दुर्घटनाग्रस्त अवस्थामा भेटियो मकालु एयरको जहाज, दुई जनाको शव सुर्खेत पठाइयो


काठमाडौँ । सुर्खेतबाट उडेर बेपत्ता भएको मकालु एयरको जहाज हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार हुम्लाको खार्पुनाथ गाउँपालिकाको एक्लबुजखर्कमा विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो ।

विमान १२ हजार ८०० फिट उचाईँमा भेटिएको ठाकुरले बताए । यता, हुम्लाका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाका अनुसार दुर्घटनास्थल जिल्ला सदरमुकामदेखि १७ किलोमिटर दक्षिणपूर्वमा रहेको छ ।

विमानमा पाइलट किरण भट्टराई र को–पाइलट आदित्यनाथ नेपाल रहेको मकालु एयरले जनाएको छ ।

दुर्घटनामा दुवैको मृत्यु भएको छ ।

प्रजिअ अधिकारीका अनुसार उनीहरुको शव सुर्खेत पठाइसकिएको छ ।

मकालु एयरको कार्गो विमान आज बिहान ६ः१६ बजे सुर्खेत विमानस्थलबाट हुम्लाको सिमीकोटका लागि उडेपछि सम्पर्कविहीन भएको कर्णाली प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुरेशविक्रम शाहले जानकारी दिएका थिए।
विमानस्थल स्रोतका अनुसार विमान हराउन अघि नेपालगञ्जको राडारसँग सम्पर्क भएको थियो । त्यतिबेला विमानमा कुनै प्रकारको खराबी आएको भन्ने विमानले जानकारी नदिएको स्रोतले बतायो ।

यसअघि, सन् २०१६ मा पनि मकालु एयरको विमान हुम्लाको सिमिकोट विमानस्थलमा दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा दुई जना घाइते भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार