प्रचण्डको सन्देश लिएर दसैं मान्न दलित बस्ती पुगे सुदन किराती


भोजपुर, २९ असोज ।

नेकपा (माओवादी केन्द्र) का संघीय सांसद सुदन किराती दसैं मान्न दलित बस्ती पुगेका छन्।  सदियौंदेखि बालिघरे प्रथामा लुगा सिउने दर्जी र फलामको औजार बनाउने विश्वकर्मा समुदायलाई कपडा पनि उपहारस्वरुप वितरण गर्दै किरातीले उनीहरुसँगै दसैं मनाएका हुन् ।

भोजपुरको रामप्रसाद राई गाउँपालिका-१ ओख्रे निवासी मिठे दर्जी, मनकुमारी दर्जी, धुँवासे दर्जी बुधमाया दर्जी र पवित्रा विश्वकर्मालाई उनले एकसरो कपडा प्रदान गरेका छन्।किरातीले उनीहरुलाई दौरा सुरुवाल र चोलो, पछ्यौरी उपहारस्वरुप प्रदान गर्दै ढोगभेट गरेका हुन्। किराती संस्कृतिमा ढोगभेट गर्दै उनीहरुसँग खानपिन गरेर दसैं मनाएका हुन् ।

‘दसैंको समयमा श्रमको मुल्य उठाउन सुँगुरको पुच्छर र एकमाना चामल लिन घरघर आएर आफूले खाएको थाल भाँडा आफैँले धोएर विगतमा जाने गरिन्थ्यो’, किरातीले भने, ‘आज उनीहरु वृद्ध भए। त्यसैले म मेरा बाआमा जस्तै देखिने उनीहरुको घर पुगेर उहाँहरूसँगै सुख दुःखका कुराहरु गरेँ।’किरातीले मुलुकमा गणतन्त्र मात्रै आएको बताउँदै तर गणतान्त्रिक संस्कृति निर्माण हुन नसकेकोमा आत्मआलोचित समेत भएको बताए।

‘दलित समुदायका मानिसहरु अझै पनि मानिसको दर्जामा समाजमा स्थापित हुन सकेका छैनन्। तर संविधानमा भने जातीय विभेद र छुवाछुत प्रथा अन्त्य भएको छ’, उनले भने, ‘यी प्रगतिशील संविधानलाई रक्षा गर्न र व्यवहारत: कार्यान्वयनका निम्ति सम्पूर्ण देशवासी दलितहरुलाई एकजुट हुन आह्वान गरेको छु।’

त्यति मात्रै होइन, विगतमा आफ्नो पुर्खाहरुले जानअञ्जानमा गरेको छुवाछुत जस्तो जघन्य गल्तीप्रति आत्मपश्चाताप गर्दै दलितहरुसँग माफी समेत मागेको किरातीले बताए।दसैं मनाउन छाडेका किरातीले विगत वर्षहरुमा जिल्लाका कृषि फर्ममा श्रम गरेर बिताउँथे। तर यसवर्ष बालिघरे मान्ने दर्जी र विश्वकर्माहरूको घरमा गएको उनले बताए।

उनी काठमाडौंबाट गाँउ जानुअघि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटेका थिए। उनले प्रचण्डलाई पनि आफ्नो दसैं योजना सुनाएका थिए।  उनले प्रचण्डको समेत शुभकामना लिएर दलित समुदायको बस्तीमा पुगेको बताए। आफैंले जिताएको सांसद आफ्नो घरमा आइपुगेर सँगै दसैं मान्न पाउँदा दलित समुदायका परिवार पनि खुसी भएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार