अरुण गाउँपालिकाले घर पायकमा पुगेर भत्ता दिएपछि बृद्धबृद्धा दंग


भोजपुर ३१ असोज । भोजपुरको अरुण गाउँपालिकाले वडास्तरबाट सामाजिक सुरक्षा भत्ता वितरण थालेको छ । गाउँपालिकाका नागरिकलाई सहज सेवा पु¥याउने उद्धेश्यले यस्तो सेवा शुरु भएको हो । घर पाएकबाटै सेवा लिन पाउदा स्थानीय खुसी भएका छन् । अरुण गाउँपालिकाले बृद्धबृद्धा तथा अशक्त नागरिकलाई लक्षित गरेर वडा कार्यालय भत्ता वितरण थालेको हो । भत्ता लिनको लागि विभिन्न समस्या झेल्दै आएका बृद्धबृद्धा तथा असक्त नागरिक खुसी भएका छन् भने उनीहरुको घण्टौँ लाएर गाउँपालिका केन्द्र प्याउलीसम्म पुग्नु पर्ने बाध्यता हटेको छ । गाउँपालिकाले वडा ७ सिक्रेटारबाट घुम्ती शिविर मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको हो । खास गरेर सामाजिक सुरक्षा भत्ता लिन सहजता थप्नको लागि यस्तो कामको थालनी गरेको गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले जानकारी दिए । कार्यपालिकाको निर्णय अनुसार बैंक तथा सुरक्षा निकायसंग समन्वय गरेर भत्ता वितरण कार्यलाई वडास्तरबाट सञ्चालन गरिएको अध्यक्ष खत्रीको भनाइ छ । वडा स्तरबाट सामाजिक सुरक्षा भत्ता वितरण शुरुपछि स्थानीय नागरिकलाई प्रत्यक्ष लाभ पुगेको वडा वडाध्यक्ष कुमार थापाको भनाई छ । सेवा शुरु भएपछि गाउँपालिका केन्द्रसम्म पुग्नु पर्ने बाध्यताको अन्त्य भएको वडा वडाध्यक्ष थापाले बताए ।

गाउँपालिकाले सामाजिक सुरक्षाभत्तासँगै स्वास्थ्य परिक्षण शिविरसमेत गरेको छ । सुत्केरी महिला तथा नवजात शिशुको स्वास्थ्यलाई ध्यानमा राख्दै सुत्केरी भेटघाट कार्यक्रम पनि गरेको छ । महिला, जेष्ठ नागरिक तथा असक्तहरुलाई लक्षित गरेर योजनाबद्ध रुपमा काम गरिरहेको गाउँपालिकाकी उपाध्यक्ष विनिता ढकालको भनाइ छ । गाउँपालिकाले प्रत्येक त्रैमासिकमा वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने जनाएको छ । स्थानीयलाई सहज रुपमा सेवा पु¥याउने उद्धेश्यले थालेको यो काम प्रशंसायोग्य रहेको स्थानीयले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार