एकीकृत आवासगृह निर्माण सम्पन्न


चौतारा, १७ चैत । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ अन्तर्गत तेम्वाथाङमा भूकम्पपीडितका लागि निर्माण भइरहेको एकीकृत आवासगृहको निर्माण कार्य सम्पन्न भएको छ ।अक्सफाम नेपालको आर्थिक सहयोग, जनहित ग्रामीण सेवा समितिको साझेदारी र गाउँपालिकाको समन्वय तथा तेम्वाथाङ एकीकृत बस्ती केन्द्रको सहभागितामा भूकम्प प्रतिरोधी ४० घरको निर्माण कार्य प्रायः सम्पन्न भएको हो ।

सामान्य मर्मत तथा सरसफाइको काम मात्र बाँकी भए पनि आगामी वैशाख १२ गते भूकम्प गएकै समयमा हस्तान्तरण गरिने कार्यक्रम रहेको जनहित ग्रामीण सेवा समितिका निर्देशक राजेन्द्र्र शर्माले जानकारी दिनुभयो । “सामान्य झ्याल राखेर निर्माण गरिएको भए एक महीनाअघि नै सकिने थियो,” एकीकृत बस्ती केन्द्रका अध्यक्ष साङ्गे लामाले भन्नुभयो, “पुरानो मेच्र्याकुमाको नमूनामा नाम्दर गेसुम नामक झ्याल प्रत्येक घरमा एक÷एक वटा राखेर बनाउनु परेकाले ढिला भएको हो ।”

बुट्टेदार बुद्धको आकृति एवं ह्याल्मो संस्कृति झल्कने प्राचीन किसिमको उक्त झ्याल बनाउन एक जनालाई २७ देखि ३५ दिन समय लाग्दछ । भूकम्प जानुअघि हेलम्बुवासीका प्रत्येक घरमा त्यस प्रकारका झ्याल राखिएका थिए । त्यस प्रकारको झ्याल निर्माण गर्न अक्सफाम नेपाल र जनहितले स्थानीयवासीलाई १५ दिने सिकर्मी तालीम प्रदान गरेको थियो ।

त्यसैगरी पुनर्निर्माण प्राधिकरण र गाउँपालिकाले पनि थप १५ दिने सिकर्मी तालीम प्रदान गरेको थियो । एकीकृत बस्तीमा पार्क, सामुदायिक भवन, पर्यटकका लागि पाँच वटा घरवास र अर्गानिक फार्म हाउसको समेत निर्माण गरिएको छ । त्यसैगरी खानेपानी, बत्ती तथा सडकको समेत व्यवस्था गरिएको केन्द्रका अध्यक्ष लामाले बताउनुभयो । भूकम्पपीडितहरु विगत चार वर्षदेखि अस्थायी टहरामा बस्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार