१४२ सुत्केरी तथा गर्भवती महिलालाई पोषणयुक्त सामग्री वितरण


भोजपुर, ४ असार । भोजपुरको पौवादुङमा गाउँपालिकाले सुत्केरी तथा गर्भवती महिलालाई पोषणयुक्त सामग्री वितरण गरेको छ । गाउँपालिकाले लकडाउनको समयमा पनि पोषणमा कमि नहोस भन्ने लक्ष्यका साथ गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्यलाई ध्यानमा राख्दै १ सय ४२ जना सुत्केरी तथा गर्भवती महिलालाई पोषणयुक्त सामग्रीसंगै स्वास्थ्य सामग्री वितरण गरेको हो । गाउँपालिकाले ३८ जना सुत्केरी र १ सय ४ जना गर्भवती महिलालाई स्थानीय स्तरमा उत्पादन भएका घ्यू, एक क्यारेट अण्डा, भटमास, चना, मटर, तोरीको तेल वितरण गरेको छ । त्यस्तै आयोडिन युक्त नून, क्याल्सियम, आईरन चक्की, भिटामिनसंगै नुहाउने तथा कपडा धुने साबुन लगाएत १३ प्रकारका सामग्री पनि वितरण गरेको गाउँपालिकाले जनाएको छ ।

सुत्केरी तथा गर्भवती महिलालाई पोषणको अभाव हुन नदिन विगतका वर्षहरुमा पनि गाउँपालिकाको नीति तथा कार्यक्रम अनुसार पोषणयुक्त सामग्री वितरण गर्दै आएको भएपनि यस वर्ष विषेश गरेर लकडाउनको समयलाई ध्यानमा राखेर स्वास्थ्यको क्षेत्रमा काम गरिरहेको गाउँपालिका उपाध्यक्ष सम्झना राईले जानकारी दिइन् । उपाध्यक्ष राईले भनिन्, ‘हामीले अन्य क्षेत्रसंगै सुत्केरी तथा गर्भवती महिलाको स्वास्थ्यलाई ध्यानमा राख्दै विभिन्न खालका कार्यक्रम सञ्चालन गरिरहेका छौ, यस वर्ष हामीले पोषण राहत कार्यक्रम अन्र्तगत १ सय ४२ जना महिलालाई पोषणयुक्त सामग्री हस्तान्तरण गरेका छौ ।’

गाउँपालिकाले घरमा सुत्केरी गराउने चलनको अन्त्य गर्ने लक्ष्यका लिएर गतिविधि सञ्चालन गरिरहेको उनको भनाइ छ । जसको लागि गाउँपालिकाका सवै वडामा सुविधायुक्त वर्थिङ सेन्टर निर्माण गर्ने योजनाका साथ काम भईरहेको बताइन् । ‘हाम्रो लक्ष्य भनेको घरमा सुत्केरी हुने प्रथालाई अन्त्य गर्ने हो, यस अनुरुप काम पनि भईरहेको छ, लकडाउन सुरु भएको चैत्र ११ गते बाट हाल सम्म  ३८ जना सुत्केरी भएका मध्ये ३२ जनाले स्वास्थ्य संस्थामा बच्चा जन्माउनु भएको छ, ६ जनाले भने वडामा बर्थिङ सेन्टर नहुँदा गाउँपालिकामा ल्याउने तयारी गर्दा गर्दै बच्चा जन्माउनु भएको छ, यसलाई पनि हामी शुन्य पार्छौ, गाउँपालिकाका सवै गर्भवती महिलाले नियमित रुपमा स्वास्थ्य संस्थामा आएर गर्भ जाँच गराई रहनु भएको छ ।’ उपाध्यक्ष राईले भनिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार