भोजपुर च्याङ्ग्रेका जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण


भोजपुर, ३ पुस । पौवादुङमा गाउँपालिका–३ च्याङग्रेका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । जाडो मौसम शुरु भएसंगै ज्येष्ठ नागरिकको सम्मान स्वरुप ६० वर्ष माथिका २० जना ज्येष्ठ नागरिकलाई वडा कार्यालयले न्यानो कपडा वितरण गरेको हो । जिउँदो इतिहासका रुपमा रहेका उनीहरुलाई स्थानीय सरकार रहेको अनुभूति दिलाउने लक्ष्यले सम्मान गरेको वडाध्यक्ष तीर्थ बहादुर कार्कीले जानकारी दिए । सम्मान कार्यक्रममा बोल्दै वडाध्यक्ष कार्कीले भने,‘हामीले विगतका वर्षहरुबाट नै उहाँहरुलाई सम्मान स्वरुप विभिन्न सहयोग गर्दै आएका छौँ, गत बर्ष हामीले पौष्टिक आहार वितरण गरेका थियौँ भने यस वर्ष न्यानो कपडा वितरण गरेका छौँ, साथै उहाँहरुलाई समाजिक सुरक्षा भक्ता सहज रुपमा वितरण गर्ने व्यवस्था मिलाएका छौँ ।’

गाउँपालिका उपाध्यक्ष सम्झना राईले बृद्ध बृदाहरुको हकहित तथा सहयोगको लागि गाउँपालिकाले विभिन्न खाले कार्यक्रम मार्फत सहयोग गरिरहेको बताए । साथै उनले मानेडाँडा स्वास्थ्य अस्पातालबाट भिडियो एक्सरे, इसिजि र ल्याव निःशुल्क व्यवस्था मिलाएको जानकारी दिए ।‘हामीले सरकार भएको अनुभूति दिलाउन सवै वडामा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम लगाएत विभिन्न खालका लक्षित कार्यक्रम सञ्चालन गरिरहेका छौँ, प्रदेश सरकार र गाउँपालिकाको सहकार्यमा ‘प्रदेश प्रमुख दन्त उपहार’ कार्यक्रम सञ्चालन गरेर निःशुल्क दात लगाई दिने तयारीमा रहेका छौँ ।’’ उपाध्यक्ष राईले भनिन् ‘बृद्धबृद्धाहरुको लागि एम्वुलेन्स सेवामा ५० प्रतिशत छुट दिएका छौँ भने स्वास्थ्य शिविर मार्फत निःशुल्क उपचार समेत सञ्चालन गरिरहेका छौँ ।’

न्यानो कपडा पाएसंगै उनीहरुले खुसी ब्यक्त गरेका छन् । स्थानीय ८९ वर्षीय टंकमाया कार्कीले भनिन्,‘हामीले वेला वेलामा सहयोग पाईरहेका छौँ, यो जाडोमा वडा कार्यालयले सहयोग गर्यो, हामीलाई धेरै खुसी लागेको छ, सरकारको सहयोग नपाएको भए हामीलाई धेरै समस्या हुन्थ्यो ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार