कार्यालय स्थापनाको वर्ष दिन नपुग्दै भोजपुरमा उठ्यो रु १७ करोड बढी राजस्व


भोजपुर, २२ भदौ । भोजपुरमा करको दायरामा आउने मानिसको संख्यामा वृद्धि भएको छ । गत वर्ष जिल्लामा कार्यालय स्थापना भएपछि करको दायरामा आउनेको संख्यामा उल्लेख्य रूपमा वृद्धि भएको कार्यालयले जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०७७र७८ मा रु। १४ करोड १३ लाख ६६ हजार राजस्व संकलन भइसकेको र कर तिर्न आउनेको संख्या जारी रहेकोले यो रकम अझ बढ्ने कर अधिकृत रूपक न्यौपानेले जानकारी दिए । अधिकृत न्यौपानेले भने,‘ कार्यालय स्थापना भएर यहीबाट सेवा सञ्चालनमा आएपछि करको दायरामा आउने मानिसहरूको संख्या उल्लेख्य रहेको छ । यो आर्थिक वर्षको पहिलो महिना ९साउन० मा मात्र रु। तीन करोड राजस्व संकलन भएको छ ।’

कार्यालय स्थापना हुँदाको अवस्थामा तीन हजार ८ सय ९३ करदाता रहेकोमा एक वर्षको अवधिमा दुई हजार ३२१ नयाँ करदाता थपिएर अहिले छ हजार २१४ पुगेको अधिकृत न्यौपानेले बताए । ‘‘करदाताको संख्या झण्डै ५० प्रतिशतले बढेको छ । यो यही कार्यालय स्थापना भएको सकारात्मक प्रभाव पनि हो । हुन त अन्य ठाउँको तुलनामा खासै ठुलो रकम त होइन यद्यपि यहाँको बजारको अवस्था, भूगोल, जनसंख्या, उद्योग व्यवसायलाई हेर्दा यो धेरै ठुलो उपलब्धि हो ।’’कर अधिकृत न्यौपानेले भने,‘ हामीले कर सम्बन्धी सचेतनामूलक कार्यक्रम गर्दै आएका छौँ । सेवाग्राहीको कामलाई छिटो छरितो बनाउँदै काममा प्रभावकारिता कायम गरिरहेका छौँ । जसको कारण पनि करदाताको संख्या दैनिक रूपमा थपिँदै गएको अवस्था छ । कार्यालय स्थापनाको एक वर्ष पनि पुगेको छैन, त्यसैले केही वर्षपछि यसमा अझ विकास हुने अवस्था छ ।’

हालसम्म आयकर रु। नौ करोड ६८ लाख ३२ हजार, घर बहाल कर रु। एक करोड २४ लाख ७२ हजार, ब्याज कर रु। आठ लाख २५ हजार, मूल्य अभिवृद्धि कर रु। छ करोड २२ हजार र अन्त शुल्क रु। १८ लाख ५४ हजार संकलन भएको कार्यालयले जनाएको छ । जिल्लामा कार्यालय स्थापना भएपछि भोजपुरका सेवाग्राहीलाई सेवा लिन सहज भएसँगै करको दायरामा आउनेको संख्या दिनानुदिन बढी रहेको कार्यालयको भनाइ छ । विगतका दिनमा कार्यालय नहुँदा कर तिर्नको लागि तीन दिन लगाएर धरान धनकुटा पुग्नु पर्ने बाध्यता थियो ।
तर गत वर्षको असोज महिनामा यहाँ नै कार्यालय स्थापना भएपछि स्थानीयको त्यो अवस्था अन्त्य भएको छ ।

स्थानीय आङलाक्पा लामाले भने,‘ ढिलै भएपनि जिल्लामा कार्यालय स्थापना भएको छ । विगतका दिनमा चारदिनसम्म लगाएर कर तिर्न गएको तितो अनुभव छ । तर अहिले आफ्नै जिल्लामा कर तिर्न पाउँदा निकै खुसी लागेको छ । यसले हामी जस्ता सर्वसाधारणलाई निकै ठुलो सेवा पुगेको छ ।’ कार्यालय आसपासमा बैंकका शाखा नभएकाले बैक मार्फत राजस्व भुक्तानी गर्न केही झन्झट भएकोले नजिकै बैंकको शाखा स्थापना गर्नु पने उनीहरूको माग छ ।

कार्यालय स्थापना भएपनि कर तिर्नमा स्थानीयहरू जागरूक भएको कार्यालयको भनाइ छ । साना करदाताहरूले असोज मसान्तसम्म कर बुझाउन सक्ने कार्यालयले जनाएको छ । साना व्यवसायीहरूलाई कर तिर्न, स्थायी लेखा नम्बर लिन लगायत काम गर्न सहज भएको छ । करदाता सेवा कार्यालयमा अनलाइन सेवा समेत सञ्चालन भएकोले २० लाखसम्मको कारोबार गर्ने निजी फर्म तथा उद्यमीहरूले घरबाटै कर तिर्न सक्ने समेत कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार