उद्योग दर्ता गर्नेसँगै बन्द गर्नेको संख्या पनि बढ्दै


धनगढी,११ मंसिर । कैलालीमा उद्योग दर्ता गर्नेसँगै बन्द गर्नेको संख्या पनि बढ्दै गएको छ । घरेलु तथा साना उद्योग कार्यालय धनगढीले दिएको तथ्यांकअनुसार आर्थिक वर्ष २०७०÷७१ देखि आर्थिक वर्ष २०७६÷७७ को कार्तिकसम्म विभिन्न ३ सय ८३ उद्योग बन्द भएका छन् । कार्यालयका अनुसार आर्थिक वर्ष २०७६÷७७ को कार्तिकसम्म ३६ वटा विभिन्न उद्योग बन्द भएका छन् ।

यस्तै, आर्थिक वर्ष २०७५÷०७६ मा ८६, २०७४÷०७५ मा ६९, २०७३÷०७४ मा ६०, २०७२÷०७३ मा ४४, २०७१÷०७२ मा ५१ र २०७०÷०७१ मा ३७ उद्योग बन्द भएको जनाइएको छ ।कच्चापदार्थको अभावलगायतका कारण कतिपय उद्योग सञ्चालन हुन नसकेर र अन्य कतिपयले उत्पादित सामानको बजार मूल्यसँगप्रतिस्पर्धा गर्न नसकेर बन्द भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।यसबाहेक उद्योगका सञ्चालक रोजगारीका लागि विदेश गएकाले पनि कतिपय उद्योग बन्द भएको बताइएको छ । कार्यालयका उद्योग अधिकृत नवराज भट्टले खाने तेल, सिमेन्टको ब्लक, पोल्ट्री फार्म, ब्युटीपार्लरजस्ता उद्योग बन्द भई खारेजीमा परेको बताए ।नयाँ उद्योग पनि थपिँदै कैलालीमा बर्सेनि साना तथा लघु उद्योग थपिने क्रम बढ्दै गएको छ । घरेलु तथा साना उद्योग कार्यालय धनगढीले दिएको तथ्यांकअनुसार आर्थिक वर्ष २०७१÷७२ देखि २०७६÷७७ को कार्तिकसम्म ८ हजार २ सय ८६ नयाँ उद्योग दर्ता भएका छन् ।

कार्यालयका अनुसार कैलालीमा उत्पादन मुलक, कृषि तथा वनजन्य, पर्यटन, सेवा र निर्माणका उद्योग दर्ता भइरहेका छन् ।आर्थिक वर्ष २०७१÷७२ मा ३ हजार ७ सय ८९ नयाँ उद्योग दर्ता भएका थिए । आर्थिक वर्ष २०७२÷७३ मा ७ सय ६८, २०७३÷७४ मा ८ सय ९०, २०७४÷७५ मा ८ सय ९३ र २०७५÷७६ मा १ हजार २ सय ३४ नयाँ उद्योग दर्ता भएका थिए ।कैलालीमा आर्थिक वर्ष २०७६÷७७ को कार्तिकसम्म ५ सय १२ नयाँ उद्योग दर्ता भएको जनाइएको छ । कैलालीमा सबैभन्दा बढी सेवामूलक उद्योग दर्ता भएका छन् भने निर्माणसम्बन्धी दुईवटा उद्योग मात्र दर्ता भएका छन् । घरेलु कार्यालयका अनुसार कैलालीमा सेवामूलक उद्योग ३ हजार ६ सय ६१, कृषि तथा वनजन्य २ हजार ३ सय ४६, उत्पादनमूलक २ हजार २ सय ९९, पर्यटनसम्बन्धी ५८ र निर्माणसम्बन्धी दुईवटा उद्योग दर्ता भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार