रोकिएको चुहार पक्की पुलको काम सुचारु, थप गरिएको अवधि भित्र सकिने


भोजपुर, २३ वैशाख । निकै लामो समय अधिबाट रोकिएको दूधकोशी नदी चुहार पक्की पुलको निर्माण सुचारु भएको छ । भोजपुरलाई तराईका जिल्लासँग छोटो दुरीमा जोड्न हतुवागढी गाउँपालिका ९ हसनपुर र वेलका नगरपालिका ७ मैनामैनीलाई जोड्ने दूधकोशीको चुहारमा निर्माण भईरहेको उक्त पुल निर्माणको क्रममा देखिएको प्राविधिक समस्याका कारण रोकिएको थियो । निर्माणका क्रममा देखिएका विभिन्न समस्याको समाधानपछि पुलको काम पुनः सुचारु भएको हो ।

एक वर्ष बढी समयबाट रोकिएको निर्माणको कामलाई तत्काल शुरु गर्नको लागि कोशी प्रदेश सांसद सिर्जना राई, पूर्व मुख्यमन्त्री शेरधन राई, निर्माण कम्पनी र कार्यालय बीच भएको छलफलपछि निर्माण निरन्तरताले पाएको हो । काम शुरु भएपछि निर्माण स्थलको कोशी प्रदेश सांसद सिर्जना राईले स्थलगत अनुगमनसमेत गरेकी छिन् । अनुगमन गर्दै सांसद राईले पुल निर्माणलाई चाडो सम्पन्न गराउन पहल गर्ने बताइन् ।

‘पुल निर्माणको काम रोकिनुमा निकै ठुलो प्राविधिक समस्या रहेछ ’’ सांसद राईले भनिन्,‘हामीले यहाँ देखिएका समस्याको समाधान गरेपछि कामले निरन्तरता पाएको छ । भोजपुरको भविष्य बोकेको यो पुललाई समयमा सम्पन्न गराउन मेरो भूमिका रहन्छ । विकास निर्माणको काममा सवै जना एक भएर जुट्न आवश्यक छ ।’

कोशी प्रदेश सरकारको २१ करोड, २३ लाख १२ हजार ४ सय ७ रुपैँया लागतमा पुल निर्माणे निर्माण थालिएको हो । पुल निर्माण तोकिएको अवधिमा काम सम्पन्न नभएपछि थप गरिएको समयमा २०८० असोज १३ गते भित्र सम्पन्न हुने जनाइएको छ ।

यो पुलको तत्कालिन कोशी प्रदेशका मुख्यमन्त्री शेरधन राईले २०७७ असोजमा शिलान्यास गरेका थिए । पुलको लम्बाई ९० मिटर र चौडाई फुटपाथसहित साढे १० मिटर रहने जनाइएको छ । भोजपुर सदरमुकामबाट दूधकोशी पुलसम्मको लम्बाई करिब ६५ किलो मिटरहेको छ । पूर्व क्षेत्रबाट धरानसम्मको पुग्नको लागि भोजपुरबासीले करिव एक सय ५४ किलोमिटर यात्रा गर्नुपर्ने अवस्था छ । तराईका जिल्लासँग जोड्ने सबै भन्दा छोटो मार्ग भएकोले यसले जिल्लाको आर्थिक रुपमा विकासमा टेवा पुग्ने देखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार