भोजपुर १ मंसिर। ‘स्वेच्छिक कर सहभागितामा अभिवृद्धि सुशासन, विकास र समृद्धि’ भन्ने नाराका साथ भोजपुरमा १० औँ राष्ट्रिय कर दिवस मनाईएको छ । बुधबार सदरमुकाम स्थित डाडाँगाउबाट उद्योग वाणिज्य संघको कार्यालयसम्म प्रभात फेरी गरि कार्यक्रम शुरुगरिएको हो । करदाता मैत्री कार्य प्रणाली अवलम्बन गरी स्वेच्छिक कर सहभागिता बढाउने, कर सहभागिता लागत र सञ्चालन लागत न्यून गर्दै करको दायरा विस्तार गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको करदाता सेवा कार्यालय भोजपुरका प्रमुख रुपक न्यौपानेले बताए । कार्यालय स्थापाना भए पश्चात जिल्लामा १४ करोड बढी राजस्व संकलन भएको छ ।
वस्तु, सेवामा लाग्ने कर, आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्कलगायतको १४ करोड,१३ लाख,६६ हजार राजस्व संकलन भएको करदाता सेवा भोजपुरले जनाएको छ । जिल्लामै कार्यालय स्थापना भएपछि भोजपुरका सेवाग्राहीलाई सेवालिन सहज भएको सरोकारवालाले बताएका छन् । उद्योग वाणिज्य संघ भोजपुरको सभाहलमा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बासुप्रसाद कोईराला विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधी उद्योग बाणिज्य संघ, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधी लगाएतको सहभागिता रहेको थियो ।