एम्लबर सभाहल किराँत संग्राहलयको काम अन्तिम चरणमा


भोजपुर, २३ फागुन । किराँत राईहरुको बाहुल्यता रहेको भोजपुरमा संग्रालयसहितको यलम्बर सभाहल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । किराँत राईहरुको संस्कार, संस्कृति तथा आदिम कालमा प्रयोग हुने ऐतिहासिक सामग्रीको संग्रालय(माङखिम घर) बनाउने लक्ष्यका साथ थालिएको काम ९५ प्रतिशत सकिएको हो । कोशी प्रदेश सरकार अन्तर्गत सहरी विकास तथा भवन कार्यालय धनकुटाको करिब रु. तीन करोड १७ लाख लागतमा भवन निर्माण भईरहेको छ ।

भोजपुर नगरपालिका ६ देउराली नजिकै निर्माणधिन एलम्बर सभाहल किराँत संग्रालय भवन ।

भोजपुर नगरपालिका ६ देउरालीमा घेराबारासहित चार रोपनी नौ आना क्षेत्रफलमा निर्माण भइरहेको तीन तले सभाहलको पहिलो तलामा किराँत संग्राहालय, दोस्रो तलामा पाटी प्यालेस, तेस्रो तलामा सभाहल र त्यसमा माथि २० फिट अग्लो किराँत राईहरुको विभिन्न संस्कारहरुमा प्रयोगमा आउने (वाबुक) चिन्डो राखिने किराँत राई यायोक्खा भोजपुरका संयोजक दिलमान खिम्दुङ वान्तवा राईले जानकारी दिए ।
यो संग्राहलयलाई विश्वको रिसर्च सेन्टरको रुपमा विकास गर्ने उनको भनाइ छ ।‘‘किराँत राईहरुले परापुर्व कालमा प्रयोग गर्ने सामग्रीको संग्रह गर्ने लक्ष्यले यहाँ भवन निर्माण भईरहेको छ’’ संयोजक राईले भने ,‘‘यसलाई विश्वलेसमेत रिसर्च गर्ने संग्रालयको रुपमा स्थापित गर्ने हाम्रो लक्ष्य छ ।’’ किराँतहरुको विभिन्न संस्कार संस्कृति झल्काउने गरी यहाँ स्थापना हुने संग्रालयलबाट भावी पुस्तालेसमेत इतिहासको जानकारी पाउन सक्ने संयोजक राईको भनाइ छ । संग्रालयले किराँत संस्कृतिको रक्षा गर्न योगदान पु¥याउने उनले बताए । किराँत सभ्यता अनुसार अरुण नदी पूर्वलाई पल्लो किराँत र सुनकोशी नदी यताको भागलाई माँझ किराँत भनिने भएकाले निर्माण भईरहेको भवन माँझ किराँतमा पर्ने उनको भनाइ छ ।

‘‘किराँत राईहरुको सभ्यता जोगाउनको लागि संग्राहलय निर्माणको अवधारणा अनुसार काम भइरहेको छ’’ उनले बताए ,‘‘ अहिले निर्माण भईरहेको यो संग्राहलय भवन माँझ किराँतमा पर्छ । यो एउटा किराँत समुदायसँगै भोजपुरबासीको लागि गौरवको कुरा हो ।’’
भवनको अवलोकन गर्दै कोशी प्रदेश सांसद सिर्जना राईले आवश्यक थप संरचना निर्माणका लागि बजेटको कमि हुन नदिने बताईन । आफू किराँत राई यायोक्खा भोजपुुरको अध्यक्ष रहँदा भवन निर्माणको थालनी गरेकोले यसको पूर्णताको लागि भूमिका खेल्ने उनले बताईन । संग्रालय निर्माणले किराँत सभ्यताको पहिचान जोगाउनमा योगदान पुग्ने सांसद राईको भनाइ छ । ‘‘यो भवनलाई पूर्णता दिन मेरो ठाउँबाट भूमिका खेल्छु’’ सांसद राईले भनिन्,‘‘ मेरो अगुवाईमा यसको निर्माण थालिको हो । अहिले फरक जिम्मेवारीमा छु । यसको आवश्यक संरचना निर्माणमा बजेट व्यवस्थापन गर्नेमा ध्यान दिन्छु ।’’

निर्माण कार्य तिव्र गतिमा भईरहेको सहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाले जनाएको छ । निर्माण कार्यलाई गुणस्तरीय बनाउन अनुगमन तथा निरीक्षण भईरहेको सहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाका इन्जिनियर रामफुल चौधरीले बताए । भवन निर्माणको काम हालसम्म ९५ प्रतिशत सम्पन्न भएको उनको भनाइ छ । ‘‘भवनलाई गुणस्तरिय बनाउन हामीले भूमिका खेलिरहेका छौँ’’ उनले भने ,‘‘हालसम्म रु.दुई करोड ६४ लाख भुक्तानी भईसकेको छ । अवको केहि समयमा नै भवनले पूर्णता पाउछ ।’’

संग्रालयसहितको सभाहल भवनले किराँत संस्कृतिको संरक्षणसँगै आन्तरिक तथा बाह्य पर्यटनमासमेत टेवा पुग्ने पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले बताए । विभिन्न जातजातीको संस्कार संस्कृतिको संरक्षणमा गाउँपालिकाले पनि भूमिका खेलिरहेको उनको भनाइ छ ।

‘‘हामी स्थानीय सरकारले पनि विभिन्न जातजाती, धर्म, संस्कार संकृतिको जर्गेणामा काम गरिहेका छौँ’’ अध्यक्ष राईले भने,‘किराँत राई यायोक्खाले थालेको कामलाई सहज बनाउन गाउँपालिकाले पनि केहि आर्थिक सहयोग गरेको छ । हामीले यस्ता कुराको संरक्षण तथा विकासमा ध्यान दिन आवश्यक छ ।’’ सभाहलको शिलान्यास २०७७ कार्तिक २३ गते कोशी प्रदेशका तत्कालिन मुख्यमन्त्री शेरधन राईले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार