मुन्दुम पदमार्ग र साल्पा क्षेत्रको बृहत्तर विकासमा साल्पासिलिछोको अगुवाई


भोजपुर, ११ बैशाख । यहाँको पर्यटनमा जोड दिन मुन्दुम पदमार्ग र साल्पा क्षेत्रको बृहत्तर विकास गरिने भएको छ । यो पदमार्गको विकास गर्दै जिल्लाको सवै भन्दा अग्लो सिलिछो चुचुरो र साल्पा पोखरीको विकासका लागि पहल थालिएको हो । विस्तार भईरहेको मुन्दुम पदमार्गलाई ‘ग्रेटर मुन्दुुम ट्रेल’का रुपमा विस्तार गर्दै साल्पा क्षेत्रलाई आर्कषक पर्यटन गन्तव्यको रुपमा स्थापित गर्न लागिएको हो । नेपाल सरकारले छनौट गरेको घुम्नै पर्ने १०० पर्यटकिय गन्तव्य भित्र पर्न सफल मुन्दुम पदमार्गले साल्पा क्षेत्रलाई समेटेको छ । यो पदमार्गको विकाससँगै साल्पा क्षेत्रलाई यहाँको मुख्य पर्यटकीय स्थल बनाउन साल्पासिलिछो गाउँपालिकाले अगुवाई थालेको हो ।

धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा रहेको साल्पा क्षेत्रको विकास गर्दै यसलाई गाउँपालिकाको आर्थिक श्रोतको रुपमा जोड्न विकास तथा संरक्षणमा पहल थालिएको हो । गाउँपालिकाले ‘मुन्दुम ट्रेल – साल्पा सिलिछो विकास तथा प्रवर्द्धन सम्मेलन २०८०’ आयोजना गरेर सीमा जोडिएका अन्य स्थानीय तहहरुसँग साझेदारी विस्तार गरेको हो । साल्पासिलिछोको पहलमा मुन्दुम पदमार्ग तथा साल्पा– सिलिछो क्षेत्रको विकासमा यहाँका स्थानीय तहरुले २४ बुँदे साँझा संकल्प पत्र जारी गरेका हुन् । यो क्षेत्रलाई नेपालको एक पर्यटकीय सम्पतिको रुपमा विकास गर्नको लागि मुन्दुम पदमार्ग र साल्पा क्षेत्रसँग जोडिएको स्थानीय तहहरु साँझा रुपमा विकास गर्न जुटेका हुन् ।


पर्यटकलाई लक्षित गरेर ८८ किलोमिटर मुन्दुम पदमार्गको निर्माण भइरहेको छ । जसमध्ये हालसम्म ६२ किलोमिटर बढीले पूर्णतासमेत पाएको छ । योे गाँउपालिकासहित चार ओटा र खोटाङका दुई ओटा स्थानीयतहलाई लक्षित गरेर पदमार्ग निर्माण भईरहेको छ । पदमार्ग टेम्केमैयुङ गाउँपालिका, भोजपुर नगरपालिका, षडानन्द नगरपालिका, साल्पाछिलिछो गाउँपालिका र खोटाङको साकेला र केपीलासगढी गाउँपालिकामा विस्तार गरिएको छ । ‘जलवायु परिवर्तन न्युनीकरणका लागि जैविक विविधता एवं वातावरण संरक्षणमा प्रतिबद्धता,स्थानीय जनताको जिविकोपार्जनमा सुधारका लागि पर्यापर्यटन प्रवर्द्धनमा सामुहिक ऐक्यबद्धता’ भन्ने मुल नारासहित तीन हजार ४४३ मिटर उचाईमा रहेको साल्पा पोखरीमा अन्तर पालिका वैठकसमेत गरिएको छ ।

साल्पासिलिछो गाउँपालिकाको आयोजना तथा जि फाउन्डेसनको साझेदारीमा भएको अन्तर पालिकाको वैठकले यो क्षेत्रलाई विकास गर्न एकजुट हुन सहमती गरेका हुन् । साल्पा क्षेत्रमा रहेका प्राकृति सम्पदासँगै यहाँका जैविक विविधताको विकासमा पहल थालिने भएको छ । यसको विकासले साल्पा क्षेत्रमा पाईने दुर्लभ वन्यजन्तु रेड पाण्डा,कस्तुरी मृग, भीरमाहुरी लगाएतको संंरक्षण गरिने साल्पासलिछिो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधबकुमार अधिकारीले जानकारी दिए । गाउँपालिकाको हिमाली जंगली जडिबुटी र वनस्पतिको संवर्द्धन तथा प्रवर्द्धनमार्फत जैविक विविधताको संरक्षणमा योगदान पुर्याउने लक्ष्य रहेको उनको भनाइ छ । जलवायु परिवर्तनले पारेका नकारात्मक प्रभावलाई कम गर्न भूमिका खेल्ने उनले बताए ।

‘‘हामीले मुन्दुम पदमार्ग र साल्पा क्षेत्रको विकासमा पहल थालेका छौँ’ प्रशासकीय अधिकृत अधिकारीले भने,‘ हाम्रो पहलमा साल्पासिलिछो क्षेत्रमा सीमा जोडिएका स्थानीय तहसँग सहकार्यको वातारवरण बनाएका छौँ । यो क्षेत्रलाई विकास गरेर नेपालको उत्कृष्ट पर्यटकीय गन्तब्य बनाउन जुटेका छौँ ।’ वातावरण तथा जैविक विविधता संरक्षण र साल्पासिलिछो क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभावको बारेमा नेपाल लगायत विश्वभरी चेतना जगाउने उद्धेश्य रहेकोसमेत उनले वताए ।‘यो पर्याप्त संरक्षण तथा प्रचार प्रसार नहुँदा ओझेलमा परेको क्षेत्र हो’भने,‘‘ नेपालमा यस्ता पर्यटकीय क्षेत्र कमै मात्र छन् । साल्पा क्षेत्र विश्वमा दुर्लभ मानिने रेड पाण्डाको पाइने स्थल पनि हो । यहाँको विषेशतालाई विश्वमा चिनाउने हाम्रो लक्ष्य हो ।’

जंगली कुकुर, मृग,घोरल, बाघ,भालुका वासस्थान क्षेत्रलाई पनि संरक्षित गरेर लैजाने उहाँको भनाइ छ । सन् २०२५ मा मुन्दुम पदमार्गमा कम्तीमा एक लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिए । साल्पा क्षेत्रले छोएको सोलुखुम्बुको महाकुलुङ गाउँपालिका, संखुभासभाको सिलिचोङ र भोजपुरको साल्पासिलिछो गाउँपालिकासँगै मुन्दुम पदमार्गसँग जोडिएका भोजपुर, खोटाङ, सोलुखुम्बु र सङ्खुवासभाका स्थानीय तहहरुको सहभागितामा यसको विकासमा जोड दिइने भएको हो ।

‘मुन्दुम ट्रेल – साल्पा सिलिछो विकास तथा प्रवर्द्धन सम्मेलन २०८०’ ले यहाँको विकासमा महत्वपूर्ण भूमिका खेल्ने साल्पासिलिछो गाउँपालिका अध्यक्ष दौलथ कुलुङले बताए । साझा रुपमा गरिएका संकल्प पत्र कार्यान्वयन हुने उनको भनाइ छ ।‘साल्पा क्षेत्र र मुन्दुम पदमार्ग हाम्रो गाउँपालिकाको मात्र नभएर यो देशको सम्पति हो’अध्यक्ष कुलुङले भने,‘हामीले यस क्षेत्रको विकासको लागि २४ बुँदे संयुक्त संकल्प पत्र जारी गरेका छौँ । साल्पा क्षेत्रले जिल्लाको पर्यटकीय क्षेत्रको विकासमा अग्रनी भूमिका खेल्नेमा हामी ढुक्क छौँ । संकल्प पत्रमा उल्लेख गरिएका विषयबस्तु पुरा गर्न हामी प्रतिवद्ध छौँ ।’

यहाँको विकासका लागि साझा रुपमा पहल कदमी थालेर बजेटको व्यवस्थापन गर्दै मुन्दुम पदमार्गको ६० प्रतिशत खण्ड स्तरोन्नति भइसकेको भएपनि बाँकी ४० प्रतिशत खण्डलाई सम्पन्न गर्न पहल थालिने भएको छ । सप्तकोसी खुवालुङदेखि चोमोलुङसम्म ‘ग्रेटर मुन्दुम ट्रेल’ विस्तार गर्न बजेटको लागि पहल गरिने भएको हो । साल्पापोखरीदेखि हुँगाखोला महाकुलुङ, आम्फुलाप्चा पास हुँदै सगरमाथा बेसक्याम्प जाने भागको खोज तथा अनुसन्धान गर्ने बताइएको छ । सप्तकोसी खुवालुङ उपत्यकालाई ग्रेटर मुन्दुम ट्रेलको पदैलमार्गका रुपमा विकास गर्दै सगरमाथा क्षेत्र पुग्ने पर्यटकसमेत खुवालुङ हुँदै कोसीटप्पुसम्म आइपुग्ने पदमार्गलाई ग्रेट मुन्दुम ट्रेलका रुपमा विकास गर्ने संकल्प पत्रमा उल्लेख गरिएको छ ।

मुन्दुम पदमार्गसँग जोडिएको साल्पा, सिलिछो डाँडा समुन्द्रि सतहबाट चार हजार १५५ मिटर उचाईमा रहेको छ। यो चुचुरो भोजपुरको अग्लो स्थान पनि हो । चुचुरोको काखैमा रहेको पोखरीमा आन्तरिक पर्यटकहरु आफ्नो मनोकामना पुरा हुने धार्मिक विस्वासले पूजाआजा गर्नको लागि पुग्ने गरेका छन् । खास गरेर साल्पा क्षेत्रमा वर्षमा चार पटक मेलासमेत लाग्ने गरेको छ । वैशाख, भदौ, कात्तिक र फागुन महिनाको पूर्णिमामा मेला लाग्ने गरेको स्थानीयको भनाइ छ । यहाँ भोजपुर, खोटाङ, संखुवासभा, धनकुटा, खोलुखुम्बु, लगायत देशका विभिन्न ठाउँबाट भक्तजनहरु पुग्ने गरेका छन् ।
संकल्प पत्रमा समेटिएका २४ बुँदाहरु

१, “मुन्धुम ट्रेल- साल्पा सिलिछो” क्षेत्र आफैँमा किरात सभ्यताको अमूर्त सांस्कृतिक सम्पदा (Intangible Cultural Heritage) भएकोले सम्पदामा जोखिम हुनेगरी कुनैपनि भौतिक निर्माण कार्य तथा अन्य पुर्वाधार विकासका गतिविधिहरुमा रोक लगाउन सहमत गर्दछौँ ।

२,  मुन्धुम ट्रेलको ६०%खण्ड upgrade भइसकेको र बाकी ४०%खण्ड बिचमै रोकीएकोले बाँकी खण्ड तुरन्तupgrade को लागि पहल गर्न सहमत गर्दछौँ ।

३, सप्तकोशी खुवालुङ देखि चोमोलुङमा सम्म “ग्रेटर मुन्दुम ट्रेल” बिस्तार गर्न बजेट विनियोजन गर्न वा बजेटको लागि पहल गर्न सहमत गर्दछौँ । विशेषगरी साल्पापोखरी देखि हुँगा खोला महाकुलुंङ हुदै आम्फुलाप्चा पास हुदै सगरमाथा बेस क्याम जाने भागको Exploration गर्न बाकी रहेको छ ।सप्तकोशी खुवालुङ उपत्यकालाई ग्रेटर मुन्दुम ट्रेलको Foot stepको रुपमा विकास गर्दै सगरमाथा क्षेत्र पुग्ने पर्यटक समेत खुवालुङ हुँदै कोशी टप्पु सम्म आइपुग्ने गरी बनाइने पदमार्ग नै “Greater Mundum Trail”हुनेछ ।

४, सन् २०२५ मा मुन्दुम ट्रेलमा कम्तिमा १ लाख पर्यटक भित्र्याई त्यस पछीको बर्षहरुमा थप पर्यटकहरु निरन्तर बृद्धि गरि भोजपुर, खोटाङ, सोलुखुम्बु, संखुवासभा, सुनसरी र उदयपुर जिल्लाको समृद्धिको आधार मुन्दुम ट्रेल बनाउने लक्ष्यको साथ “Mundum Trail Visit Year 2025” मनाउने उक्त कार्यको लागि सबै गाउँपालिकाले बजेट विनियोजन गर्न सहमत गर्दछौँ ।

५, किरातहरुको उत्पति थलो, मुन्दुमको विकास भएको, किरातहरुको प्राग ‌ऐतिहासिक थलो   साल्पापोखरी सिलिचुङ;हिन्दुहरुको पशुपतिनाथ, मुस्लिमहरुको मक्कामदिना, क्रिश्चियनहरुको जेरुसेलम तथा बुद्धिष्टहरुको लुम्बिनी जत्तिकै पबित्र तिर्थस्थल भएकोले मुन्दुममा वर्णित सांस्कृतिक पात्रहरु, मूल्य मान्यता र जनविश्वास प्रतिबिम्बित हुनेगरी विकास गर्न छुटै बजेट आवश्यक भएकोले साल्पासिलिछो गाउँपालिकाकोDPR बमोजिम २३,८२,४७,०५९/ जम्मा लागत ईस्टिमेट मध्ये सास्कृतिक संरचनाको लागि तत्काल १९६४०७७७|- (एक करोड छ्यानब्बे लाख चालिस हजार) रकमआवश्यक परेकोले उक्त बजेट व्यबस्था गर्न सम्बन्धित निकायमा पहल गर्न सहमत गर्दछौ ।

६,  मुन्धुम ट्रेलको Lifeline को रुपमा ट्रेल क्षेत्रमा रहेको गोठहरुलाई सङ्गठित गर्दै हाल “मुन्दुम गोठस्टे समिति गठन गरि मुन्दुम ट्रेल भ्रमण गर्ने पर्यटकहरुलाई केहिगोठहरुले सेवादिन सुरु गरेको हुँदा थपगोठहरुलाईबाह्रै महिना पर्यटकहरुलाई सेवा दिने गरि गोठलाई सुधार गर्दै गोठस्टेलाई पर्यटक मैत्री बनाउन हाल खानेपानी,शौचालय,सुत्ने,बस्ने कोठाहरु,लत्ताकपडा सहित न्यूनतम कुराहरु सहित पर्यटक मैत्री गोठको निर्माण गर्न बजेटव्यवस्था गर्नसहमत गर्दछौं ।

७. मुन्दुम ट्रेल क्षेत्रको Biodiversity Profile बनाउन अति जरुरी रहेकोले आवश्यक बजेट बिनियोजन गर्न सहमत गर्दछौ ।

८. मुन्दुम ट्रेलक्षेत्रलाई छुनेगरी, वन क्षेत्र मासिने गरी कुनै कनि ग्रामिण सडक,कृषि सडक निर्माण नगर्न सहमत गर्दछौ ।

९. च्याक्सिला गुदेलरोड निर्माण गर्दाEco road को रुपमा विकास गर्दै मेसिन प्रयोग नगरी नमुना रोड बनाउदै Natural Resource को अधिकतम संरक्षण गर्न सहमत गर्दछौ ।

१०. हिमाली क्षेत्रमापुग्न नसक्ने तर नजिकबाट हिमाल नियाल्न सक्ने,अनुपम जैविक विविधता र सांस्कृतिक विविधता अवलोकन गर्न सक्ने,Soft Adventure  ट्रेकिङ्ग गन्तव्य,मुन्धुमी सामनिजम(Shamanism) ,मेडिटेसन गन्तव्यको रुपमा यो पद मार्ग लाई ब्रान्डिङ गर्दैलैजान सहमत गर्दछौ ।

११.यो पद मार्गलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन प्रचार र प्रवर्द्धन सामाग्रीउत्पादन गर्न,प्रबर्दन कार्यक्रमगर्न तथाअन्तराष्ट्रिय स्तरको तर मौलिक र स्थानिय प्रकृतिको सेवा सुविधा प्रदान गर्न स्थानीय समुदायमा जनचेतनामूलक कार्यक्रम गर्न,Skill Development कार्यक्रम गर्न आवश्यक वजेट छुट्टै बिनियोजन गर्न सहमत गर्दछौ ।

१२. मुन्दुम ट्रेलको मास्टर प्लान अनुसार मात्र भौतिक संरचनानिर्माण,सडक आदि विस्तार गर्न सहमत गर्दछौ । पदमार्गलाई असर गर्ने गरि वन्यजन्तुको बासस्थानलाई असर पुर्याउने गरी,जैविक विविधता, पानीका मुल स्रोत र इको-सिस्टमलाई असर गर्ने तथा क्षती गर्ने गरि कुनै पनिप्रकारको सडक खन्ने,भौतिक सम्रचना निर्माण नगर्न सहमत गर्दछौ ।

१३. दुर्लभ वन्यजन्तु रेड पाण्डा,कस्तुरी मृग,भीरमाहुरि,हिमाली जंगली कुकुर,मृग,घोरल,बाघभालुका वासस्थानक्षेत्रलाई संरक्षित गर्दै पर्यटकहरुलाई थप आकर्षित गर्नेछौँ ।

१४. पदमार्गमा निर्माण गरिने पर्यटकीय पुर्वाधारहरु होटल, लज, टि हाउस आदि तोकिएको निश्चित स्थानमा मात्र सञ्चालन गर्न अनुमति दिनेछौँ ।

१५.स्थानीय समुदाय जो पर्यटन व्यवसायसंग प्रत्यक्ष जोडिनु हुन्न उनीहरुलाई पनि पर्यटनको लाभ पुर्याउन कृषिजन्य उत्पादनको ब्रान्डीङ गर्न, पशुपालन उद्योगका उत्पादनहरु बजारीकरणमा सहयोग गर्न,बन पैदावारमा आधारित उत्पादनहरु थप उत्पादन गर्न सहयोग गर्ने र त्यस्ता उत्पादनहरुको बजार व्यवस्थापन गर्न आवश्यक सहयोग गर्नेछौँ ।

१६.साल्पासिलिछो क्षेत्रको पर्यटन विकास गर्न साल्पासिलिछो गुरुयोजनालाई हामी छिमेकी गाउँपालिकाहरु समेत स्वामित्व ग्रहण गर्न र गुरुयोजना लागु गर्न सहमत गर्दछौँ ।

१७.साल्पापोखरी र सिलिछो क्षेत्रलाई सिमांकन गरी संरक्षित क्षेत्र घोषणा गर्न सहमत गर्दछौँ ।

१८.साल्पासिलिछो गाउँपालिकाको अनुमति बेगर साल्पासिलिछो क्षेत्रमा कुनैपनि प्रकारको भौतिक संरचना निर्माणमा रोक लगाउन सहमत गर्दछौँ ।

१९.बोतल,प्लाष्टिक निषेधित क्षेत्र कायम गर्न सहमत गर्दछौँ । आ-आफ्नो गाउँपालिका क्षेत्रको पदमार्ग आ-आफैं मर्मत सम्भार गर्न सहमत गर्दछौँ ।

२०. साल्पा सिलिछो क्षेत्रमा भएको वनस्पतिहरुको Tagging गर्न र कुनैपनि बनस्पति भाँच्न टिप्न र काट्न निषेध गर्न सहमत गर्दछौँ ।

२१.मेलाको बेला अस्थायी शौचालयहरु बनाउने, मेलाको बेला माईकिङ गरी सूचनाहरु सम्प्रेषण गर्ने, फोहरमैला नगर्न वातावरण संरक्षण गर्न, बनस्पति र बन्यजन्तु संरक्षण गर्न सु-सुचित गर्ने साइनबोर्डर होर्डिङबोर्डहरु राख्‍न, पानीको पोखरी सम्मआईपुग्ने जंगली जनवारहरुको गौंडा अवरुद्ध हुने गरी कुनै पर्खाल, बार नलगाउने, पैदल मार्ग समेत जनावर मैत्री बनाउने सहमत गर्दछौँ ।

२२.साल्पापोखरी आसपासका बर्खे पोखरीहरुलाई संरक्षण गरी हिउँद भरी नै पानी जम्ने गरी मर्मत गर्ने र जंगली जनावर र पशुपंक्षीहरुलाई थप पानीको श्रोत बढाउने किनकि साल्पापोखरीमा पर्यटकहरुको आगमन बढे संगै जंगली जनावरहरुको लागि साल्पापोखरी पानीको लागि असहज बन्छ । ठाउँ ठाउँमा प्लाष्टिक पोखरीहरु निर्माण गरी बर्षाको पानी संकलन गर्ने, निर्माण भएका संरचनाहरुमा सिमेन्ट प्रयोग नगर्ने,वातावरण मैत्री ढंगबाट संरचनाहरु निर्माण गर्न सहमत गर्दछौँ ।

२३. साल्पापोखरी परिसर र सिलिछो पहाडको शिखरमा कुनै पनि भौतिक संरचनाहरु निर्माण नगर्न सहमत गर्दछौं ।

२४.यस क्षेत्रमा बर्षमा १ पटक भेला भएर चक्रिय रुपमा आयोजक रहने गरी यस क्षेत्रको विकास र प्रचारप्रसारका कार्यक्रम संचालन गरिनेछ । पालिकाबाट विनियोजन गरिने भ्रमण वा पुनर्ताजगी जस्ता कार्यक्रमहरु आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने हेतुले यसै क्षेत्रमा भ्रमण गरि संचालन गरिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार