सामाजिक–आर्थिक रूपान्तरणमा सहकारी अपरिहार्य


नेपालगन्ज, ३ कात्तिक ।सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले मुलुकको सामाजिक र आर्थिक रूपान्तरणमा सहकारीको भूमिका अपरिहार्य हुने बताएका छन् ।उनले शनिबार नेपालगन्जमा नमस्ते वचत तथा ऋण सहकारी संस्थाको १०औं वार्षिक साधारणसभाको उद्घाटनमा सो कुरा बताएका हुन् ।

सहकारीको साधारणसभाको उद्घाटन गर्दै मन्त्री राईले पछिल्लो समयमा सहकारीले जनाताको विश्वास गुमाउँदै गएको कारण नेपालगन्ज तथा देशभर नै केही विकृति देखापरेको उल्लेख गर्दै सहकारीकर्मीले समयमै ध्यान दिन आवश्यक रहेको आंैल्याए ।उनले सहकारीले रोजगारी तथा गरिबी निवारणको लागि राज्यलाई ठूलो सहयोग गरेको स्मरण गर्दै गुम्न लागेको विश्वासलाई जोगाउन सबैको दायित्व भएकोमा जोड दिए । उनले ५० प्रतिशतभन्दा बढीलाई सेवा दिने सस्थामा देखिएका समरस्या तथा व्यावधानलाई समयमै समाधान गरी विकृतिलाई अझ बढी नियमन र अनुगमन गर्न आवश्यक रहेको औंल्याए ।

यसैबीच मन्त्री राईले कोहलपुरमा निर्माण गरिएको छोटो दूरीको बसपार्कको उद्घाटन गर्दै मन्त्री राईले कोहलपुर केही वर्षभित्रै विकसित सहरका रूपमा स्थापित हुने बताएका छन् । उनले आफ्नो गृह जिल्लासमेत रहेकाले बाँकेको समग्र विकासमा आफु प्रतिबद्ध रहेको जिकिर गरे । ‘घर बलियो नभएसम्म छिमेकी बलियो नहुने तर्क गर्दैै मन्त्री राईले गृहनगर नेपालगन्जलाई पहिलो प्राथमकिमतामा राखेर हामीले नेपालगन्जलाई पूर्ण विकसित सहरमा रूपान्तरण गरिसक्यांै,’ मन्त्री राईले भने ।

४ करोड ३९ लाख लागतमा नगर विकास समिति कोहलपुरले निर्माण गरेको कोहलपुर बसपार्कको औपचारिक उद्घाटन गरेका हुन् । नयाँ बसपार्कभित्र ११० मिटरका १३ वटा लेन निर्माण गरीएको छ । करिब ८ सय सवारी साधनहरू आवतजावत गर्न सक्ने क्षमताको कोहलपुर बसपार्कलाई छोटो दूरीको बसपार्कका रूपमा विकास गरिने कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले जानकारी दिए ।

रावतले कोहलपुरमै आगामी तीन वर्षभित्र अत्यधुनिक सुविधायुक्त कोहलपुर चौराहदेखि पूर्वतर्फ लामो दूरीको बसपार्क निर्माणका लागि प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।

बसपार्क सञ्चालनमा आउँदै गर्दा बसपार्कमा रहेको संर्घष समितिले भने असन्तुष्टि जनाएको छ । बसपार्क निर्माणका लागि करिब ९ करोड बजेट छुट्याए पनि बसपार्कमा आधुनिक कम्प्लेक्स निर्माण हुन सकेको छैन । बसपार्कमा रहेका टहरा हटाउनका लागि अदालतले आदेश दिए तापनि हालसम्म टहरा नहटाएको भन्दै संघर्ष समितिले असन्तुष्टि व्यक्त गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार