अतिविपन्न १५२ घरपरिवारलाई सोलारसंगै दोश्रो चरणको राहत वितरण


भोजपुर, २९ असार । भोजपुरको पौवादुङमा गाउँपालिकाले अतिविपन्न तथा गरिव परिवारलाई सोलार सेटसंगै दोश्रो चरणको राहत वितरण गरेको छ । गाउँपालिका भित्रका सबै वडाका १५२ घर परिवारलाई २० वाट क्षमताको सोलार सेट र राहत वितरण गरेको हो । तत्काल विद्युत सेवा पुग्न नसकेका भौगोलिक विकटता भएको स्थानमा रहेका स्थानीयलाई लक्षित गरेर सोलार वितरण गरिएको गाउँपालिकाले जनाएको छ । अतिविपन्न घरपरिवारलाई विद्युतको पहुँच पु¥याउने उद्धेश्यले सोलार सेट वितरण गरिएको गाउँपालिका अध्यक्ष किरण राईले बताए ।

अध्यक्ष राईले भने,‘ गाउँपालिकामा केन्द्रिय प्रसारण लाइन वितरणको काम भइरहेको छ तर भौगोलिक रुपमा विकट रहेका स्थानमा विद्युतको पहँच विस्तार हुन केहि समय लाग्ने भएको तत्कालको लागि सोलार वितरण गरेका हौ, अहिले ग्रामिण भेगका अतिगरिव विपन्न दलित एकल महिलाहरुको घर पहिचान गरेर सोलार दिएका हौ, विद्युत विस्तारमा काम भइरहेको भएपनि हाललाई कोहि नागरिक पनि उज्यालोबाट बञ्चित नहुन भन्ने उद्धेश्यका साथ सोलार दिएका हौ ।’ गाउँपालिकाले सोलारसंगै ती विपन्न परिवारलाई दोश्रो चरणको राहत समेत वितरण गरेको छ । यस अघि गत वर्षको सुख्खा खडरी, अमेरीकन फौजी किरा लगाएतबाट प्रभावित करिव तीन हजार स्थानीयलाई राहत दिएको भएपनि दोश्रो चरणमा विपन्न परिवारलाई मात्र राहत दिएको गाउँपालिका उपाध्यक्ष सम्झना राईले जानकारी दिइन् ।

उपाध्यक्ष राईले भनिन्,‘ कार्यपालिकाको निर्णय अनुसार हामीले आर्थिक अवस्था कमजोर भएका अतिविपन्न परिवारलाई दोश्रो चरणमा राहत वितरण गरेका छौ, स्थानीयलाई यो संकटको अवस्थामा सरकार छ भन्ने अनुभूति गराउन हामी लागि परेका छौ, अन्य क्षेत्रमा पनि विभिन्न विपन्न परिवार लक्षित कार्यक्रम गरिरहेका छौ ।’

आगामी दिनमा कोरोनाको संक्रमणको अवस्था झन जटिल बन्दै गए अन्य नागरिकहरुलाई राहत वितरण गर्ने योजना रहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश राईले जानकारी दिए । प्रमुख प्रशासकिय अधिकृत राईले भने,‘ हामी कोरोना संक्रमण नियन्त्रणका लागि सबै सम्यन्त्र परिचालन गरेर लागि परेका छौ, यसको संक्रमण बढ्दै गएमा पहिचान गरेर अर्को चरणको पनि वितरण गर्ने तयारीमा छौ ।’

गाउँपालिकाको संघीय सरकारको ससर्त अनुदान तर्फको बैकल्पीक सौर्य उर्जा कार्यक्रम अन्तर्गत आएको ११ लाख ३१ हजार बजेटबाट वडा नं.–१ श्यामशिलाका २५ परिवार वडा नं.–२ तिवरीभञ्याङका १५ परिवार, वडा नं.– ३ च्याङ्ग्रेका २० परिवार, वडा नं.– ४ बास्तिमका ३३ परिवारलाई सोलार वितरण गरेको हो । त्यस्तै वडा नं.– ५ सानोदुम्माका २५ परिवार र वडा नं. ६ ठुलोदुम्माका ३० गरि १५२ घर परिवारलाई सोलार सेट वितरण गरिएको प्रमुख प्रशासकिय अधिकृत राईले बताए ।

ग्रामिण भेगमा तत्काल विद्युत पु¥याउन नसकिरहेको अवस्थामा गाउँपालिकाले विपन्न परिवारलाई सोलार वितरण कार्यक्रम प्रभावकारी रहेको रहेको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले बताए ।

प्रजिअ पुरीले भने,‘ गाउँपालिकामा विद्युत विस्तारको काम त भइरहेको रहेछ, तर तत्कालको समस्या समाधानको लागि गाउँपालिकाले सोलार वितरण गर्नु राम्रो काम हो, यसले पनि स्थानीयमा केहि राहत पुग्छ ।’

गाउँपालिकाले सोलार वितरण गरेपछि स्थानिय खुशी भएका छन् । आर्थिक अभावका कारण टुकिको उज्यालोमा वस्नु पर्ने वाध्यताको अन्त्य भएको उनीहरुको भनाइ छ । स्थानीय पासाङ तामाङले भने,‘ भौगोलिक विकटताका कारण हाम्रो ठाउँमा विद्युत आउन ढिलाई भयो, अहिले गाउँपालिकाले सोलार दिएको छ, यसले पनि टुकीको अध्यारोमा बस्नु पर्ने अवस्था अन्त्य हुन्छ भन्ने आशा गरेको छु ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार