याक चौरी कृषक महासंघको कोशी प्रदेश स्तरिय प्रथम अधिवेसन सम्पन्न, अध्यक्षमा मोहन राई


भोजपुर, २१ माघ । भोजपुरमा याक चौरी कृषक महासंघको कोशी प्रदेश स्तरिय प्रथम अधिवेसन सम्पन्न भएको छ । ‘हिमालको गहना याक चौरी संरक्षणमा हाम्रो चाहना’ भन्ने मुल नाराका साथ टेम्केमैयुङ ४ चखेवामा अधिवेसन गरिएको हो । प्रथम अधिवेसनबाट ताप्लेजुङका मोहन राईको अध्यक्षतामा नौ सदस्य समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा खोटाङका दुर्गा धन राई, सचिवमा सोलुखुम्बुका थुतोप दोर्जे शेर्पा, कोषाध्यक्षमा भोजपुरकी किमा शेर्पा चयन भएका छन् ।
त्यस्तै गरि सदस्यहरुमा ईलामका सुन्दर राई, ओखलढुङ्गाका पासाङ नुरी शेर्पा, पाँचथरका जङ्ग बहादुर राई तथा सुमित तामाङ र ताप्लेजुङकी दावा फुटि शेर्पा सदस्य चयन भएका छन् ।

याक, चौरीको संरक्षणसँगै यसको व्यवसायिकरणको लागि किसानहरु एकजुट भएर लाग्न महासंघको गठन गरिएको केन्द्रिय महासचिव पावीहाङ राईले जानकारी दिनुभयो । “याक चौरीपालक किसानहरुको पहिलो अघिवेसन सम्पन्न गरेको छौँ” उहाँले भन्नुभयो,“महासंघले याक चौरीको संरक्षण तथा विकास विस्तारमा जोड दिनेछ । महासंघले याक चौरीपालक कृषकलाई एकजुट बनाएर यहाँ देखिएका समस्याको समाधानमा पहल कदमी गर्नेछ ।” २८ ओटा जिल्लामा समिति विस्तारको काम भईरहेको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालय भोजपुरका प्रमुख वीरेन्द्र शाहले याक चौरीको चरीचरनको लागि सामुदायिक वनको कार्ययोजना बनाउदा सहजीकरण गर्ने बताउनुभयो ।

टेम्केमैयुङ गाउँपालिका उपाध्यक्ष रमादेवी राईले ऐतिहासिक कामको थालनी भएकोले यसले याक चौरीको संरक्षण तथा विकासमा टेवा पुग्ने बताउनुभयो । गाउँपालिकाले कृषि तथा पर्यटनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउदै उहाँले कृषि उत्पादनमा जोड दिदै आत्मनिर्भर बनाउने लक्ष्यका साथ काम गरिहेको धाराणा राख्नुभयो । महासंघले थालेको काम गाउँपालिकाको नीति तथा कार्यक्रमसँग मेल खाएको उहाँको भनाइ छ ।

गाउँपालिका अध्यक्ष सरोज बस्नेतले याक चौरीको संरक्षणले वातावरणको पर्यावरण सुधारमा सहयोग पुग्ने भएकाले यसको व्यावसायिकरणमा जोड दिनुपर्ने बताउनुभयो । यो व्यावसायलाई जिविकोपार्जनसँग जोडर लैजानु पर्ने उहाँको भनाइ छ । स्थानीय सरकारसँग थोरै मात्र बजेट हुने भएकाले महासंघले केन्द्र तथा प्रदेश सरकारलाई आवश्यक साथ सहयोग लागि योजनाबद्ध रुपमा लाग्नु पर्ने उहाँले बताउनुभयो ।

जिल्ला समन्वय समिति सभापति कमल थुलुङले महासंघले याक चौरीको संरक्षण लागि थालेको काम प्रशंसायोग्य रहेको बताउदै यसलाई किसानको आयश्रोतसँग जोडेर लैजानु पर्ने बताउनुभयो । यो क्षेत्रको विकासको लागि आफ्नो तहबाट भूमिका खेल्ने उहाँको भनाइ छ । कार्यक्रमका प्रमुख अथिति कोशी प्रदेश सभा सदस्य विनोद वान्तावाले याक चौरीको संरक्षण तथा यस क्षेत्रको समस्या समाधानको लागि आफ्नो तहबाट पहल कदमी गर्ने बताउनुभयो । यो व्यवसायलाई पर्यटनसँग जोडेर यहाँको आयश्रोतको रुपमा लैजानु पर्ने उहाँको धाराणा छ ।“याक चौरी संरक्षणको लागि महासंघलाई मेरो तहबाट आवश्यक सहयोग गर्छु” सांसद वान्तावाले भन्नुभयो,“यसलाई कृषि पर्यटनका रुपमा विकास गरेर कृषकको आयआर्जनसँग जोड्न आवश्यक छ । हामीले उत्पादनमूलक काममा ध्यान दिन जरुरी छ ।”

याक चौरीपालन व्यवसाय लोप हुने अवस्था पुगेकोले यसको संरक्षणको लागि जुटेको कार्यक्रमका अध्यक्ष तथा केन्द्रिय सचिव चन्द्र नेपालले बताउनुभयो । याक चौरीको संरक्षणसँगै किसानका समस्या समाधनमा राज्यले ध्यान दिनु पर्ने उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार