भोजपुरमा क्वारेन्टाइनमा बस्नेको संख्या १२ पुग्यो,विदेशबाट फर्कर्नेहरु उच्च निग्रानीमा


भोजपुर,२० चैत्र ।
भोजपुरमा क्वारेन्टाइनमा बस्नेको संख्या १२ पुगेको छ । साल्पासिलिछो गाउँपालिका, षडानन्द नगरपालिका र रामप्रसाद राई गाउँपालिकामा गरी क्वारेन्टाइनमा बस्नेको संख्या १२ पुगेको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ । साल्पासिलिछो गाउँपालिका वडा नं.१ कुलुङको काम्लेटारमा रहेको सिंहमालिका माध्यामिक विद्यालयको कोठामा नौ जना क्वारेन्टाइनमा रहेका छन् ।

संखुवासभामा निमार्णाधिन अवस्थामा रहेको अरुण तेस्रो जलविद्युत आयोजनामा काम गर्दै आएका वडा न.ं १ का नौ जना क्वारेन्टाइनमा रहेका गाउँपालिका अध्यक्ष महेश राईले जानकारी दिए । उनीहरु २५ गते राती १२ बजे सम्म लकडाउन गर्ने सरकारको निर्णयपछि १७ गते संखुवासभाबाट भोजपुर तर्फ आएका हुन् । उनीहरुलाई देखेपछि स्थानीयले प्रहरी र वडा कार्यालयमा जानकारी गराएका थिए । कोरोना भाइरसको संक्रमणको आशंकामा उनीहरुलाई वडाले बनाएको क्वारेन्टाइनमा बस्न आग्रह गरिएकोमा उनीहरु आफैले घर नजिक रहेको विद्यालयमा १४ दिन बस्ने सहमती भएपछि उनीहरुलाई छुट्टै खानाको व्यवस्था गरिएको अध्यक्ष राईले बताए । अहिले उनीहरु नौ जनाकै अवस्था सामान्य रहेको छ । त्यस्तै षडानन्द नगरपालिकाका दुई जना पनि क्वारेन्टाइनमा रहेका छन् ।

४ चैतमा कतारबाट जहाजमा नेपाल आएका भोजपुर नेपालेडाँडाका एक युवक र भारत सुनौली भन्सार हुँदै आएका सोही ठाउँका २० वर्षीय एक युवक पनि उनीसँगै क्वारेन्टाइनमा रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिइएको छ । उनीहरु दुवैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । त्यस्तै रामप्रसादराई गाउँपालिकामा पनि एक जनालाई क्वारेन्टाइनमा राखिएको छ । उनी गत ५ गते दुवईबाट आएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार