पाकिस्तानी चेलीले एक महिनामै पाइन् नेपाली नागरिकता


काठमाडौं, ४ चैत । नागरिकता विधेयकबारे बहस चुलिएका बेला एक पाकिस्तानी चेलीले नेपालीसँग बिहेको एक महिनाभित्रै नेपाली नागरिकता पाएकी छन् ।बाग्लुङका सुधिन आचार्यसँग फेसबुकमा चिनजान भएर बिहे गरेकी पाकिस्तानी युवती आम्ना सफिकले बाग्लुङ जिल्ला प्रशासन कार्यालयबाट आइतबार नेपाली नागरिकता लिएकी हुन् ।

नागरिकतामा उनको नाम आम्ना सफिक आचार्य कायम भएको जिप्रकाले जानकारी दिएको छ ।सफिकले गत ३० फागुनमा नागरिकताका लागि निवेदन दिएको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले अनलाइनखबरलाई बताए । आइतबार प्रजिअ खरेल आफैंले आम्नालाई नागरिकता हस्तान्तरण गरेका थिए ।‘नेपाली नागरिकसँग अदालती बिहे गरेको र पाकिस्तानी नागरिकता त्यागेको प्रमाण पेश गरेका आधारमा उहाँलाई वैवाहिक अंगीकृत नागरिकता प्रदान गरिएको हो,’ प्रजिअ खरेलले अनलाइनखबरसँग भने ।

नेपालकी बुहारी आम्नाले अब नेपालमा स्थायी बसोबास गर्न सक्नेछिन् भने पाकिस्तान माइत जान त्यहाँको भिसा लिनुपर्ने छ ।सुधिन र आम्नाले गत फागुन १२ गते जिल्ला अदालत बाग्लुङमा कानूनी बिहे गरेका थिए । बिहेमा सुधिनका बुबा टीकाराम र आमा डिलमाया अदालतमा उपस्थित भएका थिए ।आम्नाका तर्फबाट कोही पनि अभिभावक थिएनन् । उनले आफ्नो पाकिस्तानी नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र र केही समयदेखि बाग्लुङ नगरपालिका १२ को अमलाचौरमा अस्थाई बसोबास गरेको सिफारिस पेश गरेकी थिइन् । उनले फोनबाटै आफ्ना बाबुआमासँग सहमति मागेकी थिइन् ।मुलुकी देवानी संहिता ०७४ को दवाफ ७७ बमोजिम दर्ता बिबाह गर्न केटा र केटी मञ्जुर भए न्यायाधीशले गराइदिन सक्ने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार