घरेलु तथा साना उद्योग कार्यालय भोजपुरको बार्षिक समीक्षा कार्यक्रम सम्पन्न


भोजपुर, ८ भदौ । घरेलु तथा साना उद्योग कार्यालय भोजपुरको बार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । समीक्षा कार्याक्रम मार्फत कार्यलयले आर्थिक वर्ष ०७८/७९मा सञ्चालित योजना तथा कार्यक्रमको बारेमा जनाकारी दिएको हो । कार्यालयका अनुसार जिल्लामा घरेलु तथा साना उद्योग दर्ता गरेर व्यवसाय गर्नेको संख्यामा वृद्धि भएको छ । सरकारको तर्फबाट उद्यम तथा कृषि क्षेत्रमा विभिन्न खाले प्रोत्साहनका कार्यक्रम सञ्चालनमा आएसँगै व्यवसायमा लाग्नेको संख्यामा वृद्धि भएको घरेलु तथा साना उद्योग कार्यालय भोजपुरले जनाएको छ । जिल्लाभर हालसम्म तीन हजार १५५ वटा साना तथा घरेलु उद्योग दर्ता भएर सञ्चालनमा रहेका छन् ।

गत आर्थिक वर्ष मात्र लघु १३४ घरेलु १ र साना उद्योग २६८ गरि जम्मा ४०३ फार्म दर्ता भएको कार्यालयको भनाइ छ । समुदायस्तरमा विभिन्न खाले तालिमसँगै कार्यक्रम सञ्चालन गरेपछि उद्योग तथा फार्म दर्ता गरेर व्यवसायमा लाग्नेको संख्यामा वृद्धि भएको घरेलु तथा साना उद्योग भोजपुरले जनाएको छ । बुधवार भएको जिल्ला स्थित सरोकारवाला निकायहरु संगको छलफल कार्यक्रम मार्फत यस्तो जानकारी दिएको हो । आ.व. ०७८/७९ मा कार्यालयले उद्यमशिलता विकास, वाँसको फर्निचर बनाउने तालिम, हाउस वाएरिङ, कुक, सिलाई कटाई, अचार बनाउने लगाएत तालिम सञ्चालन गरेको कार्यालयले जनाएको छ । जसबाट नौ वटै स्थानीय तहका दुई सय ५१ जना लाभान्वित भएको घरेलु तथा साना उद्योग कार्यालय भोजपुरका प्रमुख लोकेन्द्र फागोले बताए । विभिन्न खाले तालिम लिएसंगै जिल्लामा उद्यमी वन्ने मानिसहरुको संख्यामा वृद्धि भएको कार्यालयले जनाएको छ । कार्यालयले ५५ जना लघु, घरेलु तथा साना उद्यमीलाई आवेदनको आधारमा छानोटमा परेकालाई कम्वाईन मिल, मिनि ट्रिलर, ब्रस कटर, चाफ कट्र, फ्रिज, सोलार पावर ग्राईन्डर मेसिन लगायतका मेसिन औजार हस्तान्तरण गरेको छ ।

कार्यालयले विभिन्न खाले तालिम तथा योजनाहरु सञ्चालन गरेको भए दरबन्दी अनुसारको कर्मचारी नहुदा भने सेवा प्रवाहमा समस्या भएको प्रमुख फागोले बताए । प्रमुख फागोले भने ‘घरेलु तथा साना उद्योग कार्यालय भोजपुरले उपयुक्त प्रविधी हस्तान्तरण, उद्यमीको माग र आवश्यताको आधारमा उद्यमशिलता विकास, सिलाई वुनाई, वाँसको फर्निचर बनाउने तालिम, हाउस वाएरिङ, कुक लगाएतका तालिम सञ्चालन गरेको छ । जसबाट दुई सय ५१ जना लाभान्वित भएका छन् । तर कर्मचारी अभावका कारण भने सेवा प्रवाह गर्न कठिनार्ई छ ।’

कार्यालयमा आठ जना स्थिाई कर्मचारीको दरबन्दी रहेको भएपनि अहिले एक जना उद्योग अधिकृतको भरमा कार्यालय सञ्चालन गर्नु परेको प्रमुख फोगोले बताए । करार सेवामा कार्यरत कर्मचारीको भरमा कार्यालय सञ्चालन गर्नु पर्ने बाध्यता रहेको उनको भनाई छ । कर्मचारी अभावका कारण पनि कार्यालयले सञ्चाल गरेको गतिविधी प्रशंसा योग्य रहेको जिल्ला समन्वय समिति प्रमुख कमल थुलुङले बताए । कर्मचारीको पद पुर्तीका लागि आफुले पनि पहल गर्ने उनले जानकारी दिए ।

कार्यालयले उपाभोक्ताको हितलाई मध्यनजर गर्दै बेला बेलामा बजार अनुगमन समेत गरिरहेकाले यसलाई थप प्रभावकारी बनाएर लैजानु पर्ने प्रमुख जिल्ला अधिकार हरि प्रसाद घिमिरेले बताए । कार्यालयले बजार अनुगमनमा भेटीएका म्याद गुज्रीयका सामाग्री नष्ट गर्ने गरेको छ । अनुगमनका क्रममा फेला परेका म्याद गुज्रीयका सामाग्री नष्ट संगै एउटै पसलमा पटक पटक म्याद गुज्रीयका सामाग्री भेटिएमा कानुनी दायरामा ल्याउनु पर्ने सरोकार वालाले धारणा समेत राखेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार