नगरप्रमुख चौधरीमाथि गोली हानेको आशंकामा विप्लवका ३ कार्यकर्ता पक्राउ


कैलाली २९ फागुन । कैलालीको घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरीमाथि सोमबार राति गोली र खुकुरी प्रहार गरेको आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेका अनुसार प्रहरीले सोमबार राति नै सुखड क्षेत्रबाट नेकपा माओवादी विप्लव नेतृत्वको नेकपाका ३ जनालाई पक्राउ गरिएको र अनुसन्धान भइरहेको जानकारी दिए । अनुसन्धान जारी रहेकाले पक्राउ परेकाहरुको नाम खुलाउन नमिल्ने घिमिरेले बताए ।

घोडाघोडीको ‘बोक्सी काण्ड’मा मिलापत्र गराउन खोजेको भन्दै विप्लव समूहका एक नेताले चौधरीलाई एमालेले कारवाही नगरे आफूहरुले ‘जनकारवाही’ गर्ने धम्की दिएका थिए ।

सोमबार राति करिब सवा ८ बजेतिर सुखड बजार नजिकै रहेको आफ्नो घरभित्र बसिरहेका नगर प्रमुख चौधरीलाई नचिनेका मान्छेको समूहले काम छ भन्दै घर बाहिर बोलाएर गोली र खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । चौधरीको कम्मरमुनि गोली लागेको र टाउको तथा दायाँ हातमा खुकुरीको चोट लागेको प्रहरी प्रमुख घिमिरेले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार