खोटाङ, २९ मंसिर ।
खोटाङमा स्वास्थ्य विमा लागू हुने भएको छ । आगामी पुस २० गतेदेखि खोटाङमा स्वास्थ्य विमा लागू हुने भएको हो । स्वास्थ्य विमाका लागि तयारी भइसकेको र यसलाई व्यवस्थित गर्न सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख डा. रामबहादुर केसीले बताए ।
नेपाल सरकार सामाजिक सुरक्षा विकास समिति टेकु, काठमान्डौको आयोजनामा ‘तपाईँको स्वास्थ्य हाम्रो अठोट’ भन्ने नाराका साथ स्थानिय तहका सरोकारवालाहरुको लागि स्वास्थ्य बीमा अभिमुखिकरण कार्यक्रममा यस्तो जनाइएको हो ।
जिल्ला समन्वय समितिको कार्यक्रम हलमा शुक्रवार आयोजित स्वास्थ्य विमासम्वन्धी कार्यक्रममा स्वास्थ्य मन्त्रालय सामाजिक स्वास्थ्य सुरक्षा समितिका निर्देशक डा. गुणराज लोहनीले जिल्लास्थित सर्वसाधारण, सामाजिक संघसंस्था, प्रशासन, सुरक्षा लगायतका निकायहरु सहभागी कार्यक्रममा विमाका दीर्घकालीन फाइदाको बारेमा जानकारी गराएका थिए ।
देशभर स्वास्थ्य विमा लागु हुने जिल्लामध्ये खोटाङ २३ आँै नम्बरमा परेको डा.लोहनीले बताए । डा. लोहनीले भने, ‘परिवारका पाँच जना सदस्यको एक वर्षसम्मको बीमा गर्न २५ सय रुपैयाँ लाग्छ । उहाँहरुका लागि हामिले एक वर्ष सम्मका लागि ५० हजार सम्मको स्वास्थ्य विमा गराइदिन्छौ ।’ पहिलो चरणमा एक जिल्ला स्वास्थ्य, चिसापानी र ऐसेलुखर्क दुईवटा प्राथामिक स्वास्थ्य केन्द्र गरी तिन स्वास्थ्य संस्थामा स्वास्थ्य बीमाको काम अगाडि बढाइने डा.गुणराज लोहनीले बताए ।
यसैअवसरमा २०५८ साल साउन ६ गते देखि २०६१ बैशाख मसान्तसम्म खोटाङस्थित जिल्ला अस्पतालको प्रमुखको रुपमा काम गरेर योगदान पु¥याएका हाल स्वास्थ्य मन्त्रालय अन्तरगत सामाजिक स्वास्थ्य सुरक्षा समितिका निर्देशक डा. गुणराज लोहनीलाई सम्मान गरिएको छ ।