जेटवोटले सहज बन्दै भोजपुरको दक्षिणी क्षेत्रका नागरिकको यात्रा


भोजपुर, १४ माघ । भोजपुरको दक्षिणी क्षेत्रका नागरिकलाई सडकको माध्यमबाट तराईका जिल्ला पुग्न निकै कठिन छ । यहाँका ठुला नदीहरु दूधकोशी र अरुण नदीमा सवारी साधन चल्नको लागि पुल नहँुदा बषौँदेखी स्थानीयले सास्ती भोग्दै आएका छन् । तर अहिले अरुण नदीमा पानी जेटवोट सञ्चालनमा भएपछि स्थानीयलाई सहजता भएको छ । वर्षातको समयमा बाहेक हतुवागढी ९ कोप्चेबाट दैनिक जेटबोट सञ्चालन भइरहेको छ । दक्षिणी क्षेत्रका स्थानीय जेटबोट चढेर जलयात्रामार्फत धरान, इटहरी विराटनगर लगायतका ठाउँमा पुगेर घर फर्केने वातावरण बनेको स्थानीयबासी इन्द्र थापाले बताउनुभयो । भिरको बाटो तीनदेखी चार घण्टा पैदल हिडेर चतरा पुग्नु पर्ने अवस्थामा जलयात्राले सहजता भएको उहाँको भनाइ छ । जलयात्राबाट चतरासम्मको करिव १९ किलोमिटर दुरी २० देखी २५ मिनेटमा पुगिने थापाले बताउनुभयो ।
“हामीलाई पानी जेटवोट सञ्चालनले धेरै सहज भएको छ” थापाले भन्नुभयो,“सडकको माध्यमबाट यात्रा गर्न नदीहरुमा पुल छैनन् । वर्षातको समयमा अलि कठिन भएपनि हिउँदको समयमा जलयात्रा गरेर एकदिनमा तराईका शहरमा पुगेर फर्कन सक्ने वातावरण बनेको छ ।” स्थानीयले १९ किलोमिटर यात्रा गरेको रु.छ सय भाडा तिर्दै आएका छन् । अरुण नदीमा जेटवोट सञ्चालनले विरामी हुँदा शहरका ठुला अस्पतालमा छिटो पुगेर उपचार गर्न सहजता थपिएको स्थानीयबासी लालबहादुर प्रधानले बताउनुभयो । भोजपुर सदरमुकाम भएर लेगुवा, हिले घनकुटा हुँदै तराई झर्न करिव दुई सय किलोमिटर पर्ने भएकाले दक्षिणी भेगका लागि यो पानी जेटवोटले धेरै सुगमता थपेकोे उहाँको भनाइ छ । “हामीलाई भोजपुर सदरमुकाम भएर यात्रा गर्न धेरै लामो दुरी हुन्छ” उहाँले भन्नुभयो,“जेटबोट सञ्चालनमा आएपछि धेरै सहजता भएको छ । विरामी हुँदा चाडो उपचार लिन सक्ने वातावरण बनेको छ । यसले दक्षिणी क्षेत्रका नागरिकलाई प्रत्यक्ष लाभ पुगेको छ ।”

जेटबोट सञ्चालनले भोजपुर, धनकुटा र सुनसरीलाई पूर्वी तराईसँग जोडिन सहज भएको गाउँपालिकाले जनाएको छ । जलयात्रालाई पयर्टनसँग जोड्ने लक्ष्यका साथ पर्यटन पूर्वाधारको विकासमा जुटेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिनुभयो । हतुवागढी क्षेत्रबाट तराईका जिल्लासँगको दुरी छोटो पर्ने भएकाले यसले यहाँको विकासमा टेवा पुग्ने अध्यक्ष राईको भनाइ छ ।“जेटबोट सञ्चालनले हामीलाई धेरै सहजता भएको छ” अध्यक्ष राईले भन्नुभयो,“ दुई ठूला नदीमा पुल निर्माणमा ढिलाई हुँदा सवारी साधनको आवत जावतमा समस्या छ । जलयात्रालाई पर्यटनसँग जोडेर विकासमा जुटेका छौँ ।” सवारी साधन सञ्चालनको लागि भोजपुर र उदयपुरलाई जोड्ने चुहारको दूधकोशी र भोजपुर र धनकुटालाई जोड्ने सुनवालुवामा पुल नहँुदा स्थानीयलाई समस्या रहेको छ । यी दुवै नदीमा पुल बनाउने कामको थालनी गरिरएको भएपनि निर्माणमा भने ढिलाई भईरहेको छ ।

यहाँका नदीहरुमा पुल बनेपछि हतुवागढीबाट धरान, ईटहरी, विराटनगर जस्ता तराईका ठुला र महत्वपूर्ण शहरहरु करिव ६०÷६५ किलोमिटरको दुरीमा मात्र रहेकोले पर्यटकको आवगमन बढ्ने उहाँको भनाइ छ । हतुवागढीको एकै ठाउँबाट विश्वको सर्वोच्च शिखर सगरमाथा, मकालु तथा कञ्चनजंघालगायत हिमाल र तराईको फाँटको अवलोकन गर्न सकिने भएकाले पर्यटनको राम्रो सम्भावना रहेको छ ।

तराईका मानिसहरु गर्मी याममा गर्मी छल्दै, चिसो हावापानीमा रमाउदै मनमोहक दृष्यहरुको दृष्यावलोकन गर्न नयाँ पर्यटकीय स्थलको भ्रमण गर्न चाहने भएकाले यहाँ पर्यटनको राम्रो सम्भवना रहेको अध्यक्ष राईले बताउनुभयो । गाउँपालिकाले गौरवको आयोजनाको रुपमा घोडेटार बजार–गढी–संखामचुली जोर आहाल–दिमालुङ्ग पार्क जोड्ने पैदल मार्गको निर्माण गरिरहेको छ ।

योसँगै विशेष गरेर किरात समुदाय आस्थाको केन्द्र खुवालुङ्गलाई शुभारम्भ प्रस्थान विन्दुको रुपमा बिकास गरी समुद्र सतहबाट एकसय ५३ मीटर उचाईमा मात्रध रहेको भोजपुर जिल्लाको सबैभन्दा होचो भू–भाग माइबेनीलाई समेट्दै गाउँपालिका भित्रका पर्यटकीय क्षेत्रको बृहत्तर विकास गर्ने लक्ष्य साथ काम भईरहेको अध्यक्ष राईको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार