डढेलो नियन्त्रणका लागि डिभिजन वन भोजपुरको सप्ताहव्यापी सचेतनामुलक कार्यक्रम


भोजपुर ६ चैत्त । डिभिजन वन कार्यालय भोजपुरले वन डढेलो नियन्त्रणका लागि सप्ताहव्यापी कार्यक्रम थालेको छ । वन डढेलो रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले सप्ताहव्यापी कार्यक्रम गरेको हो । संघिय वन तथा भूसंरक्षण विभागको निर्णय तथा प्रदेश वन मन्त्रालयको पत्रचार अनुसार कार्यक्रम गरिएको डिभिजन वन कार्यालय भोजपुरले जनाएको छ ।

चैत १ गते देखि सञ्चालन भएको कार्यक्रम चैत ७ गते सम्म सञ्चालन हुने छ । यस सप्ताहव्यापी कार्यक्रममा वन डढेलो सम्वन्धी सचेतना मुलक पोस्टर, रेडियो जिङगल, माईकिङ गरिनुका साथै नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई फायर फाईटिङका उपकरणहरु समेत हस्तान्तरण गरिएको छ । त्यस्तै वन समुह संग अन्तरक्रिया,इन्टर्नका विद्यार्थीहरुलाई डढेलो नियन्त्रण पूर्वतयारीका अभ्यास समेत गराईएको डिभिजन वन कार्यालय भोजपुरका प्रमुख विरेन्द्र शाहले बाताउनुभयो ।

नेपालमा केही वर्ष यता वन डढेलो अपवाद वाहेक हरेक वर्ष नियमित एवं एक गम्भीर रुपमा देखा परिरहेकाले यसको नियन्त्रण तथा रोकथामको लागि कार्यक्रम गरिएको प्रमुख शाहको भनाई छ ।  ‘जनचेतनाको अभावका कारण पनि वन डढेलो बढीरहेको छ’ प्रमुख शाहले भन्नुभयो ‘ डढेलो नियन्त्रण तथा रोकथामका लागि हामीले सप्ताहव्यापी कार्यक्रम गरिरहेका छौ, उपभोक्ताहरुलाई वन डढेलो सम्वन्धी सचेतनामुलक पोस्टर, रेडियो जिङगल, भोजपुर नगरपालिका, रामप्रसादराई गाउँपालिका, हतुवागढी गाउँपालिका र आमचोक गाउँपालिकामा माईकिङ समेत गरिएको छ, यस्ता सचेतनामुलक कार्यक्रमलाई नौ वटै स्थानीय तहमा विस्तार गर्ने हाम्रो लक्ष्य छ ।’

वन डढेलोको कारण वन, वन्यजन्तु, वनस्पती लगाएत धनजनको ठूलो क्षतीहुने भएकाले यसमा सवै सचेत हुन आवाश्यक रहेको उहाँको भनाई छ ।यस सप्ताहव्यापी कार्यक्रममा विभिन्न वनमा लागेका डढेलो समेत नियन्त्रण गरिएको कार्यालयले जनाएको छ । सुख्खा खडेरीका कारण भोजपुरको ढोडे वैशाखे सामुदायिक वनमा चैत ४ गते लागेको डढेलोबाट ८ हेक्टर वनमा रहेका झारपात स-साना विरुवा नष्ट भएका छन् ।

त्यस्तै रामप्रसादराई गाउँपालिका ५ मानेभञ्ज्याङको सिंहदेवी सामुदायीक वनमा चैत एक गते भएको आगलागीबाट १० हेक्टर सल्लाको वनमा क्षती भएको कार्यालयले जनाएको छ । जंगलमा फैलिएको डढेलो स्थानीय उपभोक्ता, प्रहरी र वन कर्मचारीको सहयोगमा नियन्त्रणमा आएको स्थानीको भनाई छ । त्यस्तै सवडिभिन वन कार्यलय मार्फत जिल्लाका सम्पुर्ण सामुदायिक वन उपभोक्ता समितिहरुलाई डढेलो सम्वन्धी सचेतनामुलक कार्यक्रम गरिएको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार