रुकुम । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा ५ करोडको लगानीमा जुस तथा वाइन उद्योग सञ्चालनमा आएको छ । वाइन उत्पादनका लागि कच्चा पदार्थ संकलन तथा प्रशोधनको काम भइरहेको छ । स्थानीय वनमा पाइने टिमुर संकलन गरी त्यसको प्रशोधन थालिएको छ ।
उद्योगमा आठबीसकोट नगरपालिकाको ४० प्रतिशत र नगरपालिकाभित्रका उद्यमी तथा युवाहरूको ६० प्रतिशत लगानी रहेको छ । स्थानीयको रू। ३ करोड र नगरपालिकाको रू। २ करोड लगानीमा उद्योग सञ्चालन गरिएको ‘कोडकिङ डिस्टिलरी’का अध्यक्ष दलबहादुर शाहले बताए ।
उद्योग सञ्चालनमा आएपछि कच्चा पदार्थ संकलन तथा प्रशोधनका लागि ४० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । यस्तै, उद्योगमा अन्य कामका लागि पनि त्यतिकै मात्रामा रोजगारी सृजना भएको उद्योग सञ्चालन गरिरहेको कोडकिङ डिस्टिलरीले बताएको छ ।
आठबिसकोट नगरपालिकाका प्रमुख गोर्खबहादुर केसीले भने, ‘४ वर्षपछि नगरपालिकाका विभिन्न ठाउँमा लगाइएकोे किबी फल्ने र त्यसैबाट १० लाख लिटर वाइन तयार हुनेछ ।’ त्यसका लागि २० लाख किलो किबी फल्ने गरी योजना बनाइएको छ । किबी फल्नुअघिसम्म टिमुर र चिउरीबाट वाइन बनाइने र त्यसपछि किबीको रसबाट बनाइनेछ । त्यसका लागि चालू आवमै नगरपालिकाले ५० हजार बोट किबी किसानलाई वितरण गरेको छ ।
४ वर्षसम्ममा उद्योगमा १० करोड लगानी पुर्याइने र त्यसबाट १० लाख लिटर वाइन उत्पादन गर्ने योजना रहेको आठबिसकोट नगरपालिकाले जानकारी दिएको छ । आठबिसकोटमा उत्पादन भएको वाइन तथा जुसलाई देशबाहिर निर्यात गर्ने नगरपालिकाको योजना रहेको छ ।