भोजपुर, ६ मंसिर ।
पहिलो चरणमा मंसिर १० गते हुने निर्वाचनका लागि भोजपुर जिल्लामा पनि वुधवारबाट कर्मचारीहरु मतदान केन्द्रहरुमा खटिएका छन् । मत पेटिका, मतपत्र, नङमा हाल्ने मसी, स्टाम्प प्याड लगायतका ६६ प्रकारका निर्वाचन सामग्री सहित मतदान अधिकृत र सहायक मतदान अधिकृत लगायतका कर्मचारी मतदान केन्द्रतर्फ लाग्न थालेका हुन ।
निर्वाचनलाई सफल रुपमा सम्पन्न गर्नको लागि भौगोलिक हिसावले विकट ठाउहरुमा निर्वाचन सामग्री सहितका कर्मचारी मतदान पठाउन थालिएको जिल्ला निर्वाचन अधिकारी राजेन्द्र प्रसाद पोखरेलले जानकारी दिए ।
भौगोलिक रुपमा विकट रहेका भोजपुरका उत्तरी साल्पासिलिच्छो गाउँपालिका, दक्षिणी आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिकाका सबै वडा र षडानन्द नगरपालिकाको एक र दुई मा निर्वाचन सामग्री सहित वुधवारबाट कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय भोजपुरले जनाएको छ ।
जिल्लामा मतदान अधिकृत एक सय ४८, सहायक मतदान अधिकृत एक सय ४८ सहायक कर्मचारी ५ सय ९२, कार्यालय सहयोगी २ सय ९६ जना खटिने छन् । त्यस्तै मतदान अधिकृतले सवै मतदान केन्द्रमा गरि ६ सय ३ जना स्वयमसेवक नियुक्त गर्ने सहायक निर्वाचन अधिकृत मणिराम पोखरेलले बताए ।
जिल्ला मुख्य निर्वाचन अधिकृतको कार्यालयले यस पटक निर्वाचनमा एक हजार, एक सय ८४ जना कर्मचारी खटाउने तयारी गरेको जनाएको छ ।