रोकिराखेको बसमा आगजनी


विराटनगर, २ बैसाख । मोरङको उर्लाबारी नगरपालिका–७ मा केही दिनदेखि रोकिराखेको यात्रु बोक्ने बसमा सोमबार विहान आगजनी गरिएको छ । सर्लाहीको लालबन्दी घर बताउने अन्दाजी ३० वर्षीय रामहरि माझीले बसमा आगजनी गरेको प्रहरीले जनाएको छ । माझीलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

उनले ना ४ ख ४९ नम्बरको बसमा विहान साढे ३ बजे तिर आगजनी गरेको प्रहरीले जनाएको छ । घटनास्थल नजिकै मालबाँसे पेट्रोल पम्प र केही घरहरु पनि रहेका थिए । प्रहरी र दमकलले तत्काल आगो नियन्त्रणमा लिन सकेका कारण आगो अन्यत्र फैलिएर ठूलो क्षति भने हुन नपाएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले बताए । उनका अनुसार आगजनीका कारण बसमा पूर्ण रुपमा क्षति पुगेको छ ।

मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीका अनुसार आगजनीमा संलग्न रहेका माझीमाथि आवश्यक अनुसन्धान थालिएको छ । माझी केही समयदेखि उर्लाबारीको एउटा होटलमा काम गर्दै आएको खुलेको छ । मादक पदार्थ सेवन गरेर होटलबाट आइतबार साँझ निस्किएको र राति उनी त्यही बसमा गएर सुतेको पनि प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । रातभर बसमा सुतेका उनले आफूसँग बोकेको लाइटरको प्रयोग गरेर विहान बसमा आगो लगाइदिएको एसपी केसीले बताए । होटल सञ्चालकले पनि माझी साँझ होटलबाट हिंडेपछि नफर्किएको र कहाँ गएको भन्ने बारेमा केही जानकारी नभएको प्रहरीलाई बताएका छन् ।

‘मापसे गरेर रातभर बसमै सुतें । विहानपख ब्यूँझिदा जाडो भइरहेको थियो,’ माझीलाई उद्रित गर्दै एक प्रहरीले भने, ‘साथमा लाइटर बोकेको थिएँ । जाडो भएको रिसमा त्यही लाइटर बालेर बसमा आगो लगाइदिंए ।’ बस कसको हो भन्ने बारे पनि खुलिसकेको छैन । घटनाका बारेमा कोही कसैले जाहेरी दिइनसकेको प्रहरीले जनाएको छ । सम्बन्धित धनीबाट जाहेरी परेपछि कानुनी कारवाही अघि बढाउन थप अनुसन्धान सुरु गरिने प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार