भोजपुर बजार क्षेत्रमै ढल व्यवस्थापन नहुँदा दुर्गन्ध फैलियो


भोजपुर, २६ माघ । सेफ्टिट्याङकीको उचित व्यवस्थापनमा स्थानीय बजारबासीले वेवास्ता गरेपछि बाटोमा हिँड्ने बटुवा, विद्यार्थी र दलितबस्तीलाई ढलको दुर्गन्धले सास्ती दिएको छ । भोजपुर नगरपालिका ७ र ९ का करिब ५० घरबाट निक्लिने उक्त ढल बगेपछि स्थानीय दलितबस्तीलाई दुर्गन्धित बनाएको हो । मानव स्वास्थ्यमा गम्भिर असर पुग्ने उक्त ढलको दुर्गन्धले दैनिक जिवनयापन गर्न समस्या भएको स्थानीय गोविन्द सुन्दासले बताए । ‘घरमा बसिसक्ने अवस्था छैन, ढलको दुर्गन्धले घरबन्द गर्नुपर्ने अवस्था छ’ उनले भने, ‘स्थानीय बजारबासीको लापारबाहीले बगेको ढलको दुर्गन्धमा कति बस्ने, कसैले चासो नै दिँदैनन्’ भोजपुर सदरमुकामको विचबजारका स्थानीयले ढल व्यवस्थापनमा वेवास्ता गरेपछि आसपासका बस्तीमा दुर्गन्धले हैरानी दिएको छ । एक घर एक सेफ्टिट्याङ्कीको अवधारणा अनुरुप सेफ्टिट्याङकी राख्नुपर्ने भएपनि उक्त ५० घरको ढल एउटै सेफ्टिट्याङ्कीमा मिसाईएको छ ।

उक्त साँधुरो सामुहिक सेफ्टिट्याङ्कीमा जम्मा भएको फोहोर पानी र दुषित बस्तुहरु भरिएपछि खोल्सा हुँदै बग्न थालेपछि दुर्गन्धित बनेको हो । दुर्गन्धले सार्वजनिक पैदलबाटोमा हिँड्ने विद्यार्थी र बटुवालाई झन सास्ती दिएको छ । नाक थुनेर पनि बसिनसक्ने अवस्थाले स्वास्थ्यमा गम्भिर असर पुग्ने स्थानीय माया श्रेष्ठ सुनाउँछिन् । स्थानीयको लापारबाहीले मानव स्वास्थ्य संकट निम्त्याएको उनले बताए । उक्त बगिरहेको दुर्गन्धित ढल व्यवस्थापनका लागि निवेदन गरिएपनि कुनै पहल नभएको स्थानीय रञ्जित राईले सुनाए । भने, ‘हामीले दुर्गन्ध फैलाईरहेको ढल व्यवस्थापनको विषयमा नगरपालिकामा निवेदन ग¥यौँ, कुनै ठोस प्रतिक्रिया आएको छैन, ढल उपभोक्ता समितिलाई पनि बोलाएर स्थलगत अध्ययन गर्दा पनि उनीहरुले वास्तै गरेनन्, यो अवस्था भोग्न बाध्य भएका छौँ’ यता नगरपालिकाले पनि स्थानीय बजारबासीकै लापारबाहीका कारण दुर्गन्धको स्थिती पैदा भएको बताएको छ । स्थानीय बजारबासीलाई ‘एक घर एक सेफ्टिट्याकीं’ बनाउन प्रतिबद्धताका गराई दुईवर्ष अघि खुला दिशामुक्त नगर घोषणा गर्ने अभियानमा सहयोग पु¥याउन नगरपालिकाले सामुहिक सेफ्टिट्याकीं बनाउन सहयोग गरेको थियो ।

तर घोषणा अभियानपछि पनि स्थानीयबासीले आ–आफ्नो सेफ्टिट््याकीं बनाउन अटेरीपन देखाएपछि यो समस्या आएको मेयर कैलाश कुमार आलेले बताए । भने, ‘हामीले पहिल्यै प्रतिबद्धता गरायौँ तर अहिलेसम्म एउटा सेफ्टिट्याकीं बनाएनन्, भएको उक्त सामुहिक सेफ्टिट्याकींको पनि सदुपयोग नगर्दा दुर्गन्ध फैलिएको छ, ढल उपभोक्ता समितिकै कमजोरी छ’ यता ढल उपभोक्ता समितिले ढल व्यवस्थापनमा नगरपालिकाले वास्ता नगरेको बताएको छ ।

उपभोक्ता समितिका सदस्य रामचन्द्र श्रेष्ठले भने, ‘हामीले तत्कालका लागि एकघर एक सेफ्टिट्याकीं बनाउन नसकेपछि ढलको समस्या लिएर हामी पटकपटक नगरपालिका धायौँ तर कुनै प्रतिक्रिया आएन, हामी पनि यो समस्या भोग्न बाध्य छौँ’

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार