिक सञ्जालमा जाने हुनाले पनि फेल हुने गरेका छन् । समाजिक सञ्जालका कारण पनि विद्याथीहरुमा विद्यालय छाड्ने लहर बढेको छ । धेरै जसो विद्यार्थीहरुमा मेहनत गरेर अध्यायन गर्ने बानीको विकास घट्दै गइरहेको अवस्था छ ।’
खास गरे विद्यालय उमेरका बालवालिकाहरु सडक निर्माणमा, लकडी बोक्ने, सार्वजनिक यातायातमा काम गर्ने गरेका छन् । त्यो बाहेक यस क्षेत्रका बालबालिकाहरु भारतमासमेत काम गर्न जाने गरेको विद्यालयले जनाएको छ । प्रअ राईले भन्नुभयो,‘ विद्यालयमा भर्ना अभियान चलाउछौँ । बालवालिका भर्ना पनि हुन्छन् । तर ग्रामिण क्षेत्र भएकोले गरिवीका कारण उनीहरुलाई श्रम गर्नु पर्ने बाध्यता छ । खास गरेर चेतना नभएको भन्दा पनि सामाजिक परिवेशका कारण पनि पछिल्लो समय बालश्रम बढेको मेरो बुझाई छ ।’
गरिवीका कारणले पनि बालश्रम बढेको प्रध्यानध्यापक राईले बताउनुभयो । त्यस्तै सानै उमेरमा विवाह गर्ने कारण पनि उनीहरु श्रम गर्न बाध्य भएको पाइएको छ । उमेर नपुगी विवाह गर्दा पारिवारिक बोजले उनीहरुले श्रम गर्नु पर्ने अवस्था रहेको छ ।
गाउँघरको परिवेशमा कुनै कुनै तवरबाट वालवालिका बालश्रम गर्न बाध्य रहेको टेम्केमैयुङ गाउँपालिका ५ का स्थानीय कृतिमान विष्टले बताए । खास गरेर १० देखी १८ वर्षसम्मका बालबालिका यसबाट प्रभावित हुने गरेको उनको भनाइ छ । स्थानीयबासी विष्टले भने,‘बालश्रम अन्त्यका लागि राज्यको तहबाट जति नै प्रयास भएपनि त्यो कार्यान्वयन भएको पाईदैन । अहिले पनि गाउँघरका वालबालिका श्रम नै गरिरहेका छन् । विशेष गरेर यातयात क्षेत्र र होटलमा धेरै बालवालिकाले श्रम गरिरहेका छन् । यस्ता कुरामा राज्यले नै ध्यान दिनुपर्ने हो ।’
जिल्ला अदालत भोजपुरको तथ्याङक अनुसार महिनामा १५÷१६ जनाले सम्वन्ध विच्छेद गर्ने गरेका छन् । सम्वन्ध विच्छेदका कारण पनि बालश्रम बढेको जिल्ला अदालत भोजपुरका श्रेस्तेदार नवराज कार्कीको भनाई छ ।
नेपालको संविधानको मौलिक हकको धारा ३९ (४) मा बालबालिकालाई जोखिमपूर्ण श्रममा लगाउन नपाइने, धारा ५१ राज्यका नीति अन्तर्गत झ (३) बालश्रम लगायत सबै श्रमका शोषण अन्त्यका प्रतिबद्धता गरेको छ । संविधानमा यो व्यवस्था भएपनि अहिले पनि धेरै बालवालिका विभिन्न कारणले बालश्रम गर्न बाध्यछन् ।

खास गरेर १४ देखि १८ वर्षसम्मका बालबालिकालाई सामान्य काममा लगाउन सकिन्छ तर बालश्रम ऐन २०५६ ले ११ प्रकारका कामलाई जोखिमपूर्ण कामको सूचीमा राखेर त्यस्तो काममा लगाउन नपाईन स्पष्ट व्यवस्था छ । जसमा बाल भरिया, सडक बालबालिका, बालबालिकाको बेचबिखन, बालविधुवा बालश्रम, घरेलु बालश्रमिक, सडक निर्माण क्षेत्रमा काम गर्ने बालश्रमिक र कोइला तथा अन्य खानीमा काम गर्ने बालश्रमिक यस भित्र पर्दछन् ।

विभिन्न कारणले बालबालिकालाई उमेर अनुसार उनको वृद्धि र विकासमा नकारात्मक असर पुग्ने खालका कार्य गराउनु बालश्रम हो । समाजमा विद्यमान यस्ता खालका क्रियाकलापले बालबालिकालाई सामाजिकीकरण र जीवन जिउने सीपको विकासमा असर पु¥याउने गर्दछ । नेपालको कानूनले बालबालिकाको उमेरका आधारमा स्वीकार्य र अस्वीकार्य कामहरू निर्धारण गरेको छ । कानुनी प्रावधान अनुसार १४ वर्ष उमेर नपुगेका बालबालिकालाई श्रममा लगाउनु दण्डनीय हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार