जिल्ला अस्पताल सिरहामा पाइदैन निःशुल्क औषधी


सिरहा ,बैसाख । जिल्ला अस्पतालमा ७० प्रकारका औषधि निःशुल्क पाउनु पर्ने हो । तर, सिरहा जिल्ला अस्पतालमा सामान्य समस्यामा प्रयोग गर्ने औषधिदेखि अत्यावश्यक स्लाइन पानीसम्म छैन । पेट दुखेर जिल्ला अस्पताल पुग्ने बिरामी पनि औषधिका लागि निजी मेडिकलतिर दगुर्न बाध्य छन् । तर, जिल्ला अस्पताललाई औषधि पूर्ति गर्ने जिम्मा पाएको सिरहा नगरपालिकाले भने दुई महिनाअघि किनेको औषधि भण्डारमा थुपारेर राखेको छ । नगरपालिकाले ७ लाख २४ हजारको औषधि खरिद गरेर भण्डारमा थुपार्दा औषधिविहीन अस्पताल भने बिरामीलाई निजी मेडिकलतिर पठाउन बाध्य छ ।

जिल्ला अस्पतालका स्टोरकिपर उमेश गौड शरीरमा चोट लाग्दा लगाउने बेटाडिनदेखि घाउ पुछ्ने कपास र ब्यान्डेजसम्म नभएको बताउँछन् । उनका अनुसार रुघाखोकी र ज्वरोका बिरामीलाई चाहिने एजिथ्रोमाइसिन, क्लोक्सासिलिन क्याप्सुल, सिप्रोफ्लोक्सासिन, जेन्टामाइसिन, एमोक्सिसिलिनजस्ता अधिकांश एन्टिबायोटिक्स अस्पतालमा छैन । जुकाको औषधि अलबेन्डाजोल, एलर्जीमा दिइने गामाबेन्जिन हेक्साक्लोराइड, उच्च रक्तचापका बिरामीलाई दिइने एमलोडिपिन, एटिनोलोल र सुगरका रोगीलाई चाहिने मेटफर्मिन पनि छैन । झाडापखाला र निमोनियाको औषधि पनि नभएको गौडले बताए ।

दुई महिनासम्म भण्डारमा थुपारेपछि एक साताअघि नगरपालिकाले स–साना दुईवटा बोरामा जीवनजललगायत औषधि प्याक गरेर अस्पताल पठायो । तर, १० दिन पनि नपुग्ने भन्दै अस्पताल प्रमुख डा। नागेन्द्र यादवले बोरा नचलाउन कर्मचारीलाई निर्देशन दिएका छन् । औषधिका दुवै बोरा अस्पतालको भण्डारमा थन्किएका छन् । नगरपालिकाले अस्पताललाई १० थान आइपी सेट ९स्लाइन दिँदा प्रयोग हुने सुईसहितको सेट०पनि दिएको छ, जब कि अस्पतालमा स्लाइन नै छैन ।

टेन्डर गरेर आइभी सेट किने पनि स्लाइन नै नकिनेको जवाफ नगरपालिकाको छ । यस्तै, अस्पतालमा २५ सय पारासिटामोल ट्याब्लेट र सय थान प्यारासिटामोल सिरफ, ३ सय प्याकेट जीवनजल, ५ एमएलको २० थान सिरिन्ज, पखालामा दिइने मेट्रोनिडाजोल २५ सय ट्याब्लेट पठाएको छ । सिरहा नगरपालिकाको स्वास्थ्य शाखाका सहसंयोजक कामेश्वर परिहस्तले जिल्ला अस्पतालसहित सिरहा नगरक्षेत्रका सबै ११ स्वास्थ्य चौकी र एउटा सहरी क्लिनिकलाई बराबर औषधि वितरण गरेको बताए । बाँकी औषधि पनि बाँड्दै जाने उनले बताए । १९ लाख ५० हजार बराबरको औषधि खरिदको टेन्डर आह्वान भएकोमा गौतम मेडिकोले सबैभन्दा कम ७ लाख २४ हजारमा टेन्डर पारेर औषधि खरिद गरेको परिहस्तले बताए । यता कुकुरको टोकाईबाट घाईते भएकाहरु प्नि महँगो मूल्यमा एन्डी रेभिज भ्याक्सिन किन्नु पर्ने बाध्यता रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार