भोजपुर, २१ मंसिर ।
भोजपुर जिल्लामा साँझ ५ वजेर ५ मिनेटबाट मत गणना शुरु भएको छ । मंसिर १० गते निर्वाचन सम्पन्न भएको भोजपुरमा आज साँझबाट गणना शुरु गरिएको हो । सुरक्षित मतगणनाका लागि सिसी क्यामेरा जडानसंगै तारजाली लगाइएको मुख्य निर्वाचन अधिकृत हरिसचन्द्र इङ्नामले जानकारी दिए । मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको छ, भने सोही स्थानमा मतगणना शुरु भएको हो ।
मतगणनाको सुरुमा प्रतिनिधी सभा सदस्य तर्फ ४ वटा मतदान केन्द्रको गणना सुरु गरीएको छ, जसमा साल्पासिलिच्छो गाउँपालिका वडा नं ६ दोभानेको सालेवा मावि (ख) मतदान केन्द्र, हतुवागढि गाउँपालिका पात्लेपानीको निर्मला प्रा.वि लुङगीन, आमचोक गाउँपालिकाको वडा नं २ को वडा भवन राँके बजार र साल्पासिलिच्छो गाउँपालिका वडा नं –४ खाटम्माको जाल्पा प्रावि दुम्मा मतदान केन्द्रको गणना सुरु गरीएको हो ।
त्यस्तै प्रदेश सभा सदस्य तर्फ भोजपुर (क) मा साल्पासिलिच्छो गाउँपालिका ५ को इन्द्रावती मा.वि क केन्द्र र वडा नं –४ खाटम्माको जाल्पा प्रा.वि दुम्मा मतदान केन्द्रको सुरु गरीएको छ ।
त्यस्तैगरि प्रदेश सभा सदस्य (ख) मा हतुवागढि गाउँपालिका होम्ताङको प्रजातन्त्र मा.वि ख केन्द्र र आमचोक गाउँपालिका – २ यूँ को वडा कार्यालय भवन राँके बजारको गणना सुरु गरीएको हो ।
भोजपुरमा कुल मतदाता एक लाख १३ हजार ८ सय ९१ मध्ये ६५ हजार ९ सय ९८ अर्थात ५७ दशमलव ९ प्रतिशत मत खसेको थियो । भोजपुरबाट प्रतिनिधि सभामा वाम गठबन्धनका माओवादी उम्मेदवार सुदन किराँती र लोकतान्त्रिकका कांग्रेस उम्मेदवार उमेशजंग रायमाझी विच प्रतिस्पर्धा हुनेछ ।
त्यस्तै प्रदेश सभा सदस्य तर्फ भोजपुर (क) मा वाम गठबन्धनका एमाले उम्मेदवार राजेन्द्र राई र लोकतान्त्रिक गठबन्धनका संघीय समाजवादी फोरम उम्मेदवार अजम्बर राई काङमाङ बीच प्रतिस्पर्धा छ भने भोजपुर (ख) मा वाम गठबन्धनका एमाले उम्मेदवार शेरधन राई र लोकतान्त्रिक गठबन्धनका कांग्रेस उम्मेदवार गोबिन्दबहादुर कार्कीले प्रतिस्पर्धामा रहेका छन् ।