शिक्षकबाटै १० वर्षीया बालिका बलात्कृत


शिक्षक समाजको अगुवा हो । बाटो बिराएकालाई सही मार्ग देखाउने र सभ्य समाज निर्माणका लागि नैतिक शिक्षा दिने पनि शिक्षक अर्थात गुरु नै हुन् । समाजले अगुवा भनेको शिक्षक नै कहिले काँही बाटो ‘‘गुवा’ बनेर निस्कने गरेका उदाहरण भेटिन्छन् । यस्तै काम म्याग्दीका एक शिक्षकले गरेका छन् । म्याग्दीको अन्नपूर्ण–७ हिस्तान औलमा १० वर्षीया बालिका बलात्कृत भएकी छन् । स्थानीय मण्डली आधारभूत विद्यालयका पूर्व शिक्षक ६८ वर्षीय धनबहादुर पुनले सोही विद्यालयमा अध्ययनरत ती बालिकालाई बलात्कार गरेका हुन् ।

अनुसन्धानका क्रममा उनले गत मंसिरदेखि विभिन्न समयमा ती बालिकालाई बलात्कार गर्दै आएको खुलेको छ । परिवार र स्थानीयवासीले घटनाबारे गाउँपालिका उपाध्यक्ष केशमाया पुन मगरलाई जानकारी गराएपछि उनकै समन्वयमा प्रहरीले आरोपित पुनलाई शनिबार नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । फौजदारी मुद्दा भएकाले गाउँपालिकाको न्यायिक समितिले उक्त मुद्दालाई प्रहरीको समन्वयमा कानूनी प्रक्रिया अघि बढाएको उपाध्यक्ष मगरले बताइन् ।

पीडित बालिकाको परिवार आर्थिक अवस्था कमजोर रहेका कारण पूर्व शिक्षक पुनले विभिन्न आर्थिक प्रलोभन देखाउने र बलात्कार गर्ने गरेको पाइएको उनको भनाइ छ । पीडित बालिकालाई शनिबार दिउँसो सदरमुकाम ल्याएर स्वास्थ्य परीक्षण गरेपछि आवश्यक औषधिसँगै स्वास्थ्य परामर्श दिइएको छ । प्रहरी नायब उपरीक्षक बसुन्धरा खड्काले आरोपित पुनलाई नियन्त्रणमा लिएर कार्वाहीका लागि कानूनी प्रक्रिया अघि बढाइएको जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार